काठमाडौँ
००:००:००
२४ मंसिर २०८२, बुधबार

४ मंसिर २०८२
अ+
अ-

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको आगामी दिनको महत्त्वपूर्ण कार्यभार भनेकै तोकिएकै मितिमा निर्वाचनलाई शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्नु रहेको बताएका छन्।

मन्त्रालयमा बिहीबार आयोजित आव ०८२/८३ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले आगामी निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गराउने गरी मन्त्रालयका सबै निकायका कर्मचारीलाई तयारी गर्न निर्देशन दिए।

जेन-जी आन्दोलनको भावना र मर्मअनुरूप सेवा प्रदायक निकायहरूले आफ्ना काम-कारबाही छिटो-छरितो बनाउने‚ कार्यप्रक्रिया सरलीकृत गर्ने‚ आफूले प्रवाह गर्ने सबै प्रकारका सेवा सम्भव भएसम्म विद्युतीय माध्यमबाट गर्ने व्यवस्था मिलाउने र अभिलेख व्यवस्थापन दुरुस्त राख्न पनि निर्देशन दिए।

“सरकारी काम-कारबाहीले गर्दा सेवाग्राहीलाई अनावश्यक झन्झट बेहोर्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी कार्य गर्नसमेत सबै मातहतका निकाय तथा अधिकारीहरूलाई निर्देश गर्दछु,’ उनले भने। मन्त्री अर्यालले आगामी निर्वाचनको वातावरण बनाउन र भौतिक स्रोत-साधनका लागि आवश्यक पर्ने बजेटका कार्यक्रम अर्थ मन्त्रालयबाट यस मन्त्रालयलाई सहजीकरण भएकामा धन्यवाद दिए।

समीक्षा क्रममा प्रधानमन्त्री कार्यालय, योजना आयोग, अर्थ र सङ्घीय मामिला मन्त्रालयले दिएका सुझावहरूलाई मन्त्रालय मनन गरेर कार्यन्वयनमा लैजाने कुरा पनि मन्त्री अर्यालले राखे। राजस्व चुहावट नियन्त्रणमा लिएको प्रयास अपर्याप्त भएको भन्दै मन्त्री अर्यालले त्यसतर्फ विशेष ध्यान दिन र आगामी चौमासिक प्रगति समीक्षामा देखिने गरि काम गर्न पनि निर्देश गरे।

कार्यक्रममा गृहसचिव रामेश्वर दंगालले मन्त्रालय यसअन्तर्गतका सबै निकायले सुशासन र पारदर्शितालाई मूल केन्द्रविन्दु बनाएर आफ्नो कार्य जिम्मवारी निर्वाह गर्न आदेश गरे। उनले सरकारको वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत र मन्त्रालयले निर्धारण गरेका कार्यक्रम प्राथमिकतामा राखेर काम गर्नसमेत निर्देशन दिए।

कार्यक्रममा सहसचिव तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीले मातहतका सबै निकायको समग्रमा प्रस्तुतीकरण दिँदै मन्त्रालयको वार्षिक कुल दुई खर्ब आठ अर्ब बजेटमा, चालु आवको पहिलो चौमासिकसम्ममा आइपुग्दा मन्त्रालयले चालु खर्चतर्फ २०.९२ प्रतिशत र पुँजीगततर्फ १०.६५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जानकारी दिए।