काठमाडौँ
००:००:००
६ पुष २०८२, आईतवार

१४ मंसिर २०८२
अ+
अ-

चितवन। माडी नगरपालिकास्थित बघौडा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेहरू पक्राउ परेका छन्। गत बिहीबार राति १०:१५ बजे चारपाँच जना युवाको समूहले चिकित्सक र स्वास्थ्यकर्मीलाई आक्रमण गरेका थिए।

इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक किरण राईले अस्पतालले शुक्रबार निवेदन दिएपछि चार जना आरोपीलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ पर्नेमा माडीका किरण खाती, संगम तिवारी, विकास गुरुङ र प्रकाश गौतम रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक राईले भने, “चिकित्सकहरूले कुटपिट मुद्दा चलाउने भन्दै हुनुहुन्छ, कुटपिटको मुद्दा सिधै अदालतबाट चल्छ।” बघौडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. धीरञ्जनकुमार साहका अनुसार मादक पदार्थ सेवन गरेका युवाले मंसिर ११ गते राति १०:१५ बजे अस्पताल परिसरभित्रै चिकित्सक र स्वास्थ्यकर्मीलाई आक्रमण गरेका थिए।

डा. साहका अनुसार डा. दीपेन्द्र विश्वास, डा. देवेन्द विश्वास, हे.अ.अनुप सुवेदी, कविराज तिवारीलगायत चिकित्सक स्वास्थ्यकर्मीलाई घाउचोट हुने गरी कुटपिट भएको छ। उनीहरूले अपशब्द बोल्दै गालीगलौजसमेत गरेको उनले जानकारी दिए।

नेपाल चिकित्सक संघ चितवनका वरिष्ठ उपाध्यक्ष डा. दीपेन्द्र न्यौपानेले दोषीलाई कानुनअनुसार हदैसम्मको कारबाही हुनुपर्ने बताए।