काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेस प्रदेशकी वन तथा वातावरणमन्त्री कञ्चन बिच्छालाई कारबाही गरेको छ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टी निर्णयलाई अवज्ञा गरेको भन्दै बिच्छालाई केन्द्रीय अनुशासन समितिको सिफारिसमा ६ महिनाका लागि साधारण सदस्यबाट बिहीबार निलम्बन गरेको हो।
त्यसैगरी उनलाई मधेस प्रदेशको सांसदबाट पनि फिर्ता बोलाउने निर्णय गरेको हो। “केन्द्रीय अनुशासन समितिको सिफारिसअनुसार पार्टीको मधेस प्रदेश सभा सदस्य कञ्चन बिच्छालाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ‚” प्रवक्ता मोहन श्रेष्ठले भने, “पार्टीको निर्देशन अवज्ञा गर्ने कार्यमा संलग्न बिच्छालाई मधेस प्रदेश सभा सदस्यबाट फिर्ता बोलाउने निर्णय गरिएको छ।”
राप्रपाले बिच्छालाई एमालेका मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्व रहेको सरकारबाट फिर्ता हुन निर्देशन दिएको थियो। २५ कात्तिकमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले एमाले संसदीय दलका नेता यादवलाई होटेलमा शपथग्रहण गराएपछि विवाद भएको थियो। यादवले सोही दिन बिच्छालाई मन्त्री नियुक्त गरेका थिए।