आवरण
२८ महिनामा १४ जनाको मृत्यु
विराटनगर। धनु साह जब आफ्नो थालमा भातसँगै धुलोको पातलो पत्र जमेको देख्छन्, तब उनलाई घरअघि चिल्लो, फराकिलो चार लेनको सडकमा गाडी गुडिरहेको आफ्नो त्यो सपनाको याद आउँछ। मोरङको विराटनगरसँग सीमा जोडिएको कटहरी गाउँपालिका–२, आदर्शनगरका उनका लागि अहिले त्यही सपना अभिशाप बनेको छ।
“घरका झ्यालढोका चौबीसै घण्टा बन्द हुन्छन्, तर धुलोलाई केले छेक्दो रहेछ र? थालमा मात्र होइन, ओछ्यानमा समेत धुलो जमेको हुन्छ,” दिक्क मान्दै साह भन्छन्, “हामीले विकास मागेका थियौँ, तर रोग र सास्ती पायौँ।”
३५ वर्षदेखि सोही सडकपेटीमा खाजा बेचिरहेका छन्, दिलीप साह। ६ वर्षअघि जब नयाँ सडक बनाइने योजना सुरु भएकै थिएन, तब दिलीप आदर्शनगरको सडकपेटीमा ठेलामा तात्तातो खाजा बेचेरै १० जनाको परिवार पालिरहेका थिए। बुधबार र आइतबार लाग्ने हाटबजारमा दिनकै आठ हजार रुपैयाँसम्मको व्यापार गर्ने उनी अरू दिन पनि आरामले तीन हजारजति कमाउँथे। तर, अलपत्र सडकले उनको व्यापार मात्र नभई जीवनयापनको आधार नै खोसिएको छ।
“बिहानभरि मेहनत र लगानी गरेर सामान तयार पार्यो, दिनभरिको धुलोले सबै बर्बाद हुन्छ। अब त खाजा खाने मान्छे आउनै छाडेका छन्,” ६० वर्षीय दिलीप दुखेसो पोख्छन्, “दिनभरिमा मुस्किलले ५०० देखि एक हजारको बिक्री हुन्छ। योभन्दा अन्याय के हुन्छ?”

समयमै सडक नबनाउँदा सास्ती पाएको गुनासो सुनाउँदै धनु साह। तस्बिर : अनिल श्रेष्ठ
धनु र दिलीपले भोगेको यो पीडा कटहरीस्थित हुलाकी राजमार्गको ६ किलोमिटर खण्डमा बस्ने हजारौँ नागरिकको दिनहुँको नियति हो। ६ वर्षअघि सुरु भएको यो सडक निर्माणको काम अहिलेसम्म २७ प्रतिशत मात्र सकिएको छ। बाँकी ७३ प्रतिशत हिस्सा धुलो, हिलो र अनगिन्ती खाल्डाहरूको पासो बनेको छ।
हुलाकी राजमार्गअन्तर्गत रतुवा खोलादेखि केसलिया खोलासम्मको ४४ किलोमिटर सडकलाई चार लेनमा विस्तार गर्न २०७६ सालमा तीन अर्ब ६० करोड रुपैयाँमा ठेक्का लागेको थियो। त्यसैको एउटा हिस्सा, कटहरी गाउँपालिकाभित्र पर्ने सिंघिया खोलादेखि जुडी खोलासम्मको ६ किलोमिटर खण्ड हो, जसको निर्माण ठेक्का ७६ करोड रुपैयाँमा काठमाडौँस्थित श्रेष्ठ कन्स्ट्रक्सनले पाएको थियो।
वर्षौंसम्म सरकारी उदासीनता र ठेकेदारको चरम लापरवाही सहन नसकेपछि स्थानीयवासी गत २२ साउनमा विद्रोहमा उत्रिए। हिलाम्मे सडकमा धान रोपेर विरोध जनाउँदा पनि राज्यका निकायले देखेको नदेख्यै गरे। त्यसपछि २० कात्तिकमा स्थानीय युवाले विराटनगर-रंगेली सडकखण्ड नै ठप्प पारे। उनीहरूको माग थियो– कि सडक बनाऊ, कि ठेक्का रद्द गर।
अन्ततः मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले ठेक्का रद्दको प्रक्रिया अगाडि बढाउने निर्णय गर्यो। २१ कात्तिकमै हुलाकी राजमार्ग निर्देशनालयले ठेक्का तोड्न सडक विभागलाई पत्राचार गरिसकेको निर्देशनालयका सूचना अधिकारी इन्जिनियर उपेन्द्र दासले जानकारी दिए। “विभागबाट पत्र आएपछि ठेक्का रद्द गरेर नयाँ प्रक्रिया अगाडि बढाइनेछ,” उनी भन्छन्।

