अनुभूति

साहित्य महोत्सवमा सल्यान जाने क्रममा भोग्नुपरेको कष्ट सम्झँदा आज पनि आङ जिरिंग हुन्छ।

२० मंसिर २०८२
अ+
अ-

भोगाइका अनेकौँ किस्साको नाम नै जिन्दगी रहेछ। एउटा जिन्दगीमा कति घटना, परिस्थिति, व्याधि भोग्नुपर्ने! निजी जीवनका आरोहअवरोह त भइहाले, आमजनलाई तरंगित पार्ने घटनाले पनि हामीलाई बेलाबेला छोइराख्छ। २०७२ सालको भूकम्पदेखि नाकाबन्दी र कोभिड महाव्याधिसम्म, २०६२/६३ को जनआन्दोलनदेखि हालसालैको जेन-जी विद्रोहसम्म।

यसपालि भने निजी जीवनकै एउटा प्रसंगबारे लेख्दै छु।

विमान परिचारिकाले नेपालगन्जको राँझा विमानस्थलमा अवतरण हुन लागेको जानकारी गराउँदै त्यहाँको तापक्रम बताउँदा गर्मीको आभास हुन थालेको थियो। जाडोको लुगा लगाएर गएका थियौँ, जहाजबाट ओर्लंदा त हप्प गर्मी भयो।

कात्तिक २०७८ को कुरा हो। सल्यानबाट साहित्यिक कार्यक्रमको निम्तो आएको थियो। राप्ती साहित्य परिषद्, सल्यान शाखाले आयोजना गरेको साहित्य महोत्सवमा काठमाडौँसहित देशका विभिन्न ठाउँबाट धेरै साथी जाँदै हुनुहुन्थ्यो। काठमाडौँबाट जानेमा कवि सुदेश सत्याल, गजलकार इन्दिरा अधिकारी र म थियौँ। इन्दिराजी अन्य साथीहरूसँग अगाडि नै गइसक्नुभएको थियो। सुदेश र म चाहिँ नेपालगन्जसम्म जहाजमा र त्यहाँबाट गाडीमा सल्यान जाने भयौँ। त्यस दिनको आआफ्ना काम सकेर दिउँसो तीन बजेको फ्लाइटमा जाने गरी टिकट काट्यौँ।

निर्धारित समयमै विमानस्थल पुग्यौँ। तर, जहाज चढ्न थप एक घण्टा कुर्नुपर्‍यो।

४ बजेतिर बोर्डिङ पास लिएर जहाज चढ्ने ठाउँमा पुगेपछि सुदेशको मोबाइलबाट सेल्फी खिच्यौँ। सुदेशले फोटो फेसबुकमा राखेर लेखे, ‘एक जहाज कविता बोकेर सल्यान आउँदै।’

निकै उत्साहित भएर सिटमा बस्यौँ। जहाजले भुइँ छोड्यो।

हवाई यात्रामा मलाई निकै आनन्द आउँछ, डर पनि मनको एक कुनामा बसिराख्छ।

काठमाडौँ-नेपालगन्ज उडान समय ५० मिनेट हो। लुकामारी खेलिरहेका बादल, चाँदीझैँ टल्केका हिमाल, हरियालीको घुम्टो ओढेका पहाड अनि कमिलाजत्रा देखिने घरहरू हेर्दै यात्रा गर्दा समय कति छिटै बितेछ। डराउने फुर्सदसम्म भएन!

विमान परिचारिकाले नेपालगन्जको राँझा विमानस्थलमा अवतरण हुन लागेको जानकारी गराउँदै त्यहाँको तापक्रम बताउँदा गर्मीको आभास हुन थालेको थियो। जाडोको लुगा लगाएर गएका थियौँ, जहाजबाट ओर्लंदा त हप्प गर्मी भयो।

आआफ्ना झोला बोकेर विमानस्थलबाट बाहिरियौँ। बाहिर रिक्सावालाहरूको भिड थियो। ग्राहक तान्न झुम्मिएका उनीहरूलाई छल्दै हामी अलि बाहिर बाटोसम्मै निस्कियौँ। त्यहाँ एउटा रिक्सा आएर रोकियो।

‘रिक्सा चाहिन्छ? कता जाने हो?’ रिक्सावाल कराए।

‘सल्यान जाने गाडी कहाँ पाउँछ, थाहा छ?’ उनको प्रस्ताव उपेक्षा गर्दै उल्टै सोध्यौँ।

