मोरङ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचका कालापानी, लिपुलेक, लिम्पियाधुराजस्ता सीमा समस्या संवाद र सहमतिको आधारमा समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विगतमा नै यी विषयमा प्रतिबद्धता व्यक्त गरिसकेको स्मरण गराए।
उनले आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणको क्रममा छिमेकीसँगको सम्बन्ध सुधारका लागि सीमा विवाद समाधान अनिवार्य हुने कुरा स्पष्ट रूपमा राखेको बताए।
दाहालले भने, “पछिल्लो पटक प्रधानमन्त्रीका रूपमा भारत भ्रमण गर्दा ‘प्रेस ब्रिफिङ’मा सीमा विवादबारे छलफल भएको थियो, जसमा प्रधानमन्त्री मोदीले बाँकी रहेका सीमा समस्या आपसी संवादबाट समाधान गर्ने प्रतिवद्धता जनाएका थिए।”
अध्यक्ष दाहालले सरकारलाई भारतसँग संवाद प्रक्रिया अघि बढाई दुवै मुलुकबीचको सीमा समस्या छिट्टै हल गर्न आग्रह गरे।