काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री जुहानी पुहाक्काले शिष्टाचार भेट गरेका छन्।
भेटका क्रममा शुभकामना आदानप्रदानसँगै नेपाल-फिनल्यान्ड द्विपक्षीय सम्बन्ध, नेपालको सामाजिक-आर्थिक विकासमा फिनल्यान्डको सहयोग तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यबारे छलफल भएको थियो। उपराष्ट्रपति यादवले सन् १९७४ मा दौत्य सम्बन्ध स्थापना भएपछि नेपाल र फिनल्यान्डबीच कायम रहिआएको मैत्रीपूर्ण सम्बन्धप्रति खुसी जनाए। उनले फिनल्यान्डको सहयोग विशेषतः वन क्षेत्र, जलवायु सहनशीलता, शिक्षा, सुरक्षित खानेपानी, विपद् व्यवस्थापन, लैंगिक समानता तथा सामाजिक समावेशितामा केन्द्रित रहनु प्रशंसनीय भएको पनि बताए।
“फिनल्यान्डले बहुपक्षीय मञ्चहरूमा जलवायु परिवर्तनजस्ता अन्तर्राष्ट्रिय मुद्दामा निर्वाह गरेको भूमिकाको नेपालले प्रशंसा गर्दछ‚” उनले भने, “आपसी हितका विषयमा दुईपक्षीय तथा बहुपक्षीय मञ्चहरूमा नेपाल र फिनल्यान्डको सहकार्य निरन्तर जारी रहने विश्वास लिएको छु।”
यादवले नेपाल आगामी वर्ष अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने र सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने लक्ष्य राखेको जानकारी दिए। यस स्तरोन्नतिलाई दिगो तथा अपरिवर्तनीय बनाउन फिनल्यान्डसहित विकास साझेदारबाट प्रविधि, लगानी तथा आर्थिक साझेदारी अपरिहार्य हुनेमा उनले जोड दिएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।
राजदूत पुहक्काले फिनल्यान्ड युरोपेली संघसँगको सहकार्यमा नेपालमा सञ्चालन भइरहेका तीन प्रमुख द्विपक्षीय विकास परियोजनाबारे जानकारी दिए। उनहाँले भने‚ “ती परियोजनामा कर्णालीमा सुरक्षित तथा दिगो पानी र सरसफाइमा पहुँच सुधार गर्ने, कर्णाली तथा सुदूरपश्चिममा प्राकृतिक स्रोत व्यवस्थापन तथा जीविकोपार्जनमार्फत जलवायु प्रतिरोधात्मक क्षमता निर्माण गर्ने एवं कर्णाली, सुदूरपश्चिम तथा मधेसमा विद्यालय सुदृढीकरण गर्दै शिक्षकहरूलाई आवश्यक उपकरण उपलब्ध गराउने रहेका छन्।”