उनले भने, ‘सल्यानको त आज पाउँदैन, सबै गाडी गइसके। कि त दाङ जाने गाडीमा जानुस्, त्यहाँबाट सल्यान जाने गाडी पाउन सक्छ। दाङ जाने गाडी कहाँ मिल्छ, मलाई थाहा छ। बस्नुस् पुर्‍याइदिन्छु, ५०/५० रुपैयाँ भाडा लाग्छ।’

उसले भनेझैँ हामी थपक्क रिक्सामा चढ्यौँ। तातो हावा चिर्दै रिक्सा गुड्न थाल्यो। मौसम रापिलो भए पनि हामी भने सोझै सल्यान जाने गाडी नपाउने थाहा पाएपछि चिन्ताले चिसिएका थियौँ। सुदेश र मैले मुखामुख गर्‍यौँ। बोल्ने शब्द जुटेनन्। पीर भए पनि मन भुलाउन बाटोको दायाँ-बायाँ हेर्दै थियौँ। रिक्सावाला गीत गुनगुनाउँदै पाइडल पेलिरहेका थिए।

सल्यान साहित्य महोत्सवमा सुदेश सत्यालसँग लेखक

बाटोभरि गाडीभन्दा धेरै रिक्साको भिड हुँदो रहेछ। त्यही मात्रामा साइकल कुदाउनेहरूको होडबाजी। त्यहाँको माहोल मेरा लागि नौलो थियो। किनकि, नेपालगन्जबाट सल्यान जाने मेरो पहिलो यात्रा थियो।

उसै त गर्मी, त्यसपछि यात्रुहरूको सासले गाडीभित्र उकुसमुकुस थियो। गाडी गुड्न थालेपछि बल्ल अलि शीतल महसूस भयो।

रिक्सावालाले एउटा माइक्रोबस नजिक लगेर भने, ‘यही हो दाङ जाने गाडी लाग्ने ठाउँ। ल झर्नुस्।’

उनको हातमा १०० को नोट थमाएर हामी गाडी खोज्न थाल्यौँ।

साँझ पर्न लागेको थियो। मानिसहरूको भिडभाड बाक्लो थियो।

‘दाङ! दाङ !! लौ है दाङ जाने अन्तिम माइक्रोबस हो। छिटो चढौँ। अलि मिलेर बसौँ। कोच्चिएर बसौँ है। यो लास्ट गाडी हो,’ सहचालक भाइ कराइरहेको थियो।

हामीलाई देखेपछि ‘ल भित्र बस्नुस् ठाउँ छ, यो माइक्रो गएपछि आज अरू गाडी पाउनुहुन्न है तपाईंहरूले’ भन्यो।

हामीले गाडीभित्र यसो नजर लगायौँ। सबै सिट खचाखच थिए। अझ भनौँ कोचामकोच नै थियो। सहचालक भाइले ‘दुई जनाको सिटमा तीन जना बस्नुस्’ भन्दै मलाई भित्र पठायो। भित्र पसेँ। ब्याग ड्राइभरको सिट पछाडि झुन्ड्याइदियो। गाडी गुड्ने तरखरमा भएकाले सुदेशले हत्त न पत्त माइक्रोभित्र टाउको घुसार्‍यो। उभिनेसमेत ठाउँ नभएको गाडीभित्र ऊसँगै अरू तीनचार जना कोचिएर उभिएका थिए।

सबैलाई गन्तव्य पुग्ने हतारो थियो, र अन्तिम गाडी भएर पनि होला, मान्छेहरू कष्ट झेल्दै गुन्द्रुकजसरी खाँदिएर यात्रा गर्न बाध्य थिए।

उसै त गर्मी, त्यसपछि यात्रुहरूको सासले गाडीभित्र उकुसमुकुस थियो। गाडी गुड्न थालेपछि बल्ल अलि शीतल महसूस भयो।

म त सिटमा बसेको भन्नु मात्र थियो, घरी सिटको छेउमा आधा बसेजस्तो गर्थें, गाडी थोरै दायाँ-बायाँ मोडिनासाथ भुइँमा थेचारिन्थेँ। सुदेशले ‘तिमीलाई गाह्रो भयो?’ भनेर बेलाबेला सोध्थ्यो। तर, सानो गाडीमा धनुषजस्तो बांगिएर उभिएको ऊ आफैँ कष्टमा थियो। घरी ऊ भुँइमा बस्थ्यो, घरी म उभिने कोसिस गर्थें। एउटा नसोचेको यात्रा गरिरहेका थियौँ हामी।

