जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले १५ दिनपछि तीन मन्त्रीलाई जिम्मेवारी तोकेका छन्।
प्रदेश प्रमुखको कार्यालय जारी गरेको विज्ञप्तिमा नेकपा एमालेका लखन दास तत्मालाई ऊर्जा, सिँचाइ तथा खानेपानी, नेपाल संघीय समाजवादी पार्टीका विमला अन्सारीलाई गृह, सञ्चार तथा कानुन र राप्रपाका कञ्चन बिच्छालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको उल्लेख छ। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा तीन मन्त्रीको जिम्मेवारी तोकेका हुन्। अन्य मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री यादवले आफैँसँग राखेका छन्।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा एमाले संसदीय दलका नेता यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरेपछि अहिले यस विषयको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।
सर्वोच्चले ११ मंसिरका लागि पेसी तोकेको छ। विवादका कारण संघीय सरकारले प्रदेश प्रमुख भण्डारीलाई पदमु्क्त गरेको थियो। प्रदेशमा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलले मुख्यमन्त्री नियुक्त असंवैधानिक रहेको भन्दै आन्दोलन गरेपछि ढिला गरी मन्त्रीहरु मन्त्रालय पुगेका छन्। उनीहरुको जिम्मेवारीसमेत सोमबार तोकिएको छ।
