काठमाडौँ
००:००:००
२९ मंसिर २०८२, सोमबार

राजनीति

विचार होइन, व्यक्तिकेन्द्रित ध्रुवीकरण

३० कार्तिक २०८२
१० कम्युनिस्ट दलबीच भएको एकतासभा। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

१९ कात्तिकमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहितका १० वटा वाम घटकले एकता गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को गठनको घोषणा गरे। त्यसको एक सातापछि एमालेबाट अलग बसेका पूर्व उपाध्यक्ष भीम रावलको मातृभूमि जागरण अभियानले पनि नेकपासँग एकता गर्‍यो।

एकीकृत समाजवादीको एउटा समूह भने माओवादी केन्द्रसँगको एकता प्रक्रियामा संलग्न नहुने भन्दै बाहिरिएको छ। पार्टी महासचिव घनश्याम भुसालले एकताअघि नै पार्टी पुनर्गठन हुनुपर्ने भन्दै वामपन्थी केन्द्र नामको नयाँ पार्टी गठन गरिसकेका छन्। अहिले उनी माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्मा र नेकपाका महासचिव नेत्रविक्रम चन्दसँग एकताका लागि छलफलमा छन्। तीनै नेताले संयुक्त विज्ञप्ति जारी गर्दै अहिलेकै नीति तथा कार्यशैलीबाट वाम आन्दोलन अघि बढ्न नसक्ने बताएका छन्।

एकीकृत समाजवादीभित्र विवाद चर्किंदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व एमालेहरूलाई घर फर्किन सार्वजनिक आह्वान गरेपछि स्थायी कमिटी सदस्यहरू रामकुमार झाँक्री र किसन श्रेष्ठसहित केही नेता एमालेमा प्रवेश गरे।

२३ र २४ भदौमा भएको जेन-जी आन्दोलनपछि उत्पन्न नयाँ राजनीतिक परिस्थितिका कारण देशका वामपन्थी दलहरूबीच तीव्र ध्रुवीकरण सुरु भएको छ। यसो पनि भन्न सकिन्छ कि एक हिसाबमा भन्दा स्थापनापछि एकताभन्दा विभाजन बढी देखेका दलहरू एक चक्र घुमेर पुन: एकताको चरणमा आइपुगेका छन्। तर, पहिलेका अधिकांश ध्रुवीकरण विचारप्रधान हुन्थे भने अहिले व्यक्तिप्रधान।

पञ्चायती व्यवस्था हुन्जेल हालको एमाले समूह नारायणी नदीपूर्व सशक्त थियो।

१ पुस २०१७ मा राजा महेन्द्रले सैनिक ‘कु’ गरेर जननिर्वाचित सरकारलाई अपदस्थ गरी दलविहीन पञ्चायती व्यवस्था ल्याएपछि त्यसलाई हेर्ने दृष्टिकोणलाई लिएर कम्युनिस्ट पार्टीमा दुई धार देखिएको थियो। केशरजंग रायमाझीले राजाको कदमलाई प्रगतिशील भन्दै स्वागत गरेका थिए भने पुष्पलाल श्रेष्ठले सैनिक आतंकको नाम दिएका थिए।

पार्टीको तेस्रो महाधिवेशन (२०२२ साल) पछि भने विभाजनको सिलसिला सुरु भएको थियो। विभाजनको मुख्य आधार आन्तरिक रूपमा पञ्चायती व्यवस्थासँगको सम्बन्ध र बाह्य रूपमा रुस र चीनलाई हेर्ने दृष्टिकोण थियो। फरक फरक ‘स्कुलिङ’ बाट हुर्किएका वामपन्थी नेतृत्वको एउटा कित्तामा पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारी थिए भने अर्कामा मोहनविक्रम सिंह र निर्मल लामा। पहिलो स्कुलिङबाट आएका वामपन्थीहरूको समूह झापा विद्रोह, अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेसन केन्द्र, माले र मार्क्सवादी एकीकरणबाट २०४७ सालमा नेकपा (एमाले) बन्यो। उता, सिंह र लामाको नेतृत्वको समूह भने न्युक्लियस चौथो महाधिवेशन, नेकपा (मशाल) हुँदै एकता केन्द्र बन्यो। जनयुद्धको विषयमा मतभेद भएपछि भने पार्टी विभाजन भयो।

