काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

अनुभूति

सोचेँ, साथमा कोही नहुँदा पनि कोही न कोही त हुन्छ। आफूसँग केही नहुँदा पनि केही न केही त अवश्य हुन्छ।

६ मंसिर २०८२
अ+
अ-

‘कस्तो छ तयारी?’

कक्षाकोठाबाट निस्किएर स्कुलको मूल गेटतर्फ लम्किँदै गर्दा खेमराज सरको आवाज कानमा पर्‍यो। सरस्वती मन्दिरलाई पछाडि पारेर फरक्क फर्किएँ। अफिसबाट निस्कनुभएका सरनजिक पुगेँ र नमस्कार गरेँ।

‘बोल्ने विषय तत्कालै दिने कुरा छ। खोइ सर, कतिसम्म बोल्न सकिन्छ? अलिअलि डर त लागिराछ,’ आपसमा रफ्तारमा चलिरहेका दुवै हातका औँलाले पनि त्यसको छनक दिइरहेकै थिए। अलिकति उठेको टाउको फेरि निहुरियो। नजर परिहाल्यो, खुट्टाका बुढी औँला नाचेर पायल चप्पलबाट फुत्किन खोजिरहेका थिए।

खेमराज सर मलाई अक्षर चिनाउनेमध्ये एक हुनुहुन्छ। त्यसमाथि कान्छा मामाको जिग्री साथी पनि। पढाउने सर भएपछि अगाडि पर्दा डर लाग्नु स्वाभाविक थियो। त्यसमाथि घरसम्म कुनै गुनासो पुग्छ कि भन्ने चिन्ता र दकसले पनि सहजै खुल्न सक्ने अवस्था थिएन।

‘बोल्दा हतार गर्ने बानी छ। आवाज प्रस्ट नबुझिन सक्छ, नहडबडाईकन बोल्नू। आत्तिनु पर्दैन, सबै ठीक हुन्छ,’ सर यत्तिमै रोकिनुभएन, ‘जित्नैपर्छ भन्ने नसोच। झन् भारी थपिन्छ। डरले हातखुट्टा बेस्मारी काँप्छ। सकेसम्म राम्रो गर्ने कोसिस गर्नू, नजिते पनि अनुभव त हुन्छ नै।’

स्कुलको प्रतिनिधित्व गरेर जाँदै थिएँ। इज्जत आफ्नोभन्दा पनि स्कुलको जोगाउने दबाब थियो। सरका यी बात सुनेपछि शीतल महसुस भयो। हातखुट्टाको रफ्तार कम त भयो, तर त्यहीँ अडिनुभन्दा बाटो लाग्नु उचित ठानेँ। ‘हुन्छ सर’ भन्ने मात्रै हिम्मत जुट्यो।

गोडा लम्काउन खोजेँ। यत्तिकैमा काँधमा हात राख्दै सरले फेरि भन्नुभयो, ‘भाडा ल्याएका छौ त? नत्र लैजाऊ है।’

आफ्नोपन जताउन काँधमा राखिएका सरका हात कुनै गह्रुँगो भारीजस्तो लागे। दाहिने हात गाढा नीलो पाइन्टको गोजीमा घुसारेँ। घरबाट निस्कने बेला बुवासँग मागेर ल्याएको २० र १० का दुई नोट मुसारेँ। जवाफ पनि आइहाल्यो। फर्काएँ, ‘छ सर।’

रेडियोमा नाम मात्रै प्रसारण हुँदा पनि युद्धै जितेजस्तो अनुभव हुने। साथीभाइको बीचमा र गाउँमा समेत चर्चा हुन्थ्यो। त्यसमाथि मैले र भाइले पनि एकपछि अर्को पुरस्कार नै जित्न थालेपछि सहभागिताका लागि बुवाआमाबाट पनि मौन स्वीकृति मिल्दै गयो।

‘एक्लै जान त सक्छौ नि?’

