झापा। कोसी प्रदेशमा चालु आव ०८२/८३ को प्रथम चौमासिक अवधिमा लैंगिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले साउनदेखि कात्तिकसम्ममा मुद्दा दर्ता भएकामध्ये २१४ फर्स्योट भइसकेको जानकारी दिए।
उनका अनसार उक्त अवधिमा जबरजस्तीकरणीका १७८, बहुविवाहमा ३६ करणी उद्योगमा २७, बालयौन दुराचारका ३६, अवैध गर्भपतनका दुई, बोक्सी आरोपका एक, जातीय छुवाछूतका एक, मानव बेचबिखन तथा ओसारपसारमा दुई र अप्राकृतिक मैथुनमा एउटा मुद्दा प्रदेश प्रहरी कार्यालयमा दर्ता भएका छन्।
आव ०८१/८२ मा कोसी प्रदेश प्रहरी कार्यालयमा ८३१ वटा मुद्दा दर्ता भएका थिए। यस अवधिमा ६९६ वटा मुद्दा फर्स्योट भएका थिए। आव ०८०/८१ मा ८८४ वटा मुद्दा दर्ता भएकामा ७८४ वटा फर्स्योट भएका थिए।