काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१५ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिका २७‚ असनमा पुनर्निर्माण सम्पन्न गरिएका सांस्कृतिक सम्पदाहरुको उद्घाटन गरिएको छ।

यिताचपा सत्तल, गणेश मन्दिर, नारायण मन्दिर, उमा महेश्वर मन्दिर, डबली र भोटाहिटीमा रहेको कलशद्वारको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, सम्पदा तथा पर्यटन समिति संयोजक आशामान संगत, वडा २७ का अध्यक्ष योगेशकुमार खड्गी र वातावरण समिति संयोजक एवं वडा १२ का अध्यक्ष बालकृष्ण महर्जनले संयुक्त रुपमा उद्घाटन गरे।

यी संरचनामध्ये यिताचपा सत्तल, सबैभन्दा धेरै लागत भएको अर्थात् दुई करोड ८४ लाख २९ हजार ४५६ रुपैयाँमा पुनर्निर्माण सम्पन्न भएको योजना हो। यसको लागत अनुमान भ्याटसहित दुई करोड ९१ लाख ३२ हजार ५०४ रुपैयाँ थियो। सत्तलको पुनर्निर्माण गर्दा इँटा, चुना-सुर्की, बालुवा, काठ, ढुंगा, तेलिया इटा, झिँगटी प्रयोग गरिएको छ।

उद्घाटनपछि प्रवक्ता मानन्धरले असनको प्राचीनता सबै नेपालीमा परिचित स्थान भएको बताउँदै यसको मौलिक स्वरुप कायम राख्न सत्तलको पुनर्निर्माणले योगदान दिएको उल्लेख गरे। “काठमाडौँ पहिचान बचाउन असन क्षेत्रको भूमिका छ। यसको मौलिक स्वरुप बचाउन महानगरपालिकाले लगानी गरेको छ‚” मानन्धरको भनाइ थियो।

कार्यक्रममा सम्पदा तथा पर्यटन समिति संयोजक संगतले सत्तललाई टेकोमुक्त बनाउन सक्नु पहिलो उपलब्धि भएको बताउँदै यसको दिगो उपयोगका लागि स्थानीय सहभागिताको अपेक्षा गरे। भित्री सहरी क्षेत्रका मानिस बसाइँसराइ गरेर बाहिर गएकाले भित्री सहरको मौलिकता जोगाउन कठिन परेको बताउँदै उनले थातथलो नछोड्न आग्रह गरे।

प्राचीन स्मारक बचाएर मौलिकता र पहिचान बचाउनु आफ्नो पहिलो जिम्मेवारी रहेको बताउँदै वडा २७ का अध्यक्ष खड्गीले यिताचपा पुनर्निर्माण सकिएपछि असनको मुहार उज्यालो भएको बताए। मूर्त सम्पदाको पुनर्निर्माण जारी रहेकाले पुर्खाको नासो पुस्तालाई हस्तान्तरणमा ठोस उपलब्धि प्राप्त हुने खड्गीले अपेक्षा राखे।

आर्किटेक्ट अमित बज्राचार्यका अनुसार सत्तलको लम्बाइ ६९ फिट र चौडाइ १३ फिट १० इन्च छ। दुईतले दुईपाखे सत्तलका दुवै तला तला ९५४.२७ वर्गफिटका छन्। भुइँतलामा जान तीन कवलपछि ढोका छ। पहिलो तलामा जान पूर्वतर्फ बाहिरबाट काठको भर्‍याङ राखिएको छ।

भुइँतलाको उत्तर खण्डमा १० कवल पसल छन्। आर्किटेक्ट बज्राचार्यका अनुसार, भुइँतलाको पूर्वतर्फ महाङ्काल, कृष्ण र बुद्धको मूर्ति राखिएका छन्। भित्र दक्षिणपट्टिको गारोसँगै ११ वटा प्रस्तर थाम र तोरण राखिएका छन्। यसमा अन्नपूर्ण द्यःछेँका गुथियारहरुले दशैमा पूजा गर्ने गरेका छन्। त्यसैमा एउटा नास द्यः (नाटयेश्वर) को मूर्ति पनि छ।

पहिलो तलाको पूर्वमा आगम कोठा छ। यसमा लुँपौ गुथिले पूजाआजा गर्ने गरेका छन्। बाँकी भाग खुला छ।

असनबाट बालकुमारीतर्फ अन्नपूर्ण मन्दिरसँगै रहेको सत्तल इतःचपा हो। यो सत्रौँ शताव्दीभन्दा अगाडि नै निर्माण भएको संरचना मानिन्छ। नेपाल मण्डलबाट व्यापारका लागि भोट जाने व्यापारीहरुका लागि निर्माण गरिएको मानिन्छ। परदेशमा गएपछि रोगव्याध आउन सक्छ। फर्किनेबित्तिकै परिवारसँग भेट गर्नु हुँदैन। निश्चित अवधि घुलमिल गर्नुहुँदैन, भन्ने सामाजिक विश्वासअनुसार लामो समय व्यापार गर्न गएकाहरुलाई निश्चित समय छुट्टै बस्न बनाइएको बासस्थान हो।

भोट व्यापार गरेर फर्किएपछि घर जानुअघि १५ दिन यहाँ क्वारेन्टिन बस्नुपर्थ्यो। त्यसपछि भोटाहिटीमा नुहाएपछि मात्र घर जान पाइन्थ्यो। यसरी हेर्दा इतःचपा तत्कालीन समयमा सामाजिक चेतनाको बिम्ब पनि हो।

यो संरचना जीर्ण भएपछि प्रयोगविहीन थियो। यसको संरचनागत जोखिमले पैदलयात्रीलाई समेत जोखिम थियो। यो अवस्थामा रहेको संरचनालाई पुनर्निर्माण गरेर अहिले मौलिक स्वरुपमा फर्काइएको छ।

सत्तलको अगाडिपट्टि पसल कवल छन्। पछाडिपट्टि भजन गर्ने स्थान र नास द्यःछेँ रहेका छन्। संरचनाको इतिहास हेर्दा अभिलेखहरूमा सत्रौँ शताब्दीभन्दा अगाडि नै निर्माण भएको पाइएको छ। काठमाडौँको व्यस्त व्यापारिक केन्द्र असन बजारको यो संरचना प्राचीनता, मौलिकतासँगै कलाका दृष्टिले पनि महत्त्वपूर्ण छ। सत्तलका झ्याल, थाम, मेठ, बार्दली कलात्मक छन्। झिँगटीयुक्त छानोले सत्तलको सुन्दरता प्रदर्शन गरेको छ।

आर्किटेक्ट गौरव श्रेष्ठका अनुसार करिब गणेश मन्दिर, नारायण मन्दिर र उमा महेश्वर मन्दिरको पुनर्निर्माण लागत करिब ८३ लाख रुपैयाँ हो। यस्तै डबली करिब चार लाख रुपैयाँ लागतमा मर्मत भएको छ। कलशद्वारको लागत करिब सात लाख २५ हजार रुपैयाँ हो।