‘सक्छु सर।’

अब हामीबीचमा संवाद हुनुपर्ने कुरा सकिएझैँ लाग्यो। डरैडरको बीचमा रहनुभन्दा निस्कनु उत्तम पनि मानेको हुँ खासमा।

‘अब जान्छु सर।’

‘ल हुन्छ। राम्रोसँग पुग्नू। राम्रो गर्नू। शुभकामना!’ काँधमा रहेका सरका हात उठे। दुई-तीनपटक थपथपाउनुभयो। सायद अब जानू भन्ने संकेत बुझेर केही नबोली फटाफट गेटतर्फ हान्निएँ।

स्कुलको ड्रेसमै थिएँ। अकासे नीलो रङको सर्ट र गाढा नीलो रङको पाइन्ट। जुत्ता लगाउने चलन आइसकेको थिएन। पायल चप्पल पड्काउँदै वीरेन्द्रनगर चोकतिर अघि बढेँ, जहाँ नारायणघाटसम्म पुग्ने छहारी (मिनीबस) लाग्थ्यो। संयोग भनौँ, लोथरबाट भण्डारा हुँदै आउने छहारी बस त्यसदिन मलाई नै लिन आएजसरी बाटोपारि किनारमा ठिंग उभिएको थियो। ‘जाने हो’ भन्दै पारिबाटै सहचालक (परिचालक)ले हातले संकेत गरे। हातै उठाएर मैले पनि रोक्ने इसारा गरेँ। बसको ढोका सामुन्नेकै सिट खाली रहेछ, बसेँ।

०००

वीरेन्द्रनगर चोकमा राजमार्गभन्दा माथिल्लो क्षेत्रमा मात्र सानोतिनो बजार थियो। एकाध किराना, होटल, फेन्सी, पुस्तक र औषधि पसल। स्कुल र क्याम्पस पनि बजार सकिनेबित्तिकै थिए। अहिले त बजारको आकार फैलिएको छ। स्कुलले लहरै सटर थापिदिएपछि पसलको संख्या बढ्न पुगेको हो। यहाँबाट मेरो घर पुग्न तीन किलोमिटर छिचोल्नुपर्छ। गाउँको नाम सिक्स ग्रुप। घरबाट अझै दुई किलोमिटर हिँडेपछि कोराक पुगिन्छ। यो पहिले गाविस थियो। चेपाङको बाहुल्य रहेको सिंगो गाविसलाई नै अहिले राप्ती नगरपालिकाको वडा १० तोकिएको छ। वीरेन्द्रनगर चोकबाट उकालो लागेपछि पम्पाखोलामा दुईतीन स्थानमा पक्की पुल, खहरेसम्म कालोपत्रे सडक र चिप्लेटीमा सानोतिनो बजार पनि बनिसकेको छ। तर, २०/२१ वर्षअघि नुन–तेलका लागि होस् या औषधिमुलो गर्न, पैदलै डोलामा बिरामी राखेर राजमार्गसँग जोडिएको यही बजार ल्याउनुको विकल्प थिएन। अहिले गम्दा लाग्छ– उतिबेलाको गाउँको कत्ला फेरिइसकेको छ।

जता बजार, उतै मानिसको चहलपहल हुने नै भयो। सहचालकको नजर पनि अघि भर्खरै म आएको बाटोतर्फै थियो। तर, चोकबाट दक्षिणतर्फ कुनै पनि चालक र सहचालकको ध्यान जाँदैनथ्यो। झन्डै ३०० मिटरको दूरीमा पम्पा खोला रहेकाले होला, उक्त क्षेत्रमा अपेक्षित बस्ती अझै विस्तार हुन सकेको छैन।

केहीबेरमा बस गुड्न थाल्यो। बसमा को चढ्यो, ओर्लियो ख्याल गरिनँ। बसको झ्यालमा कुहिनो, हातमा चिउँडो र नजर भने बाहिर। हावाले अनुहारमा मुक्का बजारिरहेकै थियो। मलाई भने चासो गन्तव्यको थियो, चिन्ता सहभागी हुने कार्यक्रमको। सिनर्जी एफएम चितवनको पहिलो रेडियो हो। यो सबै रस्साकस्सी उसैले आयोजना गर्न लागेको वक्तृत्वकला प्रतियोगितामा भाग लिन जान हुँदै थियो।

गाउँमा मनोरञ्जनको एक मात्र सर्वव्यापी साधन रेडियो थियो। टेलिभिजनको सहज पहुँच अझै पुगिसकेको थिएन। अधिकतम रेडियो सुन्ने लतले पत्राचार गरेर होस् या फोन सम्पर्क, विभिन्न कार्यक्रममा नियमित सहभागिता जनाउने अभिरुचि बढ्दै गएको थियो। विशेषगरी हाजिरीजवाफ, गीतसंगीत रोज्ने कार्यक्रम र समाचारमूलक सामग्रीमा बढी रुचि लाग्ने। रेडियोमा नाम मात्रै प्रसारण हुँदा पनि युद्धै जितेजस्तो अनुभव हुने। साथीभाइको बीचमा र गाउँमा समेत चर्चा हुन्थ्यो। त्यसमाथि मैले र भाइले पनि एकपछि अर्को पुरस्कार नै जित्न थालेपछि सहभागिताका लागि बुवाआमाबाट पनि मौन स्वीकृति मिल्दै गयो।

