अनुभूति
गत वर्ष नोभेम्बर महिनाको एक साँझ, म कामको धुनमा थिएँ। ह्वाट्सएपमा युथीको भिडिओ कल आयो। जस्तोसुकै व्यस्तता होस्, उसको कल बेवास्ता गर्नै सक्दिनँ, सायद आमा हुनुको एउटा प्रवृत्ति । कल उठाएँ, मोबाइलको स्क्रिनमा छोरीको मायालु अनुहारसँग अर्को मायालु अनुहार टाँसिएर आयो।
‘मम्मी, हेर्नु न बाटोमा छोडेको रहेछ। लिएर आम् है?’
ओहो! कसरी नल्याऊ भनूँ? तर, लिएर आऊ भनूँ भने पनि हामीसँग पहिले नै दुई वटा छन्– रिस्की अनि पपकर्न। रिस्कीलाई पनि बाटोमा छोडिएको थियो। युथी मोर्डन इन्डियन स्कुलमा कक्षा ८ मा पढ्थी। उसैलाई स्कुल बस चढाउन जाने क्रममा रिस्कीसँग भेट भएको थियो।
बस कुर्दै गर्दा ऊ आफैँ लुटपुटिँदै युथीसँग खेल्न आएकी थिई। निक्खर सेतो र कालो रङको ऊ खेल्दाखेल्दै युथीको युनिफर्मवाला कालो जुत्तामाथि गएर बसी। त्यति नै बेला स्कुलको पहेँलो बस आयो। युथी बस चढ्न गई, जाँदै गर्दा मतिर फर्केर इसारा गरी, ‘मम्मी, यसलाई छोडेर नजानु है।’
हो, मैले छोडिनँ। उसलाई भुइँबाट टपक्क टिपेँ र स्कुटीको अगाडि राखेँ। ऊ ढुक्क भएर बसी। उसलाई अब म सुरक्षित छु भन्ने लागेको हुनसक्छ। युथीको खुट्टामाथि अटाउने त्यो सानी बच्ची अहिले त बूढी हुन थालिसकी। ८ कक्षामा पढ्ने युथी पनि अब स्नातक तह सकेर विश्व नियाल्दै छे, कहाँ पुगेर स्नातकोत्तर गर्दा आफ्नो भविष्य सुनिश्चित हुनसक्छ भनेर। आखिर सबैले खोज्ने सुरक्षा नै त रहेछ। सुरक्षित भएपछि नै मनमा शान्ति मिल्दो रहेछ।
पपकर्न पनि सायद सुरक्षा खोज्दै हामीसम्म आइपुगेको थियो। कोरोना भाइरसको डरले दुनियाँ काँप्न सुरु भएकै बेला पपकर्न आइपुगेको थियो। चारवटै हातखुट्टाहरूमा सेतो पन्जा अनि मोजा लगाएजस्तो ऊ देख्दा चिल्लो कालो अनि असाध्यै मायालु थियो। सायद कतैबाट हराएको थियो या छोडिएको थियो।
हामी आमाछोरीलाई देखेपछि नजिक आयो। दुवैले सुमसुम्यायौँ। हाम्रो स्पर्शले डराएन बरु खुसीले फनफनी पुच्छर घुमायो। उसको आँखाको नानी अझ फैलियो। हो, उसले हामीलाई विश्वास गरिसकेको थियो। सडकमा बस्ने कुकुरहरूभन्दा अलि सफा देखिएकाले पक्कै छरछिमेक कसैको हुनुपर्छ भन्ने लाग्यो र वरिपरि उसको घर खोज्दै हिँड्यौँ। कसैले आफ्नो भनेनन्। अन्ततः हामी नै उसका आफ्ना भयौँ। यसरी दुई कुकुर मेरो परिवारका सदस्य भइसकेका थिए। अब अर्को सदस्य थप्ने या नथप्ने अन्योलमा थिएँ।
