काभ्रेपलान्चोक। महान्यायाधिवक्ता सविता भण्डारीले मानव बेचबिखनका मुद्दामा अनुसन्धान गर्ने, अभियोजन गर्ने र न्याय सम्पादन गर्ने निकायबिच सहकार्य आवश्यक रहेको बताएकी छिन्। यी निकायबिच सहकार्य हुँदा पीडितले न्याय पाउने उनले बताएकी हुन्।
शुक्रबार माइती नेपाल र महान्यायाधिवक्ता कार्यालयको सहकार्यमा धुलिखेलमा ‘मानव बेचबिखन प्रभावित/पीडितमैत्री छिटोछरितो न्याय सम्पादन’ विषयक कार्यशाला गोष्ठीमा उनले मानव बेचबिखन तथा ओसारपसारलाई विश्वव्यापी रूपमै गम्भीर अपराध मानिने उल्लेख गरिन् ।
महान्यायाधिवक्ता भण्डारीले अवैध हातहतियार र लागुऔषधपछिको तेस्रो ठुलो गैरकानुनी व्यापारका रूपमा मानव बेचबिखन रहेको बताइन् ।
उनले नेपालमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा आर्थिक वर्ष २०७६/७७ मा ३८५ वटा, आव २०७७/७८ मा ३७५ वटा, २०७८/७९ मा ३८६ वटा, २०७९/८० मा ३६६ वटा र आव २०८०/८१ मा ३७३ वटा मुद्दा अभियोजन गरेको जानकारी दिइन्।
सोही कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले डिजिटल बोर्डमार्फत नाकाहरूमा सचेतनात्मक सन्देशहरू राखेर सुसूचित गराइरहेको र संयुक्त कार्यदल बनाएर कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा अनुसन्धान अगाडि बढाउन आवश्यक रहेको धारणा राखे।
माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइरालाले माइती नेपालले सुरुआत गरेको काममा धेरै संस्थाहरूले काम गरिरहेको बताइन्। मानव बेचबिखनको कुरा सीमापारको विषयमात्र नभएर वैदेशिक रोजगार र साना बालबालिकालाई प्रयोग गरी सीमाक्षेत्रमा लागुऔषध ओसारपसार हुने गरेको पाइएकाले उनले प्रशासनलाई ध्यानाकर्षण गराइन्।
शुक्रबार सुरु भएको दुईदिने गोष्ठीमा पाँचवटा प्रदेशका जिल्ला न्यायाधिवक्ता र जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखाका अधिकृतहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।