२५ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएपछि नेपाल वायुसेवा निगममा पहुँचका आधारमा नियुक्त भएका करार कर्मचारीलाई हटाउन थालिएको छ।

१६ कात्तिकमा प्रधानमन्त्री कार्कीले पर्यटनमन्त्रीसमेतको हैसियतमा निगम सञ्चालक समिति र व्यवस्थापनका पदाधिकारीलाई बोलाएर पहुँचमा नियुक्ति पाएका करार कर्मचारीलाई हटाउन निर्देशन दिएकी थिइन्।

उक्त निर्देशनपछि निगमले मंगलबार केही कर्मचारीलाई निष्कासनको पत्र दिएको छ। निगम व्यवस्थापन स्रोतले केहीलाई पत्र दिएको र अन्यलाई निष्कासन गर्ने प्रक्रिया अघि बढाएको बताएको छ।

निगममा राजनीतिक दल तथा नेताको सोर्सफोर्समा कार्यकारी प्रमुखको तोक आदेशमा करारमा कर्मचारी नियुक्ति गर्ने गरिएको थियो। त्यस्ता कर्मचारी कति छन् भन्ने विवरण संकलन भइरहेको निगम प्रवक्ता अनिल घिमिरेले बताए।

“कति कर्मचारी छन् भनेर विवरण संकलन भइरहेको छ, त्यस्ता कर्मचारीलाई निष्कासनका लागि गृहकार्य भइरहेको छ,” घिमिरेले भने।

विज्ञ बनाएर लैजान कडाइ

नेपाल वायुसेवा निगम सञ्चालक समितिले भत्तासहित विज्ञका रूपमा विदेश लैजाने कार्यमा कडाइ गरेको छ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले विज्ञका रूपमा लैजानुपरे सञ्चालक समितिको अनुमति लिन व्यवस्थापनलाई भनेको छ।

यसअघि कलाकार, पत्रकार, सेलिब्रेटी तथा अन्यलाई निगमको व्यापार प्रवर्द्धनका लागि भनेर विज्ञका रूपमा विदेश लैजाने परम्परा नै रहिआएको थियो। त्यस्तो यात्रामा टिकट नि:शुल्क, होटल खर्च र भत्तासमेत निगमले दिन्थ्यो।