काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२९ कार्तिक २०८२
अ+
अ-

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेस केन्द्रित दलहरू प्रदेशलाई मुठभेडको अवस्थामा लैजान खोजेको आरोप लगाएका छन्।

प्रदेशवासीको नाममा आज सम्बोधन गर्दै मुख्यमन्त्री यादवले मधेस केन्द्रित दलहरूलाई वार्ता र संवादको मार्फत अहिले देखिएको समस्याको निकास खोज्न आग्रह गरेका छन्।

उनले अहिले पनि वार्ता नै संवाद नै एकमात्र विकल्प रहेको बताएका छन्। उनले मुख्यमन्त्री र संवैधानिक निकायसहितका प्रमुखहरूलाई आन्दोलनकारीहरूबाट सुरक्षा थ्रेट रहेको समेत बताएका छन्।

मधेस केन्द्रित दलहरूसँग कुनै किसिमको एजेन्डा नरहेको कारणले उनीहरू जनतालाई भड्काएर प्रदेशलाई मुठभेडको अवस्थामा लैजान खोजेको आरोप लगाए। मुख्यमन्त्री यादवले जेन्जी आन्दोलनपछि वैदेशिक हस्तक्षेप बढेको र प्रदेशमा समेत यस खालको गतिविधि देखेको आरोप लगाए।

मुख्यमन्त्री यादवले सर्वोच्च अदालतमा मुद्दा रहेको र निकास पनि त्यहाँबाटै मात्र हुने बताउँदै अहिले गरिएको आन्दोलनको कुनै औचित्य समेत नरहेको बताए।

उनले भने म नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा घेरामा बसेको छु। मलाई यति थ्रेट छ भने प्रदेश सभा सांसदहरुलाई कति थ्रेट होला।

मुख्यमन्त्री यादवले अहिले पनि दलहरू लोकतान्त्रिक र विधि प्रक्रियामा विश्वास गर्न आग्रह गरे। मुख्यमन्त्री यादवले सर्वोच्च अदालतमा मुद्दा पनि हाल्ने सडकमा आन्दोलन पनि गर्ने यो अराजकता बाहेक अरु केही होइन। उनले लोसपा नेतृत्वको सरकार आफ्नै सहयात्रीको कारणले ढलेको बताउँदै यसको दोष आफूलाई दिन खोजिएको भन्दै आफू नचाहँदा नचाहँदै पनि मुख्यमन्त्री बनेको दाबी गरे।

सर्वोच्च अदालतमा मुद्दा परेको कारणले पनि त्यहीँबाट निकास निस्किने भएकोले आफू पनि अदालतको निर्णय मान्ने र सबैले मान्नुपर्ने जिकिर गरे।

मुख्यमन्त्री यादवले अहिले पनि मुख्यमन्त्री निवास आन्दोलनकारीहरूले कब्जा जमाएर बसेकोप्रति आपत्ति जनाए।