काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१७ मंसिर २०८२
अ+
अ-

जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा गरेका छन्। प्रदेश सभा बैठकमा बुधबार उनले पदबाट राजीनामा दिएको घोषणा गरे।

सर्वोच्च अदालतले चौबीस घण्टाभित्र मुख्यमन्त्री यादवलाई प्रदेश सभाबाट विश्वासको मत लिन परमादेश जारी गरेपछि उनले आज (बुधबार) विश्वासको मत पाउने आधार नदेखेपछि राजीनामाको घोषणा गरेका हुन्।

नेपाली कांग्रेससहित सात राजनीतिक दलले मुख्यमन्त्री बोल्ने क्रममा प्रदेश सभा बैठक बहिष्कार गरेपछि उनले भने‚ “मैले कुर्सीसँग विश्वासको मत माग्ने होइन मसँग बहुमत पनि छैन त्यसकारणले राजीनामा गर्दछु आजै प्रदेश प्रमुखसमक्ष राजीनामा समेत बुझाउनेछु।” यादवले आफूले छोटो समयमा बाध्यात्मक परिस्थितिमा मुख्यमन्त्री बनेको भन्दै आफ्नो कार्यबाट जनता निकै सन्तुष्ट भएको दाबी पनि गरे।

उनले नेकपा एमालेले जसपा नेपाल‚ जनमत पार्टी र कांग्रेसलाई समेत मुख्यमन्त्री बनाउन सहयोग गरेको बताउँदै अहिले आफूलाई परेका बेलामा विश्वासको मत दिन र आँखामा आँखा जुधाउने अवस्था नदेखेपछि बैठक बहिष्कार गरेको आरोपसमेत लगाए।

मुख्यमन्त्री यादवले आउने दिनमा यी सबै परिस्थितिको जनताले मूल्यांकन गर्ने बताए। विगतमा मधेसकेन्द्रित दलहरूले गरेका क्रियाकलापका कारण अर्थतन्त्र सङ्कुचित बनेको बताए। आउने निर्वाचनमा फेरि जनताले यी अवसरवादी दलहरुलाई तह लगाउने यादवले जिकिर गरे ।

मुख्यमन्त्री यादवले मधेसका जनताको पक्षमा आफूले धेरै काम गरेको र दृढताका साथ उभिनेसमेत बताए।