२९ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुईवटा बचतपत्रको बिक्री खुला गरेको छ। कार्यालयले दुई अर्ब ५० करोड रुपैयाँबराबरको ‘नागरिक बचतपत्र-२०८७’ र ५० करोड रुपैयाँ बराबरको ‘वैदेशिक रोजगार बचतपत्र-२०८७’ निष्कासन गर्न लागेको हो।

पाँच वर्ष अवधिका यी दुवै बचतपत्र खरिदका लागि आगामी २५ मंसिरसम्म आवेदन दिन सकिनेछ। बचतपत्र २८ मंसिरमा निष्कासन हुनेछ। नागरिक बचतपत्रमा ६.५ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रमा ७.५ प्रतिशत वार्षिक ब्याजदर उपलब्ध हुनेछ।

बचतपत्रको ब्याज हरेक ६/६ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा भुक्तानी हुनेछ। नागरिक बचतपत्र नेपाली नागरिक र गैरआवासीय नेपाली नागरिकले खरिद गर्न सक्नेछन्। त्यस्तै वैदेशिक रोजगार बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ६ महिना पुगेका नेपाली नागरिक, गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममासमेत किन्न सक्नेछन्। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सञ्चालन गर्ने डोम्स (डीओएमएस) प्रणाली र इन्भेस्टर पोर्टलमार्फत बचतपत्र खरिदका लागि आवेदन दिन सकिनेछ।

अघिल्ला वर्षमा नागरिक बचतपत्र शतप्रतिशत बिक्री हुँदा वैदेशिक रोजगार बचतपत्रमा भने लगानीकर्ताको न्यून चासो देखिने गरेको छ। लगानीकर्तालाई बचतपत्रबारे पर्याप्त जानकारी नहुँदा विगतका वर्षमा निष्कासन गरिएको रकमभन्दा कम मात्रै खरिद हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव प्रकाश पुडासैनीले बताए।

नागरिक बचतपत्रका लागि पछिल्लो चार दिनमा मात्र ८० करोड रुपैयाँबराबरको आवेदन परिसकेको पुडासैनीले जानकारी दिए। यस वर्ष तोकिएको समयअघि नै खरिद भइसक्ने अनुमान गरिएको उनको भनाइ छ। उनका अनुसार पहिलो आवेदन दिनेले पहिले खरिद गर्न पाउने यी बचतपत्र ‘स्टक’का रूपमा जारी हुनेछन्।

यस्ता बचतपत्रको ब्याजदर बैंकको मुद्दती निक्षेपभन्दा आकर्षक रहेका जनाउँदै पुडासैनीले यसको महत्त्व र फाइदाबारे अधिकांश नागरिकलाई जानकारी नभएको बताए। उपसचिव पुडासैनीका अनुसार बचतपत्र पूर्ण रूपमा सुरक्षित लगानी हो। यसमा सरकारले मूलधनको सुनिश्चत गरेको हुन्छ। साथै बचतपत्रको ब्याज रकम हरेक ६ महिनामा खरिदकर्ताको बैंक खातामा सिधैँ जम्मा हुन्छ। यसलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिने पुडासैनीले उल्लेख गरे।