काठमाडौँ। निर्वाचन आयोगले आगामी ११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ।
आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आगामी १९ पुस बिहान १० देखि ११ बजेसम्म नामावली प्रकाशन, नामावलीमाथि दाबीविरोध तथा उजुरीमाथि छानबिन गरी २२ पुस दिउँसो ३ देखि ४ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार २३ पुसको बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन‚ २४ पुस बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी‚ २७ पुस बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ देखि २ बजेसम्म उम्मेदवारीको अन्तिम नामावली प्रकाशन हुनेछ।
२८ पुस बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ।
राष्ट्रिय सभाका १८ सदस्यको निर्वाचन ११ माघमा सम्बन्धित मतदान केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ।
आगामी फागुनमा कार्यकाल सकिएर १९ जना राष्ट्रिय सभा सदस्य बिदा हुँदै छन्। त्यसमध्ये १८ पदका लागि निर्वाचन हुनेछ भने एकजना राष्ट्रपतिबाट मनोनीत सांसद वामदेव गौतमको कार्यकाल सकिँदै छ। राष्ट्रपतिबाट मनोनीत सांसदको कार्यकाल सकिएपछि राष्ट्रपतिले अर्को सदस्य मनोनित गर्छन्। रिक्त हुने १८ स्थानका लागि चुनाव गर्ने तयारीमा सरकार जुटेको हो।
आगामी फागुनमा कार्यकाल सकिएर बिदा हुने सांसदमा एमालेका आठ, माओवादी केन्द्रका सात, एकीकृत समाजवादीका एक, जनता समाजवादी पार्टी नेपालका एक, लोकतान्त्रिक समाजवादी पार्टीका एक र मनोनीत एक सांसद छन् ।