सुनाउन सकिने अनेक विवरण भए पनि विषयको कुनै टुंगो थिएन। गम्दै जाँदा बुवाले सुनाउनुभएको तत्कालीन राजा महेन्द्र र प्रेमबहादुर रानाको भेटको प्रसंग सम्झिएँ।

असोज २०६१ तिर हुनुपर्छ, सिनर्जी एफएमले आफ्नो वार्षिकोत्सवको अवसरमा गर्दै आएको महिनाव्यापी कार्यक्रममध्ये त्यो सालको पहिलो कार्यक्रम नै अन्तरस्कुल वक्तृत्वकला प्रतियोगिता थियो। स्कुलमा र बाल समूहहरूमा हुने यस्ता प्रतियोगिताको अनुभव र रेडियोमा बोल्न पाइने लालसाले पनि उक्त प्रतियोगितामा नाम टिपाएको थिएँ। नाम टिपाउनेमा संयोगवश हाम्रो स्कुलबाट म मात्रै रहेछु। पछि स्कुलले पनि स्वीकृति दिएपछि भाग लिने निश्चित भएको थियो।

‘ए माइला! कता हिँडेको?’ गुडिरहेको बसबाट राजमार्ग किनारको संसार हेर्न मस्त म अचानक झस्किएँ। बोलाउने काइँलीआमा हुनुहुँदो रहेछ। खास नाम उमा गुरुङ, त्यो पनि धेरै वर्षपछि मात्रै थाहा पाएको थिएँ। हाम्रो र उहाँको घरका बीचमा एउटा मात्रै घर थियो, त्यो पनि उहाँकै देवरको। टोलका सात घरले पानी पिउने पँधेरो एकै थियो, त्यो पनि उहाँकै घरको सामुन्नेमा।

‘ए काइँलीआमा पो हुनुहुँदो रहेछ, मैले त कसले बोलायो होला भन्ठानेको,’ क्याबिनमा बस्नुभएको उहाँतर्फै फर्किएर जवाफ दिएँ, ‘भरतपुर जान लागेको। त्यहाँ एउटा कार्यक्रम छ। भाग लिन स्कुलले पठाएको।’

‘दिदीबहिनी भएर हिँड्नुभएको रहेछ, हजुरहरू चाहिँ बजार गर्न कि अरूतिरै जान लाग्नुभएको?’ कौतूहल मिसिएको आवाजमा प्रश्न तेर्स्याएँ। साइतको कसैलाई पनि ‘कहाँ जान लागेको’ भनेर सोध्नु हुँदैन भन्नुहुन्थ्यो हजुरआमा। त्यही सम्झिएर उहाँलाई सोझै प्रश्न गर्ने आँट आएनँ।

‘तमासपुर जान लागेको, माइला।’

तमासपुर उहाँहरूको माइत थियो। पल्टनबाट फर्किएका गुरुङहरूको बाहुल्य रहेको उक्त गाउँ पूर्वी नवलपरासीस्थित अरुण खोलाबाट दक्षिण लागेपछि नारायणी नदी नपुग्दै आइपुग्छ।  आफन्तहरूको खोजी गर्दै हाम्रो गाउँका पनि धेरै गुरुङ परिवार उतै बसाइँ सरिसकेका थिए।

दिदीबहिनी आपसमा गफिन थालेपछि म पनि झ्यालबाहिरै नजर डुलाउन थालेँ। सिमलटाँडी कटेर बस मगनीचोकतर्फ लम्किँदै थियो। आफ्नै गाउँको बारेमा बोल्ने विषय दिए कति सजिलो हुन्थ्यो होला? मनमा लड्डु फुट्यो। राप्ती दुन परियोजनादेखि यहाँ भएको बस्ती विकास, सामाजिक, आर्थिक तथा राजनीतिक परिवर्तनका कति किस्साहरू बुवाले सुनाउनुभएको सम्झना जो थियो। दुईतीन हप्तासम्म उतै बसेर राप्तीपारि खर काट्न गएका, जनावरसँग जम्काभेट भएका घटना हजुरआमा र आमाका मुखबाट पनि सुनेकै हो। सुनाउन सकिने अनेक विवरण भए पनि विषयको कुनै टुंगो थिएन। गम्दै जाँदा बुवाले सुनाउनुभएको तत्कालीन राजा महेन्द्र र प्रेमबहादुर रानाको भेटको प्रसंग सम्झिएँ।

