काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१६ मंसिर २०८२
अ+
अ-

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत प्राप्त गर्न निर्देश दिएपछि आज प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको छ।

प्रदेश सभा सचिवालयका अनुसार उपसभामुख बबिता राउत ईशरको कार्यकक्षमा आज दिउँसो ३ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ। सो बैठकबाट प्रदेशसभा बैठक आह्वान गर्ने तथा बैठक सञ्चालन सम्बन्धी आवश्यक निर्णय हुने जनाएको छ।

सर्वोच्च अदालतले विश्वासको मत लिन आदेश दिएको भए पनि मुख्यमन्त्रीले विश्वासको मत प्रस्तुति सम्बन्धी पत्र प्रदेशसभामा अहिलेसम्म पेस नगरेको सचिवालयले जनाएको छ। तर प्रदेशसभा भने बैठक आह्वानका लागि तयारी अवस्थामा रहेको बताइन्छ।

यता सत्तारुढ तथा विपक्षी दलका नेताहरू बीच परामर्श र छलफल विभिन्न स्थानमा जारी छन्। नेपाली कांग्रेसले आज दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको छ भने साँझ ७ दलीय गठबन्धनको बैठक बस्ने कांग्रेसका प्रमुख सचेतक कुवरकान्त झाले जानकारी दिएका छन्।

अहिलेको अङ्कगणितीय हिसाबमा हेर्ने हो भने मुख्यमन्त्री सरोज यादवले प्रदेश सभाबाट विश्वासको मत पाउने आधार भने देखिँदैन। “मुख्यमन्त्री नियुक्तिको विषय यथाशीघ्र टुङ्गो लगाउन वाञ्छनीय देखिएकाले प्रस्तुत आदेश प्राप्त भएको मितिले चौबीस घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त सरोजकुमार यादवलाई संविधानको धारा १६८(४) बमोजिमको विश्वासको मत लिने प्रस्ताव‚” सर्वोच्चद्वारा जारी आदेशमा भनिएको छ‚ “प्रदेश सभामा निर्णयार्थ पेस गरी/गराई विश्वासको मत प्राप्त गरेमा सोहीबमोजिम र प्राप्त गर्न नसके संविधानको धारा १६८(२) बमोजिम सरकार गठन वा मुख्यमन्त्री नियुक्त हुने विकल्प समेतका विषयमा आवश्यक र उपयुक्त पहल गरी अर्को सरकार गठन वा मुख्यमन्त्री नियुक्ति गर्नू ।”