काठमाडौँ
००:००:००
२ पुष २०८२, बुधबार

९ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेपाली सेनाले जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगलाई जवाफ पठाएको छ। तीन साताअघि आयोगले सेनालाई चिठी लेख्दै आन्दोलनको विवरण पठाउन निर्देशन दिएको थियो।

सेनाले जाँचबुझ आयोगमा यसै साता जवाफ पठाएको जंगी अड्डाले जनाएको छ। “जाँचबुझ आयोगमा नेपाली सेनाले विवरण पठाएर जानकारी गराएका छौँ,” सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने, “आयोगसँग निरन्तर समन्वय र सम्पर्कमा रहेको अवगत गराउँछु।”

आयोगले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति निवास, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सरकारी तथा सार्वजनिक संस्थामा तोडफोड, लुटपाट र आगजनी हुँदा पनि सेनाले सुरक्षित राख्न नसकेको विषयमा सेनालाई प्रश्न गर्दै चिठी पठाएको थियो। सेनाले पठाएको विवरणबाट जंगी अड्डाले खुलाएको छैन।

आयोग सदस्य विज्ञानराज शर्माले जंगी अड्डाले जवाफ पठाइरहेको बताए। “सेनाले जवाफ पठाइरहेको छ, केही स्पष्ट हुन नसकेका विषयमा हामीले पुन: विवरण मागेका छौँ, सेनाले पठाइरहेकै छ,” शर्माले भने।

२३ भदौमा राजधानीमा जेन-जी आन्दोलन सुरु भएको थियो। त्यसको भोलिपल्ट २४ भदौमा काठमाडौँ उपत्यकासहित देशभरि आगजनी र तोडफोड भएको थियो। विशेषगरी राजधानीमा सरकारी तथा सार्वजनिक संस्थाका कार्यालयहरू जलाइएको थियो। ती संस्था जलाउँदा सेनामाथि प्रश्न उठेको थियो।

सोही दिन प्रहरी कार्यालयहरूबाट हतियार लुटिएको थियो। देशभरिका २६ कारागारबाट कैदी भागेका थिए। परिस्थिति नियन्त्रणबाहिर गएपछि सेनाले सोही दिन राति १० बजेबाट आफ्नो नियन्त्रणमा लिएको थियो।
२४ देखि २८ भदौ बिहानसम्म देशभर सेना परिचालन गरिएको थियो। काठमाडौं उपत्यका ६ हजार र उपत्यकाबाहिर देशभरि १८ हजार सेना परिचालन गरिएको थियो।