टिपोट
समाचार लेखेकै आधारमा मलाई परिवार र धरान छाड्न बाध्य तुल्याएर साम्पाङ र उनका समर्थक एक हिसाबको विजयीभावमा होलान्। तर, उनीहरूले बुझ्नुपर्छ– सत्यलाई केही समय हैरान बनाउन सकिन्छ तर पराजित गर्न सकिन्न।
‘हार्दिक श्रद्धाञ्जली…….का छोरा।’
सामाजिक सञ्जालमा गालीसहितको श्रद्धाञ्जलीमा आँखा पर्यो। तल मेरै फोटो रहेछ।
धरानतिर ज्यूँदै मान्छेलाई श्रद्धाञ्जली दिने चलन सुरु भएको दुई वर्षजति भएको थियो। मभन्दा अगाडि पनि धेरै जनाले जिउँदैमा दिइएको श्रद्धाञ्जली पाएका थिए। सुरुमा त खासै अनौठो लागेन। तर, एकपछि अर्को गालीगलौज र ज्यान मार्नेसम्मका धम्की आउन थाले। ह्वाट्सएपमा एउटा मेसेज आयो, ‘अब तेरो धेरै दिन बाँकी छैन।’
लगत्तै मोबाइलमा अर्को मेसेज, ‘परिवारको माया छ कि छैन?’
अनवरत धम्की आउन थालेपछि मलाई एउटा चिन्ताले घेर्यो– धरान पहिले त यस्तो अराजक थिएन!
000
साँच्चै, पहिलाको धरान यस्तो थिएन। कला, साहित्य, रंगकर्मको उर्वरभूमि धरान राजनीतिक रूपमा जनता जगाउने ठाउँ थियो। रामेश, मञ्जुलहरूले गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ जस्ता क्रान्तिकारी गीत तयार गरेको ठाउँ हो, धरान। धनकुटाको छिन्ताङ पुगेर क्रान्तिका लागि जनता जगाउने कवि बम देवान, गोविन्द विकलहरूको ठाउँ धरान। दीप श्रेष्ठजस्ता गायक, नविन सुब्बाजस्ता रंगकर्मी–चलचित्रकर्मी तयार पार्ने धरान कलामार्फत विद्रोह गर्थ्यो।
ऊबेलाको विद्रोही धरान, एकाएक ‘अराजक’ बनेको थियो। ‘गालीबाजहरूको सहर’ बनेको थियो।
धरानमा अहिले ‘हर्कराज’ अर्थात् नगर प्रमुख हर्क साम्पाङ (हर्कराज राई)को शासन छ। कानुनलाई ‘त्यस्ता नाथे कानुन मान्दिनँ’ भनेर ठाडै चुनौती दिने उनी न अदालतको सम्मान गर्छन्, न प्रशासन र अख्तियारजस्तो संवैधानिक निकायको। राजनीतिक दल र पत्रकार उनका लागि ‘झोले’ भइगए!
हर्कको प्रचारक बनिसकेका पत्रकार र युट्युबर अरू पत्रकारलाई हर्ककै शैलीमा ‘झोले’ भन्थे, अनि अरूले उनीहरूलाई ‘खोले’ भन्थे ।
दलबाट जितेका जनप्रतिनिधि र कर्मचारीलाई ‘भ्रष्ट’ भन्दै तथानाम गाली–गलौज गरेर ‘भाइरल’ भएका साम्पाङ संयोगले नगर प्रमुख बने। अभियन्ताका रूपमा रहँदा कानुन, पद्धतिका कुरा गर्ने उनी प्रमुख बनेपछि अरूले बनाएको कानुन नमान्ने, आफैं कानुन बनाउने जस्ता अभिव्यक्ति दिँदै मनमौजी शासन चलाइरहेका थिए र छन्।
आफैं प्रमुख रहेको कार्यपालिका बैठकको निर्णय नमान्ने, जे मन लाग्यो त्यही निर्णय गर्ने, नीति–नियम पालना नगर्ने, सामाजिक सञ्जालको दुरुपयोगमार्फत कहिले दलित समुदायलाई होच्याउने, कहिले धर्मको विषयमा विवाद निम्त्याउने जस्ता हर्कका हर्कत बढिरहे।
सुरुमा त सोचेँ– स्वतन्त्र रूपमा जितेर आएका मान्छेलाई ‘सिस्टम’ बुझ्न समय लाग्छ। तर, उनको अगुवाइमा सञ्चालन भएका कोकाह खानेपानी अभियान, सुम्निमा पारुहाङ मूर्ति बनाउने अभियान होस् या खोला किनारमा बनाइएका पार्कहरू, यसबारे अध्ययन गर्दा न कार्यपालिकाको निर्णय मानिएको थियो, न विद्यमान कानुनको पालना नै।
कसैले प्रश्न उठाए साम्पाङ आफैंले सामाजिक सञ्जालमा तथानाम गाली गर्ने, त्यसपछि उनका समर्थकले मनपरी लेख्ने, बोल्ने, धम्कीदेखि श्रद्धाञ्जलीसम्म दिने प्रचलन व्यापक बन्यो। उनका गलत कामको विरोध गर्न राजनीतिक दल, नागरिक समाजले पनि आँट देखाएनन्।
मलाई लाग्यो– कतै ‘मूर्खसँग दैव पनि डराउँछन्’ भनेको यही त होइन?
