राजस्व परामर्श समितिको बैठक
समितिले भन्यो- नागरिक सहभागिता र अन्तरसरकार सम्बन्धबाट राजस्व लक्ष्य पूरा गर्न सकिन्छ
काठमाडौँ। नागरिक सहभागिता र अन्तरसरकार सम्बन्धलाई बलियो बनाउने हो भने राजस्व संकलनको लक्ष्यमा पुग्न सकिने काठमाडौँ महानगरपालिकाको राजस्व परामर्श समितिले निष्कर्ष निकालेको छ।
समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनीता डंगोलको अध्यक्षतामा सोमबार बसेको बैठकले, चालु आर्थिक वर्षमा संकलन भएको राजस्वसँग विगत वर्ष संकलित रकमको तुलना गर्दै यस्तो निष्कर्ष निकालेको हो।
बैठकमा संयोजक डंगोलले भनिन्‚ “राजस्व संकलन गर्न परिचालन गरिने टोलीमा स्थानीय परिवेश, सामाजिक अवस्था, संस्कार संस्कृति जानेका व्यक्ति खटाउनुपर्छ। यसका लागि महिला स्वयंसेविकाहरुको अतिरिक्त समयमा प्रोत्साहन सुविधा दिएर खटाउन सकिन्छ। उहाँहरु यसअघि नै समाजमा भिजी सक्नुभएकाले विवरण वास्तविक आउँछ। र, मापनयोग्य नतिजा आउँछ।”
त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले, राजस्वको लक्ष्यमा पुग्न उपलब्ध जनशक्तिको अधिकतम उपयोग गर्नु पर्ने अवस्था रहेको बताए।
चालु आवको अहिलेसम्म प्राप्त राजस्वका विषयमा जानकारी दिँदै समितिका सदस्य सचिव एवं राजस्व विभागका प्रमुख दीपक अधिकारीले अहिलेसम्म कुल राजस्वमा २२ प्रतिशत र आन्तरिक राजस्वमा २० प्रतिशत लक्ष्य हासिल भएको जानकारी दिए।
उनका अनुसार यस वर्षका लागि लक्ष्य राखिएको १५ अर्ब ११ करोड ४३ लाख रुपैयाँमा ७ मंसिरसम्ममा तीन अर्ब ३७ करोड २३ लाख रुपैयाँ संकलन भइसकेको छ। गएको वर्ष यही दिनसम्ममा तीन अर्ब २६ करोड २२ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको थियो। यसरी गएको वर्षको तुलनामा यस वर्ष ७ मंसिरसम्ममा ११ करोड एक लाख २६ हजार रुपैयाँ बढी राजस्व संकलन भएको छ।
आन्तरिक आयतर्फ १० अर्ब १२ करोड ६४ लाख रुपैयाँ लक्ष्य राखिएकामा अहिलेसम्ममा दुई अर्ब नौ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन भएको छ। यसबाहेक यस वर्ष अनुदानबाट दुई अर्ब ४७ करोड ६९ लाख १६ हजार रुपैयाँ आय हुने लक्ष्य राखिएको छ।

बैठकमा राजस्व संकलनका विद्यमान चुनौती, चुनौतीको सामना गर्न अपनाइएका विधि र यस पछि गर्नुपर्ने कामका विषयमा छलफल भएको थियो। जेन-जी आन्दोलनका क्रममा भएको क्षतिले व्यवसाय तथा व्यावसायिक प्रतिष्ठानमा परेको असर, असर न्यूनीकरणका लागि भएका प्रयत्न छलफलमा उठेको थियो।
यस क्रममा विभागले गरेका कामका विषयमा जानकारी दिँदै अधिकारीले, महालेखा परीक्षकले विभिन्न आर्थिक वर्षमा औँल्याएका बेरुजुमध्ये राजस्व विभागले व्यक्ति र संस्था गरी आठ वटाबाट ३३ लाख दुई हजार रुपैयाँ बेरुजु असुल गरेको जानकारी दिए।
उनका अनुसार घरबहाल सरोकार केन्द्र, होटेल एसोसिएसन नेपाल, नेपाल नाई संघलगायत २१ वटा वस्तुगत संघलाई व्यवसाय कर असुलीका लागि पत्राचार गरेको छ। लामो समयदेखि विज्ञापन कर नतिरेका डिजिटल बोर्डहरुका विषयमा अनुगमन प्रतिवेदनले विज्ञापन राख्न उपयुक्त हुने राय दिएका बोर्डबाट विज्ञापन कर असुल गरेको छ। विभागले १८ वटा गुनासाको समाधान गरेको महानगरले जनाएको छ।
विगत वर्षका लक्ष्य र नतिजा
आर्थिक वर्ष ०७७/७८ मा १० अर्ब ७६ करोड रुपैयाँ लक्ष्य राखिएकामा १० अर्ब ६४ करोड रुपैयाँ संकलन भयो। आव ०७८/७९ का लागि लक्ष्य नौ अर्ब आठ करोड रुपैयाँ थियो। यसमा १० अर्ब ६० करोड रुपैयाँ संकलन गर्यो।
आर्थिक वर्ष ०७९/८० मा १० अर्ब ४१ करोड रुपैयाँ लक्ष्य राखेकामा १० अर्ब २५ करोड रुपैयाँ संकलन भएको थियो। आर्थिक वर्ष ०८०/८१ मा १० अर्ब ८० करोड रुपैयाँ लक्ष्य राखिएकामा १० अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन भयो।
आव ०८१/८२ मा १२ अर्ब ९० करोड लक्ष्य राखिएकामा १० अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।
काठमाडौँ महानगरपालिकाले सम्पत्ति कर, घर बहाल कर, सवारीसाधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क (पर्यटक प्रवेश शुल्क), विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर र मालपोत कर संकलन गर्छ ।