गाडीभित्र बत्तीसमेत थिएन। त्यति थोत्रो न थोत्रो माइक्रोबसमा जीवनमै पहिलोचोटि चढेको थिएँ। गाडीभित्र न कसैलाई देख्नु, न कसैसँग बोल्नु। दर्दनाक हालतमा यस्तै गहिरो मौनता हुँदो हो सायद। बाहिर पनि निष्पट्ट अँध्यारो थियो। हामी बर्दिया राष्ट्रिय निकुञ्जको छेउबाट जाँदै रहेछौँ।

चकमन्न रात। घना जंगल। सकसपूर्ण यात्रा गर्दागर्दै एक्कासि गाडीबाट केही भाँच्चिए वा पड्किएजस्तो ठूलो आवाज आयो। हामी सबै तर्सियौँ। ड्राइभरले साइड लगाएर गाडी रोक्यो। मोबाइलको बत्ती बालेर गाडी जाँच गर्न लाग्यो। सबै जना ओर्लियौं। झन् ढिलो भएको बेला गाडी बिग्रियो भन्दै सबै आत्तिए। साहित्य महोत्सवका लागि सबै साथीहरू समयमै सल्यान पुगिसकेका थिए। हामी भने चिसो रातमा बाटोमा बिचल्ली अवस्थामा थियौँ।

रातको समयमा भाडाका लोकल गाडी पाउनै गाह्रो। प्राइभेट गाडी रोक्दै नरोक्ने। रोऊँ कि हाँसूँ जस्तो स्थितिमा पुगिसकेकी थिएँ म। सुदेश मतिर टुलुटुलु हेर्दै मुस्कुराउन खोज्थ्यो।

कुसुम भन्ने ठाउँमा पुगेर गाडीको पट्टा भाँच्चिएको रहेछ। गाडी बनाउन दाङबाट मान्छे मगाउनुपर्ने जानकारी ड्राइभरले दियो। गाडी बन्न निकै समय लाग्ने देखियो। सडकमा गाडीहरू त गुडिरहेका थिए, तर तीमध्ये कुनैले रोकेर दाङसम्म लगिदेलान् त? सबैजना गाडी रोक्न सडकछेउ उभिए। हामी पनि त्यस्तै पर्खाइमा मिसियौँ।

भोकले सताउन थालेको थियो। योभन्दा पनि गन्तव्य पुग्ने चिन्ताको डिग्री बढी थियो। राति ९ बजेसम्म दाङ पुगियो भने सल्यान जाने गाडी भेटिन्छ कि भन्ने झिनो आशा बाँकी थियो, अब भने त्यो आशा पनि रहेन भन्नेमा पुग्यौँ। अब दाङसम्म कसरी पुग्ने भन्ने पीरले सताउन थाल्यो।

‘नआत्तिऊ न, गाडी पाउला नि,’ सुदेशले मलाई भनेर सायद आफैँलाई सान्त्वना दिँदै थियो। रात, भोक, डर, तनाव सबै एकैपटक मिसिएर मभित्र उपद्रो मच्चाइरहेका थिए।

गाडी रोक्न धेरै कोसिस गर्‍यौँ, तर कसैले रोकेनन्। बल्लतल्ल रोकेकामध्ये केहीले ‘दाङ जाने होइन’ भने, कसैले ‘खाली छैन’ भने। रातको समयमा भाडाका लोकल गाडी पाउनै गाह्रो। प्राइभेट गाडी रोक्दै नरोक्ने। रोऊँ कि हाँसूँ जस्तो स्थितिमा पुगिसकेकी थिएँ म। सुदेश मतिर टुलुटुलु हेर्दै मुस्कुराउन खोज्थ्यो।

गाडी रोक्ने निकैबेरको प्रयासपछि अन्तत: तीव्र गतिमा गुडेको एउटा बोलेरोले रोक्न खोज्यो। तर, निकै वेगमा भएकाले गाडी अलि अगाडि गएर रोकियो। सुदेशले ‘म गाडीमा सिट रोक्छु, तिमी दुवै जनाको ब्याग लिएर आऊ’ भनेपछि म ब्याग लिन बिग्रेको गाडीतिर दौडिएँ। हाम्रो जस्तै समस्या भोग्ने अरू यात्रु पनि थिए, त्यसैले केही मान्छे त्यही बोलेरोतर्फ दौडिएका थिए।

