काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेन-जी आन्दोलनका क्रममा राज्य पक्षबाट भएको दमनप्रति आफू जिम्मेवार नभएको स्पष्ट पारेका छन्।
उनले आन्दोलनका दिनहरूमा कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा निकायलाई पटक-पटक निर्देशन दिएको दाबीसमेत गरे। “क्याजुलिटी नहोस् भनेर मैले गृह मन्त्रालय र प्रहरी प्रमुखलाई पटक-पटक भनेँ,” कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा लेखकले भने।
यस्तै आफूलाई स्थानहद तोकिएको र राहदानी रोक्का गरिएको विषयमा अन्तरिम सरकारले कुनै जानकारी नदिएको पनि लेखकले बताए। उनले सरकार वा कुनै निकायले आफूलाई लिखित वा मौखिक रूपमा सूचना नपठाएको बताए। “कुन कानुन र कुन औचित्यका आधारमा यस्तो निर्णय भयो भन्ने बारे जानकारी छैन,” लेखकले भने।
पूर्वगृहमन्त्री लेखकका अनुसार दुई महिनाअघि आफू र पूर्वप्रधानमन्त्री केपी ओलीलाई स्थानहद तोकिएको र राहदानी रोक्का गरिएको कुरा समाचारबाट मात्रै थाहा पाएको बताए।