काठमाडौं। इरान समर्थित हूथी विद्रोही समूहले इजरायलको हवाई हमलामा प्रधानमन्त्री अहमद गलेब नासिर अल-राहावी मारिएको पुष्टि गरेको छ।
हूथी समूहका अनुसार इजरायल डिफेन्स फोर्सेसले बिहीबार यमनको राजधानी साना क्षेत्रमा हवाई हमला गर्दा केही हूथी मन्त्रीहरू सहित अन्य वरिष्ठ अधिकारीहरू हमलामा घाइते भएका छन्।
साउदी अरेबियाको समाचार साइट अल-हदथले हूथीका परराष्ट्रमन्त्री, न्याय, युवा र खेलकुद, सामाजिक मामिला र श्रम मन्त्रीहरू इजलायली हमलामा मारिएका छन्।
हूथी उपप्रधानमन्त्री मोहम्मद अहमद मिफताहले राहावीको स्थान ग्रहण गर्ने जनाइएको छ। राहावीले सन् २०२४ अगस्टदेखि पद सम्हाल्दै आएका थिए र विद्रोही समूहको मुख्य निर्णय प्रक्रियामा भन्दा प्रायः प्रतीकात्मक नेताको रूपमा मानिन्थे।
हूथी आन्दोलनका सर्वोच्च नेता अब्दुल-मालिक अल-हुथी, समूहका रक्षा मन्त्री र सेनाध्यक्ष भने बिहीबारको हमलामा जोगिएको बताइएको छ।
इजरायल र हमासबीचको गाजा युद्ध सुरु भएयता, हूथीहरूले नियमित रूपमा इजरायलमाथि क्षेप्यास्त्र प्रहार गर्दै रेड सी र एडेनको गल्फमा व्यावसायिक जहाजलाई लक्षित गर्दै आएका छन्।