नारायणगोपाल विशेष
२००८ सालमा नाटकमा दृष्टिविहीन गायकको अभिनय गरेका नारायणगोपाल अद्भुत गायकीबाट घर घरको आवाज बने।
२००८ सालको इन्द्रजात्रापछि काठमाडौँको मुटु मानिने वसन्तपुर डबलीमा एउटा नाटक मञ्चन गरियो। नाम थियो– किसान। करिब एक महिना मञ्चन गरिएको नाटकमा दृष्टिविहीन सुरदासको अभिनय गरेका थिए, किलागलः घर भएका १२ वर्षीय एक किशोर। जसले स्टेजमा सन्देशमूलक गीत गाउँदै जीवन्त अभिनय गरे। उनको स्वरको प्रशंसा भयो।
किलागलःमा उनी सानु बाबुको उपनामले चिनिन्थे। वसन्तपुर डबलीमा एक महिना त्यो नाटक मञ्चन भएपछि उनको परिचयको घेरा फैलियो। उनी सहरभित्र चर्चाका पात्र बने।
यो कथा हो, स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको। उनले आफ्ना पुर्खाबाट गुरुवाचार्य थर पाएका थिए। मल्लकालका राजा जयस्थितिले उनको परिवारलाई गुरुको दर्जा दिएका थिए।
मल्लकालमै उनको परिवारभित्र एउटी छोरीको जन्म भयो। बैंसमा निकै रूपवती उनलाई राजाले आँखा गाडेपछि गुरुवाचार्य खलकलाई उपत्यकामा बस्न मुस्किल भयो। नारायणगोपालका पुर्खा बसाइँ सरेर नुवाकोटको ढिकुरे पुगे। उनीहरूलाई उपत्यका फर्कन मल्लशासनको पतन कुर्नुपर्यो।
नारायