काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सरकारले घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित तयारी गरिरहेको दाबी गरेकी छन्।
२२औँ ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषद्वारा वसन्तपुरमा बिहीबार आयोजित कार्यक्रममा उनले २१ फागुनमा हुने निर्वाचनमार्फत सत्ता युवापुस्ताको हातमा हस्तान्तरण गर्दै देशलाई द्रूत विकासको बाटोमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन्।
२३ र २४ भदौको जेन-जी आन्दोलनबाट धेरै पाठ सिकिएको उल्लेख गर्दै उनले आन्दोलनका चाहना पूरा गर्न सबै पक्ष एकजुट हुन आह्वान गरिन्। “आगामी फागुन २१ गते आमनिर्वाचन गराइ युवा शक्तिको हातमा सत्ता सुम्पेर मुलुकलाई तीव्र विकासको मार्गमा लैजानु नै हाम्रो दायित्व हो‚” उनले भनिन्, “त्यसैले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित सरकार पूर्ण रूपमा तयारीमा जुटिरहेको छ। अभियानलाई सफल बनाउन सबै नेपालीको सहयोग अपेक्षा गर्दछु।”

प्रधानमन्त्री कार्कीले ५०० भन्दा बढी गुठीले सम्हाल्दै आएको सांस्कृतिक परम्परा, जात्रा-पर्वलाई संरक्षण र प्रवर्द्धन गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको पनि उल्लेख गरिन्। त्यसका लागि सरकारले सक्दो सहयोग र सहकार्य गर्ने उनको प्रतिबद्धता छ।
प्रधानमन्त्री कार्कीले दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै संस्कृतिलाई पर्यटनसँग जोडेर अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने क्रममा मौलिक नीतिहरूलाई जोगाउन विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्।