काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

बुवालाई बेपत्ता पारिएको २७ वर्ष भयो। आमा न ढुक्कले सिउँदोमा सिन्दुर लगाउन सक्नुहुन्छ, न सिन्दुर लगाएजस्तो गर्न सक्नुहुन्छ।

८ मंसिर २०८२
अ+
अ-

बर्दियाको राजीपुरमा ‘सानो परिवार, सुखी परिवार’ भनेझैँ हाम्रो परिवार थियो। बुवा, आमा, दाइ, बहिनी, भाइ र म। बुवा श्यामबहादुर थापा साधारण मान्छे, खेतीकिसानी गरेर घरव्यवहार चलाउनुहुन्थ्यो।

मलाई आज पनि याद छ, २३ साउन २०५५ को दिन रक्षाबन्धन परेको थियो। आमा बिहानै उठेर नुहाइधुवाइ गरी भान्सामा जानुभयो र सात प्रकारका तरकारी पकाउनुभयो। नुहाएर बुवा पनि तयार भएर बस्नुभएको थियो।

बुवा जनै फेरेर खाना खाई रम्मापुर जान तयार हुनुभयो। आमाले ‘आज पर्व हो नजानु, भोलि जानु’ भन्नुभएको थियो। तर, बुवा ‘काम धेरै छ’ भन्दै निस्कनुभयो। हातमा छाता बोकेर निस्किएको त्यो क्षण अहिले पनि झलझली आँखा वरिपरि आइरहन्छ।

छिमेकीलाई आमालाई छुटाउन सहयोग माग्न जाँदा आँगनमा नपुग्दै ‘तिमीहरू पनि माओवादी नै हौ, नआओ’ भनेर फर्काइदिन्थे। हामीसँग कोही बोल्दैनथे। सबै टाढिएर भाग्थे।

त्यतिबेला म १३ वर्षकी थिएँ।

बुवा घरबाट निस्किएको केही समयपछि आकाशमा हवाईजहाज उडिरहेको थियो। हामी हवाईजहाज हेर्न बाहिर निस्की रमाएर करायौँ पनि। तर, हामीलाई थाहा थिएन– त्यो हवाईजहाज हेर्नु हाम्रा लागि कति अशुभ थियो भन्ने।

२४ गते रम्मापुरमा माओवादीले नेपाली कांग्रेसका नेतालाई मारेका रहेछन्। जयनगरबाट बुवा बसेको घरमा गएर प्रहरीले माओवादी हो भन्दै पिट्दै लगेछन्। बुवाले सेतो गन्जी र कट्टु मात्र लगाउनुभएको थियो रे।

बेपत्ता पारिएका श्यामबहादुर थापा

बुवालाई लगेको अर्को दिन प्रहरी आएर घर खोजतलास गरी सबै सामान आँगनमा फालिदियो। आमालाई ‘तेरो श्रीमान् भागेर गयो, खोज्न हिँड्’ भनेर समातेर लग्यो। आमा पछिपछि बहिनी पनि गइन्। त्यतिखेर बहिनी ११ वर्षकी थिइन्। बहिनीलाई भने नजिकै काइँली काकीको घरमा छाडिदिएछन्।

आमालाई चौकीबाट छुटाउन धेरै गाह्रो भयो। छिमेकीलाई आमालाई छुटाउन सहयोग माग्न जाँदा आँगनमा नपुग्दै ‘तिमीहरू पनि माओवादी नै हौ, नआओ’ भनेर फर्काइदिन्थे। हामीसँग कोही बोल्दैनथे। सबै टाढिएर भाग्थे। हामी कसरी माओवादी भयौँ भनेर म सोचिरहन्थेँ।

हामीले बुवालाई खोज्नै सकेनौँ र खोज्नै पाएनौँ। साँझ के खाने र बिहान के खाने भयो।

आमालाई जसोतसो सात दिनपछि तारिखमा छुटायौँ। आमालाई खुट्टा र हातमा फलामको साङ्‌‌लाले बाँधेर पैतालामा बेसरी कुटेछन्। चौकीबाट आएपछि आमा सुत्नसमेत सक्नुभएन। रातभरि पैतालामा आगोले पोल्नुहुन्थ्यो। आमालाई अहिले पनि त्यतिबेलाको कुटाइले खुट्टा दुख्छ।

चेलीलाई दुःख पर्दा सबैभन्दा पहिले माइत जान्छन् भनेझैँ आमा पनि हामीलाई लिएर भुरीगाउँमा रहेको मामाघर पुग्नुभयो। १६ वर्षका दाइलाई पनि पक्रेर लैजान्छन् भन्ने डरले ठूलोबाबाको घर काठमाडौँ पठायौँ।

तर, हामी त्यहाँ बस्यौँ भने आर्मी-पुलिस आएर सताउँछन् भनेर मावल पनि बस्न पाइएन। त्यतिखेर धेरै दुःख लाग्यो। अब कहाँ गएर बस्ने? के खाने?

