आदिवासी जीवन
कैयापो समुदायले आफ्नो शरीरमा बनाउने फरक फरक चित्रमा झल्किन्छन्– आत्मपहिचान, इतिहास र सामाजिक सम्बन्ध
बेलेम, ब्राजिल। विशाल अमेजनका कैयौँ आदिवासी समुदायमध्येको एक हो- कैयापो। बेग्लै भाषा, विशेष उत्सव र अनुहारको सजावटका लागि बाँदरको आकृति देखिने मुकुट लगाउने उनीहरूलाई बाह्य समुदायले कैयापो भने पनि उनीहरू स्वयं भने आफूलाई ‘मेबिनगोक्री’ भनेर चिनाउँछन्। ठ्याक्कै नेपाली रूपान्तरण नभेटिए पनि मेबिनगोक्री भनेको ‘पानीको मुहानका मानिसहरू’ भन्ने अर्थ लाग्छ।
विश्वकै ठूलो अमेजन वर्षा वनको संरक्षणमा कैयापो समुदायको महत्त्वपूर्ण भूमिका छ। करिब नौ हजार जनसंख्या रहेको यो समुदाय अमेजनका जंगल, खोलामा नै आश्रित भई सिकार खेलेर, खेतीपाती गरेर, माछा मारेर जीवनयापन गर्छन्।
यही कैयापो समुदायका केही व्यक्ति यतिबेला ब्राजिलको बेलेम सहरमा भइरहेको जलवायु सम्मेलन कप ३० मा आइपुगेका छन्। उनीहरू आदिवासी अधिकार, आफ्नो भूमिको अधिकार, अमेजन जंगल र खोलाको संरक्षणको आवाज उठाउन र आफ्नो समुदायका बारेमा विश्वलाई बताउन आइपुगेका छन्। यहाँ उनीहरू परम्परागत रूपमा प्रयोग गर्दै आएको हातैले बनाइएका सामानहरू पनि बिक्री गरिरहेका छन्।

हातैले बनाएका सामग्री बेच्न बसेकी कैयापो महिला। तस्बिर : दुर्गा राना मगर
कप ३० को सम्मेलनस्थल दुईवटा भागमा विभाजित छ। एउटा ब्लु जोन र अर्को ग्रिन जोन। ब्लु जोनमा सहभागी हुन सबैले पाउँदैनन्। ग्रिन जोनमा सबै जान सक्छन्। यही ग्रिन जोनभित्र कैयापो समुदायले आफ्नो सांस्कृतिक पहिचानसहितका हातबाट बुनेका सामग्री बेचिरहेको भेटिन्छ। जस्तो- कानमा लगाउने झुम्का, माला आदि।
अर्को ध्यानाकर्षक विषय चाहिँ उनीहरू कपमा सहभागी हुन आएकाहरूको शरीरमा चित्र पनि कुँदिरहेका हुन्छन्। ती चित्रहरू सामान्य भने होइनन्। तिनका हरेक धर्साहरूका बेग्लै कथा छन्।

कैयापो समुदायका महिला। उनीहरूले आफ्नो रीतअनुसार शरीरमा विभिन्न भागमा चित्र कोरेका छन्। तस्बिर : दुर्गा राना मगर
कैयापो समुदायमा प्रत्येक पुरुष र महिला दुवैले दिन, समय हेरेर फरक फरक दिन तथा उद्देश्यका लागि फरक फरक चित्रहरू कोर्छन्। यो उनीहरूको सदियौँदेखिको परम्परा हो।
तियो कैयापो आफ्ना हजुरबुवादेखि बुवासम्मले सिकार खेल्न जाने दिन एकथरी, बाहिर निस्किएको दिन अर्कोथरी गरी थुप्रै किसिमका चित्रहरू आफ्नो शरीरमा बनाउने गरेको बताउँछन्।