नगर प्रमुख साम्पाङले प्रहरीका डीएसपी, एसपी, एसएसपीदेखि सीडीओसम्मलाई गाली गर्न मात्र होइन, आफ्नो निर्देशन नमानेको भन्दै कारबाही गर्न गृहमन्त्रीलाई पटक–पटक चिठी लेखे। उनको अराजकताबारे थोरै पत्रकारले मात्र लेखेका थिए। लेख्ने जतिले साम्पाङ र उनका अराजक समर्थकबाट ‘झोले’ उपाधिसहित तथानाम गाली खाए।
हर्कका उट्पट्याङ र गाली युट्युबरहरूका लागि भ्युज बढाएर डलर कमाउने मसला बनिरहेको थियो। मूलधारका भनिने पुराना पत्रकार विवादमा परिने डरले खुलेर लेख्न, बोल्न हच्किरहेका थिए। कतिपय चाहिँ साम्पाङको पछिपछि खोलातिर लागिसकेका थिए। हर्कको प्रचारक बनिसकेका पत्रकार र युट्युबर अरू पत्रकारलाई हर्ककै शैलीमा ‘झोले’ भन्थे, अनि अरूले उनीहरूलाई ‘खोले’ भन्थे ।
एकातिर खानेपानीको अभाव भएको भनेर देश विदेशबाट चन्दा उठाइरहेका साम्पाङ अर्कातिर सर्दु खोलामा वर्षाको पानीमा डाइनामो घुमाएर सानो बल्ब बाल्दै हाइड्रोपावर बनाउने गफ दिन्थे। यस्तो हावादारी कुरा पत्याएर हो या युट्युबमा भ्युज बढ्ने लोभले हो, पत्रकारिता बुझेकै पत्रकार साथीहरूले पनि यो र यस्तै गफको समाचार लेखेर, भिडियो बनाएर प्रचार गरिरहेका थिए। उनीहरूमा आलोचनात्मक चेत शून्य भएको थियो।
हर्कका पछि लाग्ने दुई खालका मान्छे देखेँ मैले। एउटा– यस्तै सबै थाहा भएर पनि आफ्नो फाइदाका लागि जय–जयकार गर्ने र अर्को उनको वास्तविकता थाहा नपाएर, सञ्जालमा हाईहाई देखेर भावुक बन्ने।
विशेष गरी विदेशमा बसोबास गर्नेहरू यसरी नै भावुक बनेर आफूले रगत–पसिना बगाएर कमाएको पैसा धरानको विकास होस् भनेर पठाइरहेका थिए। तर, यो पैसा कानुनबमोजिम खर्च भइरहेको थिएन। जसरी हर्कलाई स्वच्छ, निष्कलंक मान्छे सम्झेर आँखा चिम्लिएर पैसा पठाइरहेका थिए, हर्क वास्तवमा त्यस्ता थिएनन्। उनको ‘कोर टिम’ मा रहेकाहरू कुनै न कुनै आर्थिक र नैतिक विवादमा मुछिएका थिए।
मैले २० वर्षअघि हर्कलाई गीत गाउँदै गरेको देखेको थिएँ। अलि पछि उनी नक्कली माओवादी बनेर पैसा उठाउन जाँदा वाणिज्य बैंकअगाडि सक्कली माओवादीको कारबाहीमा परेको घटना पनि थाहा थियो। उनी त्यसै बेलादेखि नैतिक र चारित्रिक रूपमा विवादित व्यक्ति थिए। उनको विवादित पृष्ठभूमि र अराजक वर्तमानबारे उजागर हुनुपर्छ भन्ने मेरो पत्रकार मनले सोच्यो। चुनौतीपूर्ण पेसा भन्ने जानेरै पत्रकारितामा लागेको मलाई गाली आउँछ भन्ने थाहा थियो तर सत्य कुरा बाहिर आउनै पर्छ भनेर आँट गरेँ।