ब्याग लिएर पुग्दा सुदेश अन्तिम लहरको सिटमा बीचमा कोचिएर बसेको थियो। सबै सिट भरिभराउ थिए। गाडीचालकले मलाई कतै मिलेर बस्न आग्रह गर्‍यो। त्यस गाडीमा अधिकांश पुरुष थिए। अगाडि एक जना महिला थिइन्। हामी आएकै गाडीमा आएकी उनी दुई जनाको सिटमा कोचिएर बसेकी थिइन्। सुदेश बसेकै सिटको लहरमा मिलेर बस्न चालकले आग्रह गरेपछि जसोतसो त्यहाँ कोचिएर बस्न खोजेँ। तर, कहाँ अट्नु र! न बस्ने ठाउँ छ, न त उभिने। आपत् पर्‍यो।

लौ बर्बाद भयो! अब गर्ने के? दिमाग नै शून्य भयो। हाम्रो ओठ-तालु सुके। कष्टपूर्ण यात्रा गरेर त्यत्रो दुरी पार गरेर यहाँसम्म आइपुगेको सबै पानीमै गयो त?

नजाऊँ रातको बेला र बिरानो ठाउँ छ, सल्यान पुग्नु छ। जाऊँ त यति कष्ट खेपेर कसरी जान सकिएला!

दिमाग रन्थनियो। रिँगटा लागेजस्तो भयो। आँखा चिम्लिएँ। लागेको भोक-प्यास सबै हरायो। बित्थामा किन आएछु, के पाउन यस्तो असहज यात्रामा गर्न आइपुगेछु भन्दै मनमनै आफैँलाई धिक्कारेँ। आँखा डबडबायो। नचिनेका मान्छेहरूको घुँडामा बसेर यात्रा गरिरहेकी छु। उभिऊँ उभिन मिल्दैन, बसूँ त ठाउँ छैन। सुदेश मभन्दा दुब्लो मान्छे त बल्लतल्ल चार जनाको बीचमा कोचिएर अटाएको छ। म भने उनीहरूका घुँडामा आड लागेर छतमा टाउको टाँसेर जेनतेन अडिने कोसिसमा छु। गाडी उफ्रिँदा छतमा टाउको ठोक्किएर टुटुल्का उठेका थिए। कहिले दाङ आउला र यो नरकबाट मुक्ति पाइएला भनेर पुकारा गरिरहेकी थिएँ।

गाडी आफ्नै तालमा गुडिरहेको थियो। सबै यात्रु मौन थिए। त्यत्तिकैमा कसको मोबाइलमा घण्टी बज्यो। अघिल्लो सिटमा बसेकी महिलाको फोन बजेको रहेछ। उनले एकछिन कुरा गरेपछि बोल्नुस् भन्दै आफ्नो मोबाइल मलाई दिइन्। अक्क न बक्क परेँ, के, किन र कसको भन्दै। उनले भनिन्, “तपाईंहरूको ब्याग साटिएको रहेछ, उता गाडीको मान्छेको फोन आएको छ। कुरा गर्नुस् न!”

मैले आफ्नो ब्याग हेरेँ। यो त मेरै ब्याग हो। मैले केही बोल्न नभ्याउँदै सुदेश बोल्यो, “ओहो! मेरो ब्याग साटिएछ।”

लौ बर्बाद भयो! अब गर्ने के? दिमाग नै शून्य भयो। हाम्रो ओठ-तालु सुके। कष्टपूर्ण यात्रा गरेर त्यत्रो दुरी पार गरेर यहाँसम्म आइपुगेको सबै पानीमै गयो त?

सुदेशले फोनमा कुरा गर्‍यो। अब के गर्ने भन्ने कुरा हुँदा दाङ गएर गाडी कुर्ने सल्लाह भयो।

सुदेशको जस्तै ब्याग अँध्यारोमा साटिएछ। उसको एटीएम कार्ड, पर्स र लुगाफाटा त्यसमै थिए। ऊ चिन्तामा परेर सुस्केरा हाल्न थाल्यो। यात्राको यो सास्ती र झमेला देख्दा र भोग्दा मलाई भने नआउनुपर्ने यात्रामा आएछु भन्ने अनुभूति भयो।