डेरामा बस्ने मान्छे, अब तीन तीन वटा कुकुर, त्यसमाथि म कामले बाहिर निस्किरहनुपर्ने मान्छे। छोरी मेरो अनुमति कुरिरहेकी थिई। दुवै जनाको मायालु अनुहारहरूमा पालैपालो हेरेँ। छेउमा दिदी (मेरा दाइकी सासूआमा परिस्थितिको कारण मेरो साथमा हुनुहुन्छ) घरमा ल्याउने होइन, दुःख हुन्छ भनेर कचकच गरिरहनुभएको थियो। उहाँलाई रिस्की मन पर्छ। पपकर्नलाई भने जे ठाडो देख्यो त्यसैमा तुर्क्याइदिने बानीले गर्दा मन पराउनुहुन्न।
७२ वर्षकी उहाँ स्वप्रयासले अनेक चित्रहरू कोर्नुहुन्छ। सुरुमा त मैले अक्षर लेख्न र पढ्न सिकाउने प्रयास गरेकी थिएँ। तर, उहाँले अक्षर लेखेको कापीमा चरा-माछाहरूको चित्र बनाउन थाल्नुभयो। अनि ती चित्रहरूमा युथीकै पेन्सिल कलरले रङ भर्नुहुन्थ्यो।
एकदिन उहाँको रङ संयोजन देखेर चित्रकार मुकेश श्रेष्ठ पनि दंग पर्नुभयो र भन्नुभयो– उहाँमा साँच्चिकै कलाकार बन्ने क्षमता छ। मुकेशजीले नै फुर्सदको समयमा केही रेखाचित्र कोर्न सिकाउनुभयो। तर, चित्रकारले सिकाएकोभन्दा आफ्नै तरिका नै हाबी छ, उहाँका चित्रहरूमा। अहिलेसम्म उहाँले धेरै कापीहरू भरिसक्नुभयो। चित्र कोर्दाकोर्दै पपकर्नले पुच्छर हल्लाएर डिस्टर्ब गर्यो भनेर पनि रिसाउनुहुन्थ्यो उहाँ।
हुन पनि सामान्यभन्दा ज्यादा पुच्छर हल्लाउने बानी पपकर्नको छ। तर, बिस्तारै पपकर्नले उहाँको मन जितेरै छाड्यो। एकदिन चित्र कोरिरहेकै बेला पपकर्न दिदीको नजिक गएर बस्यो रे अनि आफ्नो चिउँडो दिदीको काखमा राख्यो रे। विश्वास र प्रेमले भरिएको स्पर्शको ताकत हुँदो रहेछ नै, त्यही ताकतले दिदीको मन जित्यो।
अहिले दिदी पपकर्नलाई पनि माया गर्नुहुन्छ। यसरी दुई कुकुर भइसकेको घरमा फेरि अर्को कुकुर थप्न खासगरी दिदी तयार हुनुहुन्नथ्यो। घरीघरी रिसाउने तर फेरि सानो कुरामै फुर्किने उहाँको स्वभाव म राम्रैसँग जान्दथेँ। एकदिन पक्कै उहाँलाई मनाउनेछु भन्ने सोचेर छोरीलाई त्यो पप्पी घरमा ल्याउन स्वीकृति दिएँ।
हल्का नीलो आँखा, एकापट्टिको आँखाको वरिपरिको भाग कफी रङले छोपिएको। अनि अगाडि फर्किएर निहुरिएका कफी रङकै दुई साना साना कान। सेतो पृष्ठभूमिमा थोपा थोपा कफी पोखिएजस्तो उसको शरीर। त्यसो त म कफीको स्वाद अनि गाढा रङको प्रेममा परेको मान्छे। अब त कफी रङका बुट्टाहरू बोकेर एउटा कलिलो जीवन मेरो काखमै बस्न आइपुगेको थियो। उसको दायाँ-बायाँ कफी रङकै गोला बाटुला जुनजस्ता दुई ठूला ठूला धब्बाहरू थिए।
सुरुमा उसको नाम के राख्ने भनेर आमाछोरीबीच लामै छलफल चल्यो। मैले सुरुमा जुन भनेँ। तर, जुन त केटीको नाम पो हो भन्दै फेरि कफी भनेँ, र कहिले किबी। छोरीले भनी, ‘म्यांगो’। अन्ततः छोरीले नै जिती।