६ वर्षमा पनि नबनेपछि गत २२ साउनमा हिलाम्मे सडकमा धान रोपेर विरोध जनाउँदै कटहरीका स्थानीय। तस्बिर : अनिल श्रेष्ठ
हुलाकी सडक आयोजनाका प्रमुख युवराज पोखरेल मुख्य ठेकेदार सुवास श्रेष्ठ लामो समयदेखि सम्पर्कविहीन रहेको बताउँछन्। भन्छन्, ‘‘दोस्रोपटक थपिएको म्याद पनि जेठ मसान्तमा सकिइसक्यो। प्रगति २७ प्रतिशत मात्रै छ, अब विभागबाट निर्णय भएपछि ठेक्का अन्त्यको सूचना निकाल्छौँ।”
६ वर्षमा २७ प्रतिशत काम
सम्झौताअनुसार सडक २३ कात्तिक २०७९ मा बनिसक्नुपर्थ्यो। तर, तोकिएको समयसीमा त काम नै सुरु हुन सकेन। त्यसपछि दुईपटक म्याद थपियो, तर ठेकेदार कम्पनी कामप्रति कहिल्यै गम्भीर देखिएन। दोस्रोपटक थपिएको म्याद सकिएको पनि महिनौँ भइसक्यो, तर सडकको अवस्था उस्तै छ।
“हामीले प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा ठेकेदारका प्रतिनिधिसँग २२ पटकभन्दा बढी छलफल गर्यौँ,” स्थानीय अगुवा गोकुल भट्टराई सम्झन्छन्, “हरेक पटक ‘अब छिटै पिच हुन्छ’ भन्ने खोक्रो आश्वासनबाहेक केही पाइएन। यो नागरिकलाई धोका र राज्यसंयन्त्रको असफलता हो।”
नागरिकस्तरबाट चर्को दबाब र विरोध प्रदर्शन हुन थालेपछि राजनीतिक दल र जनप्रतिनिधिहरू पनि तातेका छन्। १२ साउनमा जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको सर्वदलीय बैठकमा जनप्रतिनिधिहरूले एक स्वरमा ठेक्का रद्द गरी नयाँ प्रक्रिया थाल्न दबाब दिएका थिए।

धुलाम्मे हुलाकी सडक। तस्बिर : अनिल श्रेष्ठ
हुलाकी सडक भएको ठाउँ मोरङ क्षेत्र नम्बर ४ का पूर्वप्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री अमनलाल मोदी ठेकेदार कम्पनीको लापरवाही अक्षम्य भएको बताउँछन्। “सडकको दुरवस्थाबारे पटक पटक संसद् र संसदीय समितिमा आवाज उठाएको छु। ठेकेदारलाई बारम्बार भन्दा पनि काम भएन,” मोदी भन्छन्, “अब काम नगर्ने कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउनुपर्छ। जनताले अब एक दिन पनि थप सास्ती भोग्न सक्दैनन्।”
सोही निर्वाचन क्षेत्रका कोसी प्रदेशसभा सदस्य भीम पराजुली भने प्रदेशसभाको बैठक आह्वान भएपछि सरकारको ध्यानाकर्षण गराउने र त्यसपछि पनि सडक निर्माण प्रक्रिया अगाडि नबढे आमरण अनशन बस्ने चेतावनी दिएका छन्। २५ साउनमा प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन्। “सरकारभन्दा बलिया ठेकेदार हुन् कि भन्ने आशंका बढेको छ,” पराजुली भन्छन्, “संघको काम भनेर प्रदेश पन्छिन मिल्दैन, प्रदेश सरकार खुट्टा बलियो बनाएर अगाडि आउनुपर्छ।”
कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरी दुई दुईपटक म्याद थप्दा पनि काम नगर्ने ठेकेदारलाई कारबाही नभएको बताउँछन्। “हामीले प्रधानमन्त्री, मन्त्रीदेखि यस क्षेत्रका सांसदहरूलाई पनि ध्यानाकर्षण गराएकै हौँ। अब त हैरान भइसक्यौँ।”
१४ जनाको मृत्यु
कटहरी गाउँपालिका हुँदै जाने ६ किलोमिटर धुलाम्य सडकखण्डका अनगिन्ती खाल्डाहरूले दैनिक हजारौँ श्रमिक, यात्री र स्थानीयको जीवनलाई जोखिममा पारेका छन्। “खाल्डाखुल्डीले मानिस लडेर घाइते हुनु त सामान्य भइसक्यो,” कटहरी गाउँपालिका-२ का पूर्ववडाध्यक्ष किशोर पाण्डे भन्छन्, “कतिले त ज्यान नै गुमाएका छन्, जनताको चीत्कार कसले सुन्ने?”
इलामका २१ वर्षीय सुशील पौडेल पछिल्ला उदाहरण हुन्। गत जेठ २८ गते कटहरी-२ स्थित गोपाल फन पार्कअगाडिबाट पौडेल साइकल चढेर गन्तव्यतर्फ जाँदै थिए। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रकले साइकललाई ठक्कर दियो। उपचारका क्रममा विराटनगरस्थित कोसी अस्पतालमा उनको मृत्यु भयो।

ट्राफिक प्रहरीले राखेको मोरङ जिल्लाको दुर्घटनाको अभिलेख।
पछिल्लो २८ महिनामा मात्र संघिया खोलादेखि नयाँबजारअगाडिको जुडी खोलाको पुलसम्मको छोटो दूरीमा मात्रै १४ जनाले ज्यान गुमाइसकेका छन्। १३९ जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने सडकको दुरवस्था नै दुर्घटनाको मुख्य कारक रहेको बताउँछन्। “धेरै खाल्डाखुल्डी भएकाले सवारीसाधन अनियन्त्रित भएर दुर्घटनामा पर्छन्,” उनी भन्छन्।
यो क्षेत्र औद्योगिक करिडोर भएकाले दैनिक सयौँ मालवाहक सवारीसाधन यही बाटो भएर ओहोरदोहोर गर्छन्। तर, जीर्ण सडकले ती सवारीसाधनलाई समेत जोखिममा पारेको छ। “गाडी नपल्टिएको दिनै हुँदैन,” कटहरी-२ का सुवास यादव आक्रोश पोख्छन्।