काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१६ मंसिर २०८२
अ+
अ-

पर्सा। पर्सा प्रहरीले कारबाट गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पटेर्वासुगौली गाउँपालिका २‚ रंगपुरबाट प्रहरीले सोमबार राति गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार मनवाबाट रंगपुर जाँदै गरेको बीएबी ९३९८ नम्बरको कारबाट १०४ किलो ३२५ ग्राम गाँजा बरामद भएको हो। यसक्रममा कार चालक मकवानपुर भीमफेदी गाउँपालिका ८‚ महावीरका ३२ वर्षीय भीम स्याङ्तान र मकवानपुरगढी गाउँपालिका १ का ३८ वर्षीय कुमार स्याङ्तान पक्राउ परेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले बताए।

कारमा प्लास्टिकको झोलामा १० वटा पोकामा लुकाएर राखेको गाँजा फेला परेको पाठकले बताए। पक्राउ परेका स्याङतानद्वयलाई इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले हिरासतमा लिएर लागुऔषध मुद्दामा अनुसन्धान सुरु भएको छ।

पैदल हिँडिरहेका सम्सुलको साथमा १० किलो चरेस
यसैबीच पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका १५‚ प्रतिमा चोकबाट एकजना पैदल हिँडिरहेका व्यक्तिलाई चरेससहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा धोबिनी गाउँपालिका ५ का ४८ वर्षीय सम्सुल मियाँ छन्।

मंगलबार बिहान १० बजे उनलाई प्रहरीले १० किलो चरेससहित पक्राउ गरेको प्रहरी उपरीक्षक पाठकले बताए। शंकास्पद रूपमा हिँडिरहेका उनले बोकेको कालो झोलामा प्लास्टिकले लुकाएर राखेको चरेस फेला परेको पाठकले बताए। जिल्ला प्रहरी कार्यालयले मियाँलाई हिरासतमा लिएर लागुऔषध मुद्दामा अनुसन्धान थालेको छ।