काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

‘फेक जेन-जीको प्रयोग भयो, माइतीघरदेखि एभरेस्टसम्म गएका जेनजी हुन्, त्यसभन्दा उता प्रयोग भएका जेन-जी होइनन्।’

२ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाको विघटनविरुद्ध आफ्नो पार्टीले कानुनी उपचार र शान्तिपूर्ण संघर्षको बाटो रोज्ने बताएका छन्।

विघटित प्रतिनिधिसभाका नेकपा एमालेसम्बद्ध सदस्यहरूको बैठकमा आज (मंगलबार) उनले संसद् पुन:स्थापनाबाट राजनीतिक निकास दिनुपर्ने भएकाले आफूहरू रिट लिएर सर्वोच्च अदालत जाने बताए।

बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संकटको अवस्थामा एमालेको भूमिका नै देशको भविष्यमा निहित छ भन्ने सबैले बुझ्नुपर्ने बताए। पार्टीका महासचिव शंकर पोखरेलले गत २३ र २४ भदौको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए।

‘भ्रष्टाचार झन् मौलायो’
यस्तै उनले विगतमा भन्दा अहिले झन् भ्रष्टाचार मौलाएको बताएका छन्। अहिले विद्युत् खरिदका ठुला-ठुला भ्रष्टाचारका काण्ड सुन्नमा आएको पनि ओलीको दाबी छ।

‘नेपो बेबी’भनेर बालबालिकालाई मानसिक तनाव दिने काम भएको जनाउँदै उनले यसलाई बालबालिकाविरोधी अपराध भएको बताए। कुनै पनि बालबालिकालाई आतंकित बनाउन काम गर्न नहुने उनको भनाइ छ।

कम्युटरको जेनेरेसनलाई जेन-जी भनेर अपराधी काममा उत्प्रेरित गराएको उनको आरोप थियो। ओलीले भने, “फेक जेन-जीको प्रयोग भयो, माइतीघरदेखि एभरेस्टसम्म गएका जेनजी हुन्, त्यसभन्दा उता प्रयोग भएका जेन-जी होइनन्।”

जेन-जी युनिफर्ममा भएका थिए त्यहाँ खेटिएकाहरु कालो पहिरनमा आएको ओलीको दाबी छ। सुशीला कार्की नेतृत्वको सरकार नेपाली जनताको नभएको भन्दै सरकार ‘शो कल्ड’ भएको उनले बताए। यो सरकार कसले बनायो र कसले टिकायो? भनी प्रश्न गर्दै कार्की नेतृत्वको सरकार असंवैधानिक र अलोकतान्त्रिक भएको उनले दाबी गरे। उनले भने,“यो सरकार आगजनी र तोडफोड र लुटपाटबाट बनेको सरकार हो।”

उनले प्रतिनिधसभा विघटन असंवैधानिक भएको जनाउँदै सिफारिस नै अनधिकृत भएको बताए। उनले अहिलेको सरकार हट्नुपर्ने र संसद् पुन:स्थापना हुनुपर्ने अडान दोहोर्याए।