सानो चुलबुले म्यांगो हेर्दा राम्रो तर अलि बदमास थियो। दाँत चिलाएर जे पनि टोकिदिन्थ्यो र जता गयो त्यतै सु सु गर्थ्यो। उसको बदमासी दिदीलाई सहिनसक्नु भयो। यता, पपकर्नले त नयाँ साथी पाएको थियो त्यसैले ऊ खुसी थियो। तर, रिस्कीलाई म्यांगो देखेर घरीघरी रिस उठ्थ्यो। एकान्त मन पराउने तर कान नै खाने गरी भुक्ने रिस्कीको स्वभाव थियो।
म्यांगो आएपछि रिस्कीलाई अलि दिक्दार लागेकै हो, तर बिस्तारै उसले बुझ्न थाली– यो बच्चै हो। ऊ म्यांगोको चकचक हेरिरहन्थ्यो। पपकर्न भने सँगसँगै खेल्न जान्थ्यो। म्यांगो खेल्न मानेन भने पनि गएर कोट्याइरहन्थ्यो। म्यांगोको पेटमा सानो हर्निया थियो। ठूलो हुँदै जाँदा हराएन भने शल्यक्रिया गर्नुपर्ने भेट डाक्टरको सुझाव थियो।
सुरुमा कष्ट भए पनि तीनै वटा कुकुरहरूसँग अभ्यस्त हुँदै गयौँ। बढ्दै गएको म्यांगो झन् झन् ज्ञानी हुँदै पो आयो। मासुबिना भातै नखाने रिस्की र पपकर्न, उता म्यांगो भने जे दिए पनि कपाकप खान्थ्यो। अहँ एकथोपा खाना खेर फाल्दैनथ्यो। यही बानीले म्यांगो दिदीका लागि सबैभन्दा प्यारो बन्न पुग्यो। म कामबाट फर्केपछि दिदी म्यांगोको कुरा गरेर थाक्नुहुन्नथ्यो।
एकदिन मैले म्यांगोको आँखा तपाईंको जस्तै राम्रो छ भनिदिएकी थिएँ, त्यसपछि त उहाँलाई म्यांगो झनै मन पर्न थाल्यो। उहाँ एकनासले म्यांगोको आँखामा हेर्नुहुन्थ्यो अनि हाँस्नुहुन्थ्यो। अझ उहाँलाई म्यांगोका निहुरिएर अगाडि फर्किएका दुई कान खुबै मन पर्थ्यो। उहाँ आफ्ना हत्केला कोप्रो पारेर टाउकोमा राख्दै म्यांगोको कान यस्तो छ भनेर देखाउनुहुन्थ्यो।
म्यांगो युथीको झनै प्यारो थियो। सुत्नेबेला मेरो ओछ्यानबाट म्यांगोलाई बोकेर आफ्नो कोठामा लग्थी। अनेकथरी भिडिओ–फोटो खिच्थी। यसरी म्यांगो सबैको प्यारो भएको थियो।
एकदिन खै कसरी गेट खुला भएछ। तीनै वटा बाटोतिर निस्केछन्। निकैबेरसम्म पनि नआएपछि मनमा चिसो पस्यो। अनि बाहिर खोज्न थालेँ। म्यांगो त चल्नै नसक्ने भएर सडकको कुनामा लडिरहेको थियो। उसलाई बिस्तारै बोकेर ल्याएँ। मन अत्तालिएर आयो।
घरमा भदा अस्मिन थियो। उसलाई बाइक हाँक्न लगाएँ अनि काखमा बोकेर बालुवाटार भेटनरी अस्पतालमा गएँ। अस्मिन पनि आत्तिइरहेको थियो। ऊ धेरै बोल्दैन, तर मनमनै धेरै कुरा बोकेर हिँड्नसक्छ। बाइक चलाइरहेको ऊ पछाडि फर्किदै म्यांगोको अवस्था बुझिरहन्थ्यो। छोरी पनि आफ्नो बाइकमा पछि पछि आइरहेकी थिई।
अस्पताल पुगेपछि एक्स-रे गरियो। हड्डीमा खासै ठूलो समस्या नभएको बताइयो। बिस्तारै हिँड्न सक्छ भन्दै केही औषधिको बिल बनाइयो र हामीलाई घर लग्न भनियो। फेरि उसरी नै बोकेर घर ल्यायौँ।