पञ्चायती व्यवस्था हुन्जेल हालको एमाले समूह नारायणी नदीपूर्व सशक्त थियो। चौथो महाधिवेशनको भने मध्यपश्चिम पहाड र भारतमा रोजगारी गएकाहरूमा राम्रो प्रभाव थियो। जनयुद्धको विषयमा छुट्टिएर एकता केन्द्र र माओवादी शान्ति प्रक्रियामा आएपछि २०६५ सालमा एक भए।

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल जेन-जी आन्दोलनले जनतामा वामपन्थी दलहरूको हैसियत नराम्ररी खलबलिएकाले ध्रुवीकरण बढेको बताउँछन्।

२०४८, २०५१, २०५६ सालको चुनावमा एमाले देशको ठूलो वामपन्थी दलका रूपमा रह्यो। तर, २०६४ सालमा आइपुग्दा माओवादी ठूलो वामशक्ति बन्यो। तर, २०७० सालमा पुन: एमाले नै ठूलो वाम दल बन्यो। २०७४ सालमा एमाले र माओवादी मिलेर चुनाव लड्दा प्रतिनिधिसभाको करिब दुई तिहाइ स्थान जिते। सातमध्ये ६ वटा प्रदेशमा सरकार बनाए। तर, आन्तरिक विवाद चर्किंदै गएपछि २०७८ सालमा अदालतको फैसलापछि एमाले र माओवादी विभाजित भए। लगत्तै एमाले पनि विभाजित भयो।

अहिले फेरि वामशक्तिमा विभाजन र ध्रुवीकरण देखिएको छ। यो ध्रुवीकरण केका लागि? देशलाई नयाँ राजनीतिक दिशा दिन या शक्ति आर्जन गर्न या अस्तित्व जोगाउन?

दलहरूले यीमध्ये पहिलो विषयलाई नै कारक ठाने पनि विश्लेषकहरू भने तेस्रो अर्थात् कार्यकर्ता नगुमाउने रणनीतिका रूपमा लिन्छन्।

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल जेन-जी आन्दोलनले जनतामा वामपन्थी दलहरूको हैसियत नराम्ररी खलबलिएकाले ध्रुवीकरण बढेको बताउँछन्। “अहिलेको निर्वाचन प्रणालीबाटै राजनीतिक स्थायित्व दिने हो भने वैचारिक ध्रुवीकरण भएर दलहरू बन्नुपर्ने हो, विभाजनभन्दा एकता राम्रो हो,” पोखरेल भन्छन्, “तर, अहिले ध्रुवीकरण सैद्धान्तिकभन्दा नयाँ परिस्थितिमा कार्यकर्ता होल्ड गरेर राखिराख्न हो।” पोखरेलका अनुसार अहिले गर्न खोजिएको ध्रुवीकरणले कार्यकर्ता ‘होल्ड’ गर्न सफल भए पनि यसले मतदाता भने कति आकर्षित गर्नसक्छ, यसैबाट यसको औचित्य पुष्टि हुनेछ।

विश्लेषक केशव दाहालका अनुसार अहिले वामपन्थीहरूबीच तीन वटा समूह जस्तो देखिन्छ। “प्रवृत्तिगत रूपमा दस्तावेज र भाषणमा तीन धारजस्तो देखिए पनि उनीहरूको नाम मात्रै फरक हो,” उनी भन्छन्। चरित्र, सत्तामा हुँदाका अभ्यास, व्यक्तिगत सम्पत्तिप्रतिको मोह र वैचारिक निष्ठाको आधारमा हेर्दा कुनै पनि वाम भनिने दल फरक नदेखिएको दाहाल बताउँछन्।  भन्छन्, “वैचारिक निष्ठाका कम्युनिस्ट रहेनन्। सत्ताका व्यापारी मात्रै भए।”