प्रहरी प्रशासनले भने सुरक्षाको आश्वासन दिँदै ढुक्क भएर काम गर्न भनिरहेको थियो। तर, केही दिन त घरबाट बाहिर निस्किने अवस्था रहेन, सामाजिक सञ्जाल पनि हेरिसक्नु थिएन। शुभचिन्तकहरूको फोन लगातार आइरह्यो। बुझ्ने मान्छे, बौद्धिक समाज मेरो साथमा छ भनेर ढुक्क पनि लाग्यो। हामी पत्रकारको कमाइ यही नै त हो भनेर महसुस गरेँ।
अनि खोजी सुरु गरेँ। उनलाई कारबाही गर्ने माओवादीदेखि त्यस घटनामा जोडिएका, उनलाई सानैदेखि देखेका, बुझेका १० भन्दा बढी मान्छेसँग भेटेर कुरा गरेँ। उनीसँग काम गरिरहेका अरू १० भन्दा बढी मान्छे भेटेँ। कानुनकै विद्यार्थी भएकाले कानुनका दफाहरू अध्ययन गरेँ, विज्ञहरूसँग बुझेँ।
समाचार तयार गर्न खोज पत्रकारिता केन्द्रले सहयोग गरेको थियो। विभिन्न चरणमा सम्पादन भएपछि १४ मंसिर २०८१ मा हिमालखबर डटकम र त्यसपछि खोज पत्रकारिता केन्द्रको वेबसाइटमा प्रकाशन भयो, ‘हर्क साम्पाङको मनमौजी शासन : बेथितिको दलदलमा धरान।’
समाचार सामाजिक सञ्जालमा धमाधम सेयर हुन थाल्यो। कतिपयले डराइ डराइ सेयर गरे, ‘यो मैले लेखेको होइन, गोपाल दाहालले लेखेको है’ भनेर। नेपाल पत्रकार महासंघ सुनसरीका तत्कालीन अध्यक्ष जनकऋषि राईले भने खुलेरै समाचार मात्र सेयर गरेनन्, विशेष गरी हर्क नक्कली माओवादी बनेर चन्दा उठाउँदा कारबाहीमा परेको विषयमा भिडियो पनि बनाए। किनकि, त्यो घटना उनलाई राम्रोसँग थाहा थियो।
समाचार प्रकाशन भएको चार दिनपछि १८ मंसिर साँझ हर्कले मेरो समाचारका विषयमा फेसबुकमा लगातार तीनवटा पोस्ट गरे। जसमा मलाई भोलिपल्ट १० बजे तुरुन्तै हाजिर हुन निर्देशन दिँदै अन्यथा खोज पत्रकारिता सिध्याइदिने धम्की दिएका थिए। मेरो समाचारलाई आधार बनाएर भिडियो पोस्ट गर्ने महासंघ अध्यक्ष राईलाई पनि हाजिर हुन निर्देशन थियो।
भोलिपल्ट चिया पसलमा समर्थक र युट्युबरहरू जम्मा गरेर मलाई ‘चोर, फटाहा, गधा’ गालीसँगै पत्रकारिता सिध्याइदिने, देशमा बस्न नसक्ने बनाइदिने धम्की दिए। त्यति मात्र होइन, हाम्रो आर्थिक स्रोत छानबिन गर्नुपर्ने प्रश्न उठाउँदै भने, ‘यिनीहरूको जीवन कसरी चलिरहेको छ ? कुन पैसाले भात खाइरहेका छन्?’
