काठमाडौँ। ठगी आरोपमा पक्राउ परेका नेकपा एमालेका पूर्वसांसद तथा प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन हाजिरी जमानीमा रिहा भएका छन्।
प्रहरीले म्याद थप गर्न जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा उपस्थित गराएका उनलाई हिरासतमा राख्नु नपर्ने भन्दै परिवारको जिम्मा लगाएको हो।
जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्माका अनुसार भट्टचनलाई हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएपछि तारिखमा राखेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको हो।
भट्टचनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ११ कात्तिकमा ललितपुरको गोदावरीबाट पक्राउ गरेको थियो। प्रभु ग्रुपका अध्यक्षसमेत रहेका भट्टचनविरुद्ध यसअघि नै उजुरी परे पनि पक्राउ परेका थिएनन्। उनीमाथि ९८ करोड रुपैयाँ ठगी गरेको आरोप छ।
प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले उनीविरुद्ध जाहेरी दिएकी थिइन्। २०७९ को निर्वाचनमा उनलाई नेकपा एमालेले समानुपातिकको सांसद बनाएको थियो।