चुकचुकाउँदै, पछुताउँदै करिब १० बजेतिर दाङको घोराही बजार पुग्यौँ। त्यहाँको बीपी चोकमा ओर्लियौँ। पसलहरू बन्द भइसकेका थिए। बजार क्षेत्र सुनसान थियो। दाङमा ९ बजेपछि नै बजार बन्द हुँदो रहेछ।

यात्राको कष्ट र ब्याग साटिँदाको तनाव त छँदै थियो, ब्याग साटिएका मान्छे सवार माइक्रोबस नआई बास कता बस्ने टुंगो थिएन। त्यसअघि भोक-प्यास शान्त पार्न रेस्टुराँको खोजीमा हिँड्यौँ। बाटोमा फाट्टफुट्ट मानिस हिँडिरहेका थिए। उनीहरूसँग सोधखोज गर्दै बसपार्कसम्म पुग्यौँ। त्यता पुग्दा बास बस्ने होटल भने भेटिए, खाना खाने ठाउँ भने पाइएन।

सल्यान साहित्य महोत्सवमा लेखकसहितको टोली

खानाको खोजीमा यताउता भौतारिँदै हिँड्दा निकै पर पुगेपछि बल्लतल्ल एउटा रेस्टुराँ भेट्यौँ, त्यो पनि बन्द गर्ने तर्खर हुँदै थियो। हतारिँदै भित्र पस्यौँ। रक्सीले मातेका मान्छेहरू निस्किरहेको देख्दा रेस्टुराँमा खानेकुरा पाइने आशा पलायो।

सोझै काउन्टरमा गएर खानेकुरा के के पाइन्छ भनेर सोध्यौँ।

हामी बसेको ठाउँनजिकै दुई जना प्रहरी सेन्ट्री बसेका थिए। रातभर ड्युटी रहेछ उनीहरूको। सोचेँ, दुई छाक खान यसरी चिसो रातमा खट्नुपर्ने कति कठिन जिन्दगी!

काउन्टरका मान्छेले निराश पारे, ‘रेस्टुरेन्ट बन्द भइसक्यो हजुर। खानेकुरा केही छैन।’

‘हामी धेरै भोकाएका छौँ। भात मात्र भए पनि हुन्छ। कृपया अलिकति केही दिनुहोस्,’ हामीले बिन्ती बिसायौँ।

हाम्रो हालत दयनीय थियो। हाम्रो याचनामा त्यो अवस्था झल्किएरै होला, एक बोतल पानी र बचेखुचेको थोरै भातमा नुन मात्र हालेर फ्राइ गरेर दिए। त्यही भात दुवै जनाले दुई-दुई चम्चा निल्यौँ र पानीको बोतल बोकेर त्यहाँबाट निस्कियौँ।

अब जानु कहाँ? बस्नु कहाँ? बास खोज्नतिर लागौँ भने ब्यागवाला मान्छेको गाडी कुन बेला आउने टुंगो छैन। मुख्य चिन्ता त भोलि बिहानै ७/८ बजेदेखि सल्यानमा कार्यक्रम छ। त्यही कार्यक्रममा सहभागी हुन काठमाडौँदेखि यत्रो हैरानी भोग्दै यहाँसम्म आइपुगिएको छ। दिक्क मान्दै हिँड्दै थियौँ, एक जना प्रहरी आएर एक सासमै केरकार गरे, “यति राति कता हिँडेको? को हो तपाईंहरू? कहाँबाट आउनुभएको?”

हामीले घटनाको बेलिविस्तार सुनायौँ। उनले हाम्रो परिस्थिति बुझे। बीपी चोकमा गएर बस्न सल्लाह दिए। त्यतै गयौँ। नेपालगन्जमा त गर्मी थियो, छिप्पिँदो रात भएर पनि होला, घोराहीमा धेरै चिसो थियो। सबै निदाइसकेको समयमा हामी भने बाटोमा माइक्रोबस कुरेर बस्न बाध्य थियौँ। मेरो जीवनको कहालीलाग्दो यात्रा भोगिरहेको थिएँ। हाम्रो कष्ट र तनावको साक्षी बीच सडकमा रहेको बीपीको सालिक मात्र थियो।

मध्यरातमा बाटोछेउमा बसिरहेका थियौँ, बाइकमा दुई जना केटा हामी भए ठाउँमै आए। हामी डरायौँ। तर, बुझ्दै जाँदा उनीहरूको सामान त्यही माइक्रोबसमा आउँदै रहेछ र लिन आएका रहेछन्। त्यो गाडी पर्खने अब चार जना भयौँ। हामी बसेको ठाउँनजिकै दुई जना प्रहरी सेन्ट्री बसेका थिए। रातभर ड्युटी रहेछ उनीहरूको। सोचेँ, दुई छाक खान यसरी चिसो रातमा खट्नुपर्ने कति कठिन जिन्दगी!

