काठमाडौं। एघारौं महाधिवेशनका लागि नेकपा एमालेले आज देशैभरी प्रतिनिधि छनोट गर्दैछ।
एमाले केन्द्रीय कार्यालयका अनुसार मङ्सिर ११ गते सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएको छ।
त्यस क्रममा केही निर्वाचन क्षेत्रमा भने त्यही दिन सहमतिमा महाधिवेशन प्रतिनिधि छनोट भइसकेका छन्। बाँकी क्षेत्रमा भने आज बिहान ८ बजेदेखि निर्वाचन हुँदै छ। मतदान समय अधिकांश क्षेत्रमा दिउँसो २ बजेसम्मका लागि तोकिएको छ।
विभिन्न जिल्लाले अनुकूलताअनुसार मतदानको समय तय गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार संघीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित तथा युवासहित करिब २ हजार प्रतिनिधि छानिँदै छन्।
एमालेको कात्तिक १५ गते बसेको केन्द्रीय सचिवालय बैठकले गरेको निर्णय अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानी प्रति १२०० सदस्य खुला दुई र महिला एक निर्वाचित गर्नुपर्नेछ। यसरी प्रतिनिधि छान्दा एक जना ४० वर्ष भन्दा कम उमेरका युवा अनिवार्य हुनुपर्ने छ।