२०१७ सालमा राजा महेन्द्रले बीपी कोइरालाको नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्थ गरे र शासनसत्ता हातमा लिए। बस्ने एउटा दरबार दियालो बंगला भएकाले पनि त्यसयता राजा महेन्द्र पटक पटक चितवन आइरहन्थे। २०२० सालमा महेन्द्रको सवारी भरतपुरबाट भण्डारातर्फ जाँदै थियो। खुरखुरे पुग्दा प्रेमबहादुर राना बाटो छेक्दै राजालाई बिन्ती गर्न लागे। तत्कालै रानालाई सुरक्षाकर्मीले पन्छाए पनि भण्डारा पुगेर राजाले पुनः रानालाई बोलाउन अह्राए।

वीरेन्द्रनगरदेखि भरतपुरसम्मको दूरी २२ किलोमिटर छ। त्यतिबेला बसभाडा २० रुपैयाँ थियो। विद्यार्थीहरूलाई २५ प्रतिशत छुट दिनुपर्ने नियम, तर छुट दिन बस व्यवसायीहरू आनाकानी गर्थे।

‘तिमीलाई के समस्या पर्‍यो र मेरो सवारी रोक्न आइपुग्यौ?’

‘सरकार दुई वर्षअघि हजुरकै आदेशमा म्याग्दी, पर्वत, कास्की, स्याङ्जा र तनहुँबाट धेरै भूपू सैनिक दाजुभाइ, दिदीबहिनी यहाँको राप्तीपारि कुचकुचेको जंगलमा बसाइँ सर्‍यौँ। अब निकुञ्ज बन्ने कुरा हुँदै छ। वन्यजन्तुको त्रास त छँदै छ। हाम्रो त बिचल्ली हुने भयो। बडहरामा बस्नलाई सरकारले आदेश दिनुपर्‍यो।’

‘परिवारमा कति जना छौ?’

‘३०० घरधुरी सरकार !’

‘तिम्रो आफ्नो परिवारको मात्रै कुरा गर न।’

‘यो सबै मेरै परिवार हो, सरकार।’

राजा महेन्द्र र रानाको संवाद सुनिरहेका तत्कालीन युवराज वीरेन्द्रले बुवालाई हुन्छ भन्ने आदेश दिन संकेत गरे। सोहीअनुसार महेन्द्रले आदेश पनि दिए। तत्कालीन बडहरा गाउँ पञ्चायतको उत्तरपट्टिको घना जंगललाई वान ग्रुप, टु ग्रुप हुँदै नाइन ग्रुपसम्म विभाजन गरी भूपू सैनिकहरूको बस्ती बसाइयो। २०३१ सालमा जग्गा किनेपछि परिवारै लिएर हजुरआमा पनि बागलुङबाट यहीँ आउनुभयो, गाउँ थियो– सिक्स ग्रुप। भूपू सैनिकहरू आएर बसेकाले हाम्रो गाउँलाई सैनिक पनि भन्थे। यो बस्ती बस्नुमा युवराज वीरेन्द्रको देन रहेको भन्दै ठाउँको नामै वीरेन्द्रनगर राखिएको हो।

०००

‘भाइ, कहाँसम्म पुग्ने हो? ल भाडा दिनुस् त,’ गाउँको स्मृतिमा हराइरहेको म सहचालकको आवाजपछि ब्युँझिएजस्तो भएँ। पर्सा, टाँडी कटेर बस टिकौली जंगलको मुखैमा पुगेको रहेछ। गोजीमा खुला पैसा थिएन। २० रुपैयाँको नोट झिकेर दिएँ। पैसा लिएर पछाडि लागेका उनले एकछिनमा दिन्छु है सम्म पनि भनेनन्। सिटको पुछारसम्म पुगेर फर्किएर फेरि ढोकामै उभिए, तर फिर्ता गर्ने सुरसार देखाएनन्।

‘दाइ, खोइ त मेरो फिर्ता?’

