३० कार्तिक २०८२
अ+
अ-

बाँके। नेपालगन्ज-बघौडा हुलाकी सडकअन्तर्गत डुडुवा गाउँपालिका ५ स्थित राप्ती नदीको सिधनियाघाटमा फराकिलो पक्की पुल निर्माणले गति लिएको छ।

करिब ११ मिटर चौडाइ रहने पुल निर्माणले गति लिएपछि बाँकेको नरैनापुर र राप्तीसोनारीका बासिन्दालाई आवागमनमा सहज हुनेछ। हाल यहाँ साँघुरो पुल भएकाले सवारीसाधन पालो कुरेर नदी पार गर्नुपर्ने बाध्यता छ।

राप्ती नदीमा दुई लेनको पुल निर्माण भएपछि नदी वारपार गर्न पालो कुर्नपर्ने बाध्यता अन्त्य हुने स्थानीय सोहनलाल यादवले बताए। पुल निर्माण धमाधम भइरहेकाले शीघ्र सम्पन्न भई आवागमन सहज हुने उनको विश्वास छ।

उक्त पुलको हालसम्म ५० प्रतिशतभन्दा बढी प्रगति भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए। सम्झौता भएपछि करिब एक वर्ष पुलको डिजाइनमा समय लागेकाले केही ढिलाइ भएको बताउँदै उनले आगामी असारभित्र निर्माण सम्पन्न हुने गरी काम भइरहेको जानकारी दिए।

सिधनियाघाटमा करिब डेढ दशकअघि निर्माण भएको पुल साँघुरो भएपछि फराकिलो बनाउन थालिएको हो। १० माघ २०७९ मा लुम्बिनी रौताह बन्धन भगवती जेभी काठमाडौँसँग ५३ महिनामा काम सक्नेगरी सम्झौता भएको थियो।

पुलको लागत भ्याटसहित एक अर्ब १९ करोड रुपैयाँ रहेको योजना कार्यालयका प्रमुख भण्डारीले जानकारी दिए। करिब ७०० मिटर लम्बाइको पुल, एक हजार ४८० मिटर एप्रोच सडक र चार किलोमिटरसम्म नदी नियन्त्रणको काम एकसाथ सम्पन्न गर्ने योजना रहेको पनि भण्डारीले बताए।