बुवाका एक जना साथी हुनुहुन्थ्यो, परिवार सबै बुटवल बस्ने। उहाँले भुरीगाउँमा रहेको आफ्नो घरमा हामीलाई बस्न भन्नुभयो। घरको कमाउने मूल खम्बा बेपत्ता भएपछि आमालाई साह्रै गाह्रो भयो। आमालाई फेरि पनि लग्छन् कि, कतिखेर के हुन्छ भनेर पीरले सताइरहन्थ्यो। आमाले जंगलबाट दाउरा ल्याई बेच्न थाल्नुभयो। २० रुपैयाँ भारी दाउराले साँझ-बिहान छाक टार्न धौ धौ हुन्थ्यो।

हामीले बुवालाई खोज्नै सकेनौँ र खोज्नै पाएनौँ। साँझ के खाने र बिहान के खाने भयो।

बुवाको चिन्ता, पुलिसको पिटाइ र घरव्यवहारले आमा कमजोर बन्दै जानुभयो। हिम्मत भने हार्नुभएन। आफ्नो दुःख लुकाएर, आफ्नो पेट भोको राखेर हाम्रो पेट भर्नुभयो।

हाम्रो दुःख देखेर मामाले आमालाई ७०० रुपैयाँ दिएर बजारमा चियानास्ता पसल गर्न भन्नुभयो। आमाले बजारको घुम्तीमा चिया बनाउन थाल्नुभयो र पसल पसलमा गएर चिया बेच्न थाल्नुभयो।

बुवा बेपत्ता भएपछि मेरो पढाइ पनि रोकियो। तर, कान्छा मामाले भाइलाई पढाउँछु भनेर घरमा लग्नुभयो।

बुवाकी प्यारी छोरी मलाई बुवाले ‘छोरी होइन, छोरा हो’ भन्नुहुन्थ्यो। ‘हामीलाई पाल्ने तैँले नै हो’ भन्नुहुन्थ्यो।

के हाम्रा बुवाको स्वतन्त्र रूपमा बाँच्न पाउने हक थिएन? के हामीलाई हाम्रो मान्छे कहाँ, कस्तो अवस्थामा छन् भनी सोध्न पाउने अधिकार छैन? मेरी आमा र हामी सन्तानको खुसी खोस्ने अधिकार राज्यलाई कसले दियो?

समाज र आफन्तले हामीलाई माओवादी भनेर बोलाउँथे। हेला गर्थे। कतै काम खोज्यो, कति पढेको छ भनेर सोध्थे। कामकै लागि पछि पढेँ। जसोतसो १२ कक्षा पास गरेँ। बुवा नभएका छोराछोरीलाई हेर्ने नजर नै फरक पर्ने रहेछ।

उमेर बढ्दै गयो। जिम्मेवारी पनि बढ्दै गयो। पढाइतिर ध्यान जान छाड्‌यो। आफ्ना इच्छा- चाहनाहरू दबाएर परिवारको खुसी खोज्न थालेँ। मेरो इच्छा-चाहनाहरू कहिले पनि अनुभव गर्न पाइनँ।

मलाई केही गुनासो छैन। मैले जे भोगेँ, जे गुमाएँ, त्यो सबै परिवारको खुसीका लागि थियो। तिनै भोगाइबाट धेरै कुरा सिकेकी छु।

अहिले बुवाको सबै जिम्मेवारी मैले लिनुपरेको छ।

पंक्तिकार सरिता थापा

बुवालाई बेपत्ता पारिएको २७ वर्ष भयो। आमा न ढुक्कले सिउँदोमा सिन्दुर लगाउन सक्नुहुन्छ, न सिन्दुर लगाएजस्तो गर्न सक्नुहुन्छ। अझै बुवा पर्खेर बस्नुभएको छ। हामी छोराछोरी अझै बुवा आउनुहुन्छ कि भन्ने आसमै छौँ।

‘तेरा बुवालाई मारिसके, काजकिरिया गर्’ भनेर आफन्तले दबाब दिइरहन्छन्। परिवारमा कोही बिरामी भयो भने ‘तिमीहरूको बुवाको काजकिरिया नगरेकाले कुल बिग्रियो र हामी बिरामी भयौँ’ भन्छन्।

बुवा मात्र होइन, अहिले त दाइ पनि हामीबाट हराउनुभएको छ। ऋषिकेश जाँदै छु भनेर अन्तिमपटक २०७२ सालमा घरमा फोन गर्नुभएको दाइ त्यसपछि सम्पर्कमा हुनुहुन्न। भाउजूकै परिवारले खोजतलास गरे पनि नभेटिएको भनेपछि हामीले पनि केही गर्न सकेनौँ। भाउजू अहिले पनि दुई छोरी र एक छोरा लिएर उतै सिमला हो या कता हुनुहुन्छ। कुराकानी पनि हुँदैन। बुबापछि दाजु पनि त्यस्तो हुँदा हामीलाई चोटमाथि चोट थपिएको छ। झन् आमालाई के बितेको होला।

भाइ भने काम गर्न विदेश गएको छ। बेपत्ता परिवारले पाउने राहतस्वरूप अहिलेसम्म हामीले १० लाख रुपैयाँ पाएका छौँ। पहिलोपटक पाँच लाख रुपैयाँ पाएपछि त्यसैले भुरीगाउँमै सानो घर बनाएका छौँ।

के हाम्रा बुवाको स्वतन्त्र रूपमा बाँच्न पाउने हक थिएन? के हामीलाई हाम्रो मान्छे कहाँ, कस्तो अवस्थामा छन् भनी सोध्न पाउने अधिकार छैन? मेरी आमा र हामी सन्तानको खुसी खोस्ने अधिकार राज्यलाई कसले दियो? मेरी आमा सधवा कि विधवा? हामीले भोगेको दर्दनाक पीडाको क्षतिपूर्ति कसले दिने? मैले फेरि बुवा भन्न पाउँछु कि पाउँदिनँ?

के दिनप्रतिदिन रोग र शोकले गल्दै गएकी मेरी आमाले बुवा आउने बाटो हेर्दाहेर्दै अस्ताउनुपर्ने हो?

हाम्रो पीडा कसले बुझिदिने? हामीले सरकार भएको कहिले आभास गर्ने? सरकार हाम्रो समस्यामा किन मौन छ? मेरा यी सारा प्रश्नको उत्तर सरकारले दिनुपर्छ।