समाचारमा चित्त नबुझे कानुनी प्रक्रियामा जान सुझाउनेलाई उल्टै झपार्दै उनले भने, ‘त्यस्ता नाथे कानुन म मान्दिनँ, म आफैं कानुन बनाउँछु।’
हर्कको गालीगलौज, धम्कीलाई युट्युबरले प्रत्यक्ष प्रसारण गरे। साम्पाङ आफैंले पनि फेसबुक, टिकटक लगायतका सञ्जालमा आफूले गाली गरेका भिडियो पोस्ट गरे। आफूविरुद्ध लाग्नेलाई शिर ठाडो बनाउन नदिनु भन्दै समर्थकलाई उक्साए। त्यसपछि त मेरो म्यासेन्जर, ह्वाट्सएप, युट्युब, फेसबुक सबैतिर गाली र धम्कीको वर्षा भयो। कसैले समाचार लेख्ने हातको औंला काट्नेलाई पुरस्कार दिने घोषणा गरे, कसैले तेरो धेरै दिन बाँकी छैन भनेर सिध्याइदिने धम्की दिए, अनि कसैले चाहिँ तेरो परिवार कहाँ बस्छ? भनेर परिवारलाई समेत निगरानी गर्ने धम्की दिए।
हर्कले ‘मेरा विरोधीलाई नछाड्नु, शिर ठाडो पारेर हिँड्न नदिनु’ भनेर फेसबुकमा लेखिरहे। समर्थकहरूको धम्की बढिरह्यो। अपरिचित मान्छेहरू म बस्ने घरवरिपरि आए। मोटरसाइकलमा आएका चार–पाँच जनाको समूहले ‘गोपाल दाहाल यहीँ बस्छ’ भनेर औंल्याउँदै कुरा गरेको भित्रबाट सुनियो।
साम्पाङले आफ्ना समर्थकलाई गाली गर्न मात्र होइन, भौतिक आक्रमण गर्नसमेत पठाउँछन् भन्ने कुरा मभन्दा पहिला सञ्चारकर्मी सञ्जिता धमलालाई अस्पतालमा उपचारका लागि लाइन बसेका बेला कुटपिट गरेको घटनाबाट प्रस्ट भइसकेको थियो। साम्पाङका मान्छे घरवरपर घुम्ने क्रम बढेपछि मनमा चिसो पस्यो, नानीहरू स्कुल जान पनि डराउन थाले।
प्रहरी प्रशासनले भने सुरक्षाको आश्वासन दिँदै ढुक्क भएर काम गर्न भनिरहेको थियो। तर, केही दिन त घरबाट बाहिर निस्किने अवस्था रहेन, सामाजिक सञ्जाल पनि हेरिसक्नु थिएन। शुभचिन्तकहरूको फोन लगातार आइरह्यो। बुझ्ने मान्छे, बौद्धिक समाज मेरो साथमा छ भनेर ढुक्क पनि लाग्यो। हामी पत्रकारको कमाइ यही नै त हो भनेर महसुस गरेँ।

हर्क साम्पाङ र उनका समर्थकहरुले सोसल मिडियामार्फत गरेका गालीगलौज।
नगर प्रमुखको धम्कीको विरोधमा पत्रकार महासंघ र विभिन्न संगठन, स्थानीय राजनीतिक दलहरूले विज्ञप्ति जारी गरे। सञ्चार माध्यमहरूमा समाचार आउन थाले। अभिव्यक्ति स्वतन्त्रताका विषयमा काम गर्ने संस्था र मानव अधिकारवादी संस्थाहरूको पनि ध्यानाकर्षण भयो। धम्की दिनेविरुद्ध पत्रकार महासंघको अगुवाइमा इलाका प्रहरी कार्यालयमा उजुरी दियौं। महासंघको केन्द्रीय समितिको पहिलो बैठकले छानबिन समिति नै गठन गर्यो र छानबिन अघि बढायो।
तर, प्रहरी प्रशासनले धम्की दिने नगर प्रमुख साम्पाङ र उनका समर्थकलाई बोलाएर सोधपुछसमेत गरेन। बरु यो साइबरको केस भएकाले उजुरी काठमाडौं पठाउँछौं भनेर खबर गर्यो। जिल्ला प्रशासनदेखि गृहमन्त्रीसम्मलाई पत्रकार महासंघले ज्ञापनपत्र बुझायो। आश्वासन गज्जबकै थियो तर काम भएन। हामी हेरेको हेर्यै भयौं।
सरकारले गरेको ‘अन्याय’
प्रशासनले पनि ‘छुन नसके’पछि हर्कका अराजक समर्थकहरूको गाली गर्ने क्रम झनै बढ्यो। लगातार एक महिनासम्म गाली र धम्की आउँदा धरानमै बसेर पत्रकारिता गर्न असहज हुन थाल्यो। त्यही बेला खोज पत्रकारिता केन्द्रले केही समयका लागि काठमाडौं आएर बस्ने प्रबन्ध मिलाइदियो।