तियो कैयापो। तस्बिर : दुर्गा राना मगर
कपमा सहभागी भएकाहरूलाई आफ्नो संस्कृति देखाउन साथै आर्थिक उपार्जनसमेत हुने भएकाले कैयापो समुदाय ठूलो समूहमा सम्मेलनस्थल आएको हो। ब्राजिलियन सरकारले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी)मा दर्ता भएकाहरूका लागि मात्र प्रयोग गर्न दिइने गाडी कैयापो समुदायलाई पनि प्रयोग गर्ने छुट दिएको छ।
अमेजनमा नै सम्मेलन गरेपछि त्यहीँका आदिवासीलाई अलग्याउन मिल्दैनथ्यो। अर्कातर्फ कैयापो समुदायका प्रमुख राओनी मेतुकतिरेप्रतिको ब्राजिल सरकारको सम्मान र पुरानो सम्बन्धका कारण पनि कैयापोले विशेष सुविधा पाएका हुन्।
युवा अवस्थादेखि नै अमेजन संरक्षणका लागि नै विश्वभर ख्याति कमाएका राओनी कैयापो समुदायका नेता हुन्। उनी ९३ वर्ष पुगिसकेका छन्। राओनीले समुदायप्रति गरेका कामका कारण उनलाई कैयापोले विशेष सम्मान दिँदै आएको छ। कपमा आएका कैयापोहरूले सम्मेलनस्थलभित्र प्रवेश पाउनुको एउटा मुख्य कारण पनि राओनी नै भएको बताइन्छ।

ब्राजिलका राष्ट्रपति लुला डी सिल्भासँग कैयापो समुदायका नेता राओनी। तस्बिर सौजन्य : रिकार्डो स्टुकर्ट
कैयापोको पहिचान नै चित्र हो। ती चित्रमा प्रकृति मिसिएको छ। चित्रका लागि प्रयोग गरिने कालो रङ कैयापोहरूले परापूर्वदेखि प्राकृतिक रूपमा अमेजन जंगलमा पाइने पदार्थबाटै निकाल्दै आएका छन्। जेनिपाप नामको एक विशेष फलमा माटो मिसाएर कालो रङ तयार हुन्छ। कहिले चाहिँ कोइला, बिरुवाबाट रस, बीउ निकालेर रङ बनाइन्छ। त्यसबाहेक अरू रङ पनि कुनै न कुनै फल तथा अमेजनका वनस्पतिबाट बनाइन्छ। एकपटक लगाएको रङ १५ दिनसम्म रहन्छ।
उनीहरूले प्रत्येक दिन आफ्नो शरीरमा बनाउने फरक आकृतिहरूमा आत्मपहिचानदेखि, सांस्कृतिक इतिहास, सामाजिक सम्बन्ध झल्कन्छ।
कपमा ग्रिन जोनमा सामान बेचिरहेका तियोले चित्रले पारिवारिक सम्बन्ध, आफ्नो समुदाय, दायित्वलाई देखाउने बताए। छेवैमा उनकी श्रीमती गुगुतान पनि कपमा सहभागी हुन आएकाहरूले रोजेबमोजिम चित्र पाखुरामा कोर्दै थिइन्।

कपमा सहभागी हुन आएकी एक युवतीको हातमा चित्र कोरिरहेकी गुगुतान। तस्बिर : दुर्गा राना मगर
तियोले आफ्ना चार छोराछोरीलाई पनि यो कला सिकाएका छन्। विशेषगरी आफ्नै जीवनका चरणहरू जस्तै मातृत्व, जन्मदेखि कृषि, सिकार, उत्सवलगायत दैनिक व्यवहारका नामबाट यी चित्र कोरिन्छन्।
यी चित्रहरूमार्फत जीवन बाँच्ने तरिकालाई अमेजनका रक्षक कैयापोले पुस्तौँदेखि बचाइरहेका छन्।
– क्लाइमेट चेन्ज मिडिया पार्टनरसिपअन्तर्गत इन्टरन्युजको अर्थ जर्नालिज्म नेटवर्क र स्टान्ली सेन्टर फर पिस एन्ड सेक्युरिटीद्वारा आयोजित पत्रकारिता फेलोसिप कार्यक्रमको सहयोगमा तयार पारिएको रिपोर्ट।