चल्नै नसक्ने म्यांगोका आँखाहरू पीडाले थाकेका थिए। औषधि दिनका निम्ति मैले बिस्कुट दिएँ, खाएन। आफैँले बिस्कुट चपाएर दिएपछि बल्ल खायो। औषधि पनि खुवाएँ। अब बिस्तारै निको होला भन्ने सोचेर आफ्नो काममा लागेँ। छोरी भने म्यांगोकै साथमा थिई।
केही बेरपछि अचानक युथी चिच्याएको सुनेँ। दौडेर हेर्न गएँ। म्यांगोको मुखबाट रगत बगिरहेको थियो। फेरि अस्मिनलाई बोलाएँ। उही स्पिडमा त्यही भेट अस्पतालमा गयौँ। जाँदै गर्दा चप्पल कारखानानिरको चोकमै उसले प्राण छोड्यो। प्राण जानुअघि ऊ बेसरी चिच्याएको थियो। मैले उसको टाउको उठाएर हेरेँ। उसका सुन्दर आँखाहरू निदाइसकेका थिए।
अलिकति आस बोकेर त्यही भेटनरी अस्पताल गयौँ। बिस्तारै सन्चो हुन्छ भन्ने भेट डाक्टरले म्यांगोको मृत्यु भइसकेको घोषणा गरे। त्यति नै बेला हामीलाई लाग्यो कि डाक्टरले इन्टरनल ब्लिडिङ रोक्ने औषधि दिएको भए सायद म्यांगो बाँच्थ्यो होला। यही प्रश्न सोध्यौँ पनि, तर उनीसँग जवाफ थिएन। लापरवाहीको यो एउटा उदाहरण थियो।
अब मलाई म्यांगोलाई किचेर जाने गाडी चालक खोज्नु थियो। देख्नेहरूसँग बुझ्दै जाँदा थाहा भयो– उसलाई दूध बोक्ने नीलो गाडीले हानेको रहेछ। गाडीले दूध ल्याउने पसल पनि थाहा भयो र त्यहाँ गएर मलाई सम्पर्क गर्नु भन्दै आफ्नो नम्बर छोडिदिएँ।
भोलिपल्ट उनी आफैँले फोन गर्यो। हाम्रो भेट भयो। माफी मागे। जुनसुकै सजाय भोग्न तयार छु भने। उनी आफैँ पनि कुकुरप्रेमी भएको बताए। दूध बेच्दै गर्दा फुटेको, बाँकी भएको दूध सडकका कुकुरहरूलाई खुवाउँछु भने। उनका कुरा सुनेपछि मैले सजिलै माफी दिएँ।
सोचेँ, कुकुरको ठाउँमा मान्छे हुन्थ्यो भने माफी त के कारबाही हुँदासमेत पनि कति धेरै कुरा बाँकी रहन्थ्यो होला। ती गाडी चालकले म्यांगोको फोटो मागे। म्यांगोले मेरो घुँडामा अडेस लगाएर बसेको फोटो दिएँ। केही दिनपछि ती चालकले त्यही फोटो राखेको एउटा फ्रेम उपहारस्वरूप दिए। उनको आँखामा नियालेँ, अपराधबोधको रङ स्पष्ट देखिन्थ्यो। मेरा आँखा भने आँसुले भरिएका थिए।
म्यांगो गएको दिन दिदी पनि खुब रुनुभयो। घरका सबै सदस्य रोयौँ। पपकर्नले घरको तलमाथि कुनाकप्चा सबैतिर खोजिरह्यो। चुपचाप बस्ने रिस्की पनि घरीघरी म्यांगो बस्ने ठाउँमा गएर केही खोजेजस्तो गरिरहन्थी। घरमा ऊ नभए पनि उसका लागि खाना छुट्याइदिन्थ्यौँ। ऊ परिवारको कान्छो सदस्य थियो। ऊ गएको पनि ६ महिना बितिसकेछ। हामी भने अझै उसको सम्झनामा छौँ। युथीको मोबाइलको लक स्क्रिनमा म्यांगोकै फोटो छ। दिदी बेलाबेला भित्तामा भएको म्यांगोको फोटो हेरेर टोलाउनुहुन्छ। म भने आफूले पिउने हर कफीको रङमा अनेकन् स्मृतिसँगै म्यांगोको पनि स्मृति पिइरहेकी हुन्छु।