‘केको फिर्ता? भरतपुरको भाडै २० रुपैयाँ त हो।’

वीरेन्द्रनगरदेखि भरतपुरसम्मको दूरी २२ किलोमिटर छ। त्यतिबेला बसभाडा २० रुपैयाँ थियो। विद्यार्थीहरूलाई २५ प्रतिशत छुट दिनुपर्ने नियम, तर छुट दिन बस व्यवसायीहरू आनाकानी गर्थे। विद्यार्थीहरूले छुट नपाएको भन्दै आन्दोलन गरेका समाचार पनि रेडियोमा सुनिन्थ्यो।

परिस्थितिले मान्छेलाई धारिलो बनाउने रहेछ। गोजीको १० रुपैयाँ मुसारेँ। जसरी गोजीमा नोट एक्लो भएको थियो, म आफूलाई पनि निरीह महसुस गर्न थालेँ।

‘त्यो त हो कि, तर म त विद्यार्थी हो नि। त्यसमाथि ड्रेसमै छु। छुट त दिनुपर्‍यो नि!’ फेरि आफ्नो माग तेर्स्याएँ।

‘छुटसुट छैन। कोही विद्यार्थी भन्छन्, कोही अपांग भन्छन्, कोही बूढाबूढी भन्छन्, ककसलाई दिने हो छुट? गाडीमा चढ्नेजतिलाई छुट दिएर हामी कंगाल हुने हो र?’ टिमुर्किएको सहचालक देख्दा बरु उतिसारो रिस उठेन। यदि उसले फिर्ता दिएन भने फर्किने कसरी? एकातिर कार्यक्रमको चिन्ता छँदै छ, अब भाडाको थपिएको थियो। मनमा ढ्यांग्रो बज्न थाल्यो।

‘ओ भाइ, खुरुक्क त्यो फिर्ता देऊ त,’ मेरो मनमा चलेको हावाहुन्डरी बुझेझैँ गरी काइँलीआमाले उसलाई ठूलो स्वर गर्नुभयो, ‘कतिले अफिसको कार्ड देखाएर त छुट लिइरहेका हुन्छन्। ऊ त स्कुल ड्रेसमै छ। उसले किन नपाउने? के सानो देखेर हेपेको?’

त्यसपछि ऊ केही बोलेन। यत्रोबेर एकपछि अर्को जवाफ फर्काएको ऊ चुपचाप लागेको देखेपछि आफू सानो हुनुमा पहिलोपल्ट पछुतो लाग्यो। अलि ठूलो कदको शरीर भइदिएको भए सायद उसले यतिसम्म गर्दैनथ्यो कि! जे भए पनि अहिलेलाई चिन्ता उही पाँच रुपैयाँकै थियो।

‘दाइ, विद्यार्थी भएपछि त हामीले पाउनुपर्‍यो नि!’ काइँलीआमाको कडक स्वर सुनेपछि ममा पनि केही जोस भरियो, ‘सरकारले तपाईंहरूसँग सम्झौतै गरेको छ त। तपाईंहरूले पनि दिन्छौँ भनेरै साइन गर्नुभएकै हो। दिनुस् मेरो ५ रुपैयाँ।’

अरूबेला यतिसम्म बोल्नसक्ने आँट भएको मान्छे थिइनँ म। त्यसमाथि एक्लै यति परसम्मको यात्रा गर्नैपरेको थिएन। तर, परिस्थितिले मान्छेलाई धारिलो बनाउने रहेछ। गोजीको १० रुपैयाँ मुसारेँ। जसरी गोजीमा नोट एक्लो भएको थियो, म आफूलाई पनि निरीह महसुस गर्न थालेँ। अब कसरी फर्किने होला भन्ने विषयले मात्रै घेर्न थाल्यो। मिलनचोकबाट बस बसपार्कतर्फ मोडियो। अब गन्तव्य धेरै पर थिएन। घरीघरी बाटो नसकिए हुन्थ्यो जस्तो पनि भयो। फेरि पनि आँट गरेर मागेँ, तर ऊ सुन्या नसुन्यै गरेर बसपार्कमा ओर्लियो। यात्रुका सामान झार्न थाल्यो। यता मेरो भने मुटु झर्ला जस्तो गरी भुटभुट गरिरहेको थियो।

के गर्ने, कसो गर्ने केही सोच्नै सकिनँ। एक मनले जे पर्ला पर्ला भन्ने पनि नसोचेको होइन। ‘१० रुपैयाँ मात्रै छ, बाँकी पैसा हराएछ भन्यो भने कसो नलगिदेला र एउटा न एउटा बसले त,’ अलिकति आशा जगाएँ। अर्को मनले काइँलीआमासँग मागुम् कि भन्ने पनि भयो। जाबो टुपुक्क भाडा मात्रै दिएर पनि पठाउने हो त भनेर बुवाआमालाई गाली गर्नुभयो भने झन् नमजा हुन्छ भन्ने लाग्यो। चौबीसकोठीमा रोकिएको बस अघि बढ्यो।

