काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समावेशी नेपाल बनाउने अभियान जारी रहेकाले सबैको हातेमालो आवश्यक रहेको बताएका छन्। काठमाडौँको गोकर्णेश्वर ३‚ मंगलबार आयोजित गोरखापत्रको बहुभाषिक पृष्ठ नयाँ नेपालअन्तर्गत थपिएको कुलुङ भाषा प्रकाशन शुभारम्भ गर्दै उनले देश निर्माणको अभियानमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।
मन्त्री खरेलले नेपाल विविध जाति, भाषा र समुदायले बनेकाले जातजातिको भाषा, वेशभूषा र संस्कृति यहाँको गौरव र पहिचान भएको बताए। उनले भने, “समावेशी नेपाल नामक घर बनाउने अभियान सुरु भएको छ, गोरखापत्रमा कुलुङ भाषा पृष्ठ थपिनु एउटा इँटा थपिनु हो। यो अभियानमा सबैको हातेमालो चाहिन्छ।”
सरकार सबै समुदायको घरदैलोमा पुग्ने प्रयासमा रहेको र कुलुङ समुदायको कार्यक्रममा आज यहाँ पुग्नु पनि त्यही अभियान भएको उनले चर्चा गरे। सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले सरकारले घोषित (आगामी २१ फागुन) प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने र सुशासन प्रवर्द्धनमा दृढताका साथ अगाडि बढेको बताए। उनले भने‚ “जेन-जी आन्दोलनको जगमा बनेको वर्तमान सरकार फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने तथा मुलुकमा सुशासन प्रवर्द्धन, रोजगारी सिर्जनालगायत विषयमा सरकार गम्भीरताकासाथ अगाडि बढेको छ। त्यसैले निर्वाचनलाई सफल बनाउन सबै नेपालीको कर्तव्य हो।”
मन्त्री खरेलले निर्वाचन आफैँ लोकतन्त्रको आधारस्तम्भ र सुशासन कायम गर्ने अभियान भएकाले सबैको साथको खाँचो औंल्याए। मन्त्रालयकी सचिव राधिका अर्यालले गोरखापत्रमा कुलुङ भाषाले स्थान पाउनु यो समुदायको पहिचान कायम हुनु रहेको धारणा राखिन्। समावेशी नेपाल बनाउने अभियानमा यो पृष्ठ थप हुनु आफैँमा ऐतिहासिक काम भएको उनको भनाइ छ। आजको पत्रकारिता भोलिको इतिहास भएकाले पृष्ठलाई पठनीय बनाउन उनले सुझाइन्।
यस अवसरमा नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघका अध्यक्ष चन्द्रसिंह कुलुङले मन्त्री खरेललाई फेगा (कुलुङ समुदायको सांस्कृतिक पोसाक) लगाएर स्वागत गरे। गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले राष्ट्रभाषाको श्रीवृद्धिमा गोरखापत्रले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए। यस अभियानअन्तर्गत मंगलबारदेखि थप भएको कुलुङ भाषा पृष्ठले भाषा संरक्षणमा थप टेवा पुग्ने विश्वास उनले व्यक्त गरे। गोरखापत्रमा ४६ भाषाको पृष्ठ प्रकाशन भइरहेको बताउँदै उनले यसमा सञ्चार मन्त्रालय, भाषा आयोगको उल्लेखीय योगदान भएको बताए।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले नगरपालिका भाषा संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान दिइरहेको बताउँदै गोरखापत्रको अभियानमा सकेको साथ सहयोग गर्ने बताए। भाषा संस्कृति यहाँको पहिचान भएकाले त्यसको प्रवर्द्धनमा सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।
गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्य कुलुङ, नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघका अध्यक्ष चन्द्रसिंह कुलुङले सरकार र गोरखापत्र संस्थानलाई धन्यवाद दिए। गोरखापत्र दैनिकबाट बहुभाषामा समाचार सामग्री दिन थालेको मातृभाषाको सङ्ख्या ४६ पुगेको छ। १६ मंसिर २०८२ बाट प्रकाशन प्रारम्भ भएको कुलुङ भाषापृष्ठ प्रकाशन सुरु भएसँगै यो सङ्ख्या ४६ पुगेको हो।