एक जना प्रहरी मनेर आएर सबै कुरा सोधखोज गरे। मैले यात्राको सबै घटना सुनाएँ। अलि पर बाइकवाला केटाहरूसँग गफिएको सुदेश प्रहरी देखेर यतै आयो।

प्रहरी यताउता डुल्न थालेपछि उनीहरू फेरि गफमा मग्न भए। मलाई भने चिसोले पेट, खुट्टा र टाउको दुख्न थाल्यो। सडकपेटीमा सटरछेउ कुकुरहरू सुतेको ठाउँनेर गएँ। फलफूल व्यापारीले फालेका केही टुक्रा कार्टुन जम्मा गरेँ, कुकुरहरूकै नजिक खाली ठाउँमा ओछ्याएर बसेँ।

आज पनि जब जब कुनै ठाउँको यात्रा गर्ने कुरा हुन्छ, त्यही कष्टकर सल्यान यात्रा सम्झन पुग्छु। सल्यान शब्द सुन्नेबित्तिकै त्यो भुक्तमान ताजा भएर आउँछ।

छिप्पिँदो रातसँगै चिसो बढ्दै थियो। सुनसान रात, बिरानो ठाउँ, सुदेशबाहेक सबै अन्जान पुरुष। जाडो, डर र निद्राले मेरो शरीर काम्न थालेको थियो। ब्यागबाट निकालेर लुगा खप्ट्याएर लगाएँ। चिसोका कारण खुट्टा दुखिरहेका थिए। यात्राको सकसले जीउ जहाँ छोयो त्यहाँ दुख्ने हालतमा थियो। सर्लक्क खुट्टा पसारेर सुत्न मन लागिरहेको थियो। कुन बेला न्यानो सिरकभित्र पसेर ढाड सोझ्याऊँ जस्तो भइरहेको थियो। तर विडम्बना, आजको रात सडकपेटीमै बित्नेवाला थियो। काखमा ब्याग राखी टाउको अड्याएँ, आँखा झप्प भयो। तलबाट चिसो पसिरहेको थियो। पेट, कम्मर, खुट्टा, टाउको, जीउ के के दुखेको हो, पत्तो पाउन छोडिसकेकी थिएँ। सुदेश केटाहरूसँग पारिपट्टि गफिइरहेको थियो। चिसो रातका सेकेन्ड, मिनेट हुँदै वर्षजस्ता घण्टाहरू बितिरहेका थिए। तर, त्यो माइक्रोबस आउने अत्तोपत्तो थिएन।

बाटोमा गाडी गुड्न छोडिसकेका थिए। रातको करिब २ बजेतिर माइक्रोबस आइपुग्यो। सुदेशले आफूसँग भएको ब्याग फिर्ता गर्‍यो र आफ्नो सामान लियो।

रातको २ बजे न सल्यान जाने गाडी पाउनु, न त यसबेला बास पाउनु। सडकपेटीमै गाडी पर्खेर बस्नुको विकल्प थिएन। बेलाबेला प्रहरी आएर सोधपुछ गर्थे, मध्यरातमा किन हिँडेको भन्दै। हामी आफ्नो तीतो भोगाइ सुनाउँथ्यौँ।

करिब ४ बजे तरकारी बोकेको एउटा गाडी सल्यानतर्फ जाने सडकमा आयो। हामीले गाडी रोक्यौँ र आफ्नो हालत सुनाएर सल्यान लगिदिन बिन्ती बिसायौँ। चालक मनकारी रहेछन्। चालकको सिटछेउमा बस्न पायौँ। राहतको सास फेर्‍यौँ। रातभर चिसोमा कठ्यांग्रिएको ज्यान न्यानो भयो। रातिको अनिदोले गर्दा गाडीमा मस्त निदाइएछ। बिहान ८ बजे सल्यान पुगेपछि बिउँझिएँ।

आज पनि जब जब कुनै ठाउँको यात्रा गर्ने कुरा हुन्छ, त्यही कष्टकर सल्यान यात्रा सम्झन पुग्छु। सल्यान शब्द सुन्नेबित्तिकै त्यो भुक्तमान ताजा भएर आउँछ।