‘ल क्याम्पस गेट झर्ने अगाडि आउनुस् है,’ सहचालक चिच्यायो। अगाडि नै थिएँ। बस रोकिएपछि आफ्नो सिटबाट उठे भइहाल्थ्यो। यात्रु कोचाकोच थिए। पछाडि रहेकाहरू क्रमशः ढोकातर्फ अगाडि बढिरहेका थिए। जसै बस रोकियो, झरेँ र फेरि पैसा मागेँ। ऊ भने सुन्या नसुन्यैझैँ गरेर सामान झार्न बसको हुटमा चढ्यो। पिँधमा रहेको चिम्टीभरको आशा पनि निथ्रियो। बाटो काटेँ। सिनर्जी एफएम पुग्दासम्म त्यही पाँच रुपैयाँ मात्रै दिमागमा नाचिरह्यो।

झ्याल खुला थियो। हावा वेगसँग बसभित्र छिरेकै थियो तर शीतल। अघिसम्म पोलेको मन क्रमशः चिसिँदै थियो। शान्तिको लामो श्वास फेरेँ। सोचेँ, साथमा कोही नहुँदा पनि कोही न कोही त हुन्छ।

पहिलो तलामा थियो, एफएम। पुगेर पानी पिएँ। रिसेप्सनआडैमा रहेको प्रतीक्षाकक्षमा केही नौला अनुहार यसअघि नै आइपुगेका रहेछन्। बोल्ने हिम्मत आएन। मुन्टो निहुर्‍याएर छेउपट्टि बसेँ। वरपर गर्नेहरूको आवाज प्रस्टै बुझिन्थ्यो र रेडियोमा सुनिरहेजस्तो लाग्थ्यो। बोल्ने आँट भने आएन। केहीबेर कुरेपछि कार्यक्रम सुरु भयो। पहिलो पालो मेरै आयो। सुरज दाइले नाम बोलाउनुभयो। सधैँ सुनिरहेको आवाज, दाइलाई प्रत्यक्ष भेट्दा दकस लाग्नु स्वाभाविक थियो। नमस्कार गर्नुबाहेक अरू औपचारिकता निभाउन ध्यान गएन।

‘लागुपदार्थ दुर्व्यसनमा युवा’ विषय भागमा पर्‍यो। सुनिरहेकै विषयवस्तु भए पनि दिमाग एकत्रित हुन सकिरहेको थिएन। तथ्य-तथ्यांकको उतिसारो सम्झना पनि भएन। पाएको पाँच मिनेट समय जसोतसो पार लगाएँ। के बोलेँ आफैँलाई हेक्का भएन। ओहो! यो कुरा त बोल्नै छुटाएछु भन्ने पनि केही थिएन। जितिन्छ भन्ने आश पनि रहेन। अब बसेर पो के भयो र? लगत्तै बाटो लागेँ।

केहीबेरको कुराइपछि छहारी आइपुग्यो। क्याम्पस गेटबाट चढ्ने अरू पनि मान्छे रहेकाले सहचालकसँग मसँग यति मात्रै पैसा छ भन्ने आँट पनि आएन। घर जानु थियो नै। जे पर्छ पर्छ भनेर बसभित्र छिरेँ। पछाडिपट्टिको सिटमा बसेँ। अनिश्चितताको यो यात्रा कहाँ पुगेर टुंगिने हो, हेक्का थिएन। दिन ढल्ने क्रममा रहेकाले भोकको पारो पनि बढ्दै थियो। उखरमाउलो गर्मीमा यात्रुको चाप, केहीबेरमा भुसुक्क निदाएछु।

गोन्द्राङ काटेसँगै सुरु भयो, टिकौली जंगल। परैबाट सुनियो भाडा तयार पार्ने सहचालकको उर्दी। कहाँ जाने नभनी १० रुपैयाँ दिएँ। उसले पनि केही प्रतिक्रिया जनाएन। सोच्यो होला टाँडीसम्म पुग्ने हो।

झ्याल खुला थियो। हावा वेगसँग बसभित्र छिरेकै थियो तर शीतल। अघिसम्म पोलेको मन क्रमशः चिसिँदै थियो। शान्तिको लामो श्वास फेरेँ। सोचेँ, साथमा कोही नहुँदा पनि कोही न कोही त हुन्छ। आफूसँग केही नहुँदा पनि केही न केही त अवश्य हुन्छ।