२७ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। गभर्नर विश्वनाथ पौडेलले पैसा धेरै हुँदा पनि समस्या हुने गरेको बताएका छन्। “सबै तिरबाट पुस गर्दा पनि गाह्रो छ। अहिले हामीसँग पर्याप्त पैसा छ। तर, लगानी हुन सकेको छैन, क्षेत्रगत रुपमा हेर्दा पनि यो क्षेत्रमा उत्साह छ भन्न सकिने अवस्था छैन। सबै क्षेत्र त्यस्तै शिथिल छ। कहिले पैसा नभएर समस्या कहिले पैसा धेरै भएर समस्या भयो,” उनले भने।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) कार्यसमितिसँगको भेटमा उनले पैसा पर्याप्त भएर पनि लगानी नहुँदा समस्या उत्पन्न भएको बताए। लगानीकर्ताको मनोबलमा गिरावट आएका कारण बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप लगानी हुन नसकेको उनको भनाइ छ। लगानीका लागि हरेक क्षेत्र खुला भए पनि लगानीकर्ताको मनोबल कमजोर बनेको उनको भनाइ छ।

“विगतमा बैंक, बिमा, एयरलाइन्स, टेलिकम, विद्यालय, हस्पिटल, घरजग्गालगायत क्षेत्रमा लगानी गरिन्थ्यो। पछिल्लो समय यी क्षेत्रमा लगानी बन्द छ। कित्ताकाट पनि बन्द गरेपछि रियलस्टेट सुस्त भयो। विद्यालयल, हस्पिटललगायत सबै बन्द भयो। अब के मा लगानी गर्ने त ?,” उनले भने, “निजी क्षेत्रलाई अनुमति दिनुपर्यो भने लाइसेन्सका लागि मारामार हुन्छ। त्यसैले कन्फिडेन्स छैन।”

उनका अनुसार २०५८/६० सालसम्म एक खर्ब रुपैयाँको बजेट थियो। तर, अहिले बजेटको आकार १८/१९ खर्ब पुग्दा पनि अवस्था परिवर्तन नभएको उनको भनाइ छ।

साथै, पछिल्ला विभिन्न घटनाले गर्दा बैंक तथा वित्तीय संस्थाहरूको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण (ब्यालेन्ससिट) बिग्रिएको उनले बताए। बैंकको ब्यालेन्ससिट तत्काल सप्रिहाल्ने अवस्था नदेखिएको गभर्नर पौडेलको भनाइ छ।