मलाई समाचार लेखेकै आधारमा परिवार र धरान छाड्न बाध्य तुल्याएर साम्पाङ र उनका समर्थक एकहिसाबको विजयीभावमा होलान्। तर, उनीहरूले बुझ्नुपर्छ– हर्कले चुनाव त जिते तर लोकतन्त्रमा उनको हार भएको छ।
यहीबीच पत्रकार महासंघको छानबिन टोलीले म, मेरो परिवार, अन्य पत्रकार, राजनीतिक दल, प्रहरी प्रशासन सबैसँग कुरा गरेर तयार पारेको प्रतिवेदन गृहमन्त्री रमेश लेखकलाई बुझायो। जसमा समाचार लेखेकै आधारमा धम्क्याउने साम्पाङ र उनका समर्थकलाई कारबाहीको दायरामा ल्याउन सिफारिस गरिएको थियो। गृहमन्त्रीले दोस्रो पटक कारबाही गर्ने आश्वास दिए। गृहमन्त्रीले नै भनेपछि केही होला भन्ने आशा थियो तर त्यो आशा पनि निराशामा परिणत भयो।
महासंघले तयार पारेको प्रतिवेदन
केही महिनापछि म धरान फर्किएँ। तर, माहोल उस्तै पाएँ। फेरि पनि ‘हर्क साम्पाङ समर्थक समूह’ का नाममा मेरो र पत्रकार महिलाको तस्बिर जोडेर सामाजिक सञ्जालमा जथाभावी लेख्ने, बेइज्जती गर्ने क्रम सुरु भयो। त्यसविरुद्ध पनि प्रहरीको साइबर ब्युरोमा उजुरी गरेँ तर गृहमन्त्रीलाई नै प्रतिवेदन बुझाउँदा त केही गर्न नसक्ने प्रशासनले सुरक्षा दिन्छ भन्ने विश्वास नै हरायो।
त्यसपछि मलाई थप असुरक्षा महसुस भयो। काम गर्न त के बस्नै पनि सकस हुन थाल्यो। अनि, मैले पुनः केही समयका लागि मन नलागी, नलगी धरान छाड्ने निर्णय गरेँ।
आफैंले भोगेका यी घटनाक्रमबाट नेपालमा न्याय पाउन कति गाह्रो रहेछ भन्ने मज्जाले बुझ्न पाएँ। लामो समयदेखि पत्रकारिता गरेका कारण स्थानीय रूपमा सबै क्षेत्रसँग परिचित रहेको, डीएसपी, सीडीओसम्म पहुँच भएको, पत्रकार महासंघजस्तो दबाब दिनसक्ने सक्रिय संस्थाको सदस्य रहेको मजत्तिको मान्छेलाई समाचार लेखेकै आधारमा धम्की दिनेलाई कारबाही गर्न नसक्ने हाम्रो प्रहरी, प्रशासन र राज्यले यत्तिको पनि पहुँच नभएका आमनागरिकलाई कस्तो न्याय दिइरहेको होला?
प्रधानमन्त्री र ठूला नेतालाई सामाजिक सञ्जालमा गाली गरेकै भरमा विदेशबाट खोजेर ल्याउन सक्ने, जेल पठाउन सक्ने प्रहरी प्रशासन कमजोर अवश्य छैन। तर, उसलाई पनि ठूलाबडाको समस्या मात्र समस्या बुझ्ने बानी परिसक्यो।
आमनागरिकले सरकारबाट भरोसा गुमाउनुपर्ने, युवाले देशमा भविष्य नदेखेर विदेश पलायन हुनुपर्ने, चौतर्फी निराशा छाउने कारण राज्य संयन्त्रका यस्तै असमान व्यवहार हुन् भन्ने लाग्छ। तर, सुन्ने कसले्? देशमै अझ आफ्नो ठाउँमै बसेर पत्रकारिता गरौं, समाजका विकृति उजागर गरौं, नयाँ पुस्तामा आशा जगाऔं भनेर सोच्ने म यतिबेला निराश छु, त्यो पनि कसबाट? राजनीतिमा नयाँ अनुहार र आशा भनिने स्वतन्त्र नगर प्रमुख हर्क साम्पाङबाट।
म यतिखेर कार्यक्षेत्रबाट बाहिर छु तर कर्मबाट होइन। मलाई समाचार लेखेकै आधारमा परिवार र धरान छाड्न बाध्य तुल्याएर साम्पाङ र उनका समर्थक एकहिसाबको विजयीभावमा होलान्। तर, उनीहरूले बुझ्नुपर्छ– हर्कले चुनाव त जिते तर लोकतन्त्रमा उनको हार भएको छ।
साथीहरू! म विचलित भएको छैन, झन् मजबुत भएको छु। भनाइ नै छ, ‘सत्यलाई केही समय हैरान बनाउन सकिन्छ तर पराजित गर्न सकिन्न।’