२ मंसिर २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। राहदानी विभाग त्रिपुरेश्वरबाट थप आठजना बिचौलिया पक्राउ परेका छन्। हिजो (सोमबार) प्रहरीले तीन बिचौलियालाई पक्राउ गरेको थियो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका ४ का २६ वर्षीय सञ्जय आङ्देम्बे, काठमाडौं शंखरापुर ६ का ३२ वर्षीय ख्यामबहादुर श्रेष्ठ, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका ३ का २५ वर्षीय प्रेमबहादुर लामा, सोही ठाउँका ३८ वर्षीय जीवन लामा, साँगाचोकगढी ६ का १८ वर्षीय भगवान् थापा‚ सुर्खेत बराहताल गाउँपालिका १० का २९ वर्षीय टेकबहादुर सुनार, दोलखा भीमेश्वर नगरपालिका २ का ३० वर्षीय साजन श्रेष्ठ, रामेछाप नगरपालिका ५ का ४० वर्षीय गोकुलबहादुर श्रेष्ठ छन्।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार विभागको मूलगेटमा उनीहरू बस्थे। सेवाग्राहीहरूबाट राहदानी छिटो-छरितो बनाइदिने भनी विश्वासमा पारेर रकम लिन्थे। “अतिरिक्त रकम लिने, दु:ख हैरानी दिने तथा राहदानी विभागका कर्मचारीसमेतको काम-कारबाहीमा अवरोध पुर्‍याउने कार्य गरेको भन्ने विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो,” आचार्यले भने।

आचार्यका अनुसार पक्राउ परेकाले मान्छे हेरीहेरी अतिरिक्त रकम लिन्थे। उनीहरूले एक सेवाग्राहीसँग कम्तीमा पाँच हजार रुपैयाँ अतिरिक्त शुल्क लिन्थे। पक्राउ परेकालाई थप अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

यसअघि प्रहरीले सर्लाही हरिवन नगरपालिका १ का ३२ वर्षीय भाग्यनारायण साह, धादिङ नेत्रावती गाउँपालिका २ का ३६ वर्षीय वीरेन्द्र थापामगर र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका ५ का ४३ वर्षीय मिक्टे लामालाई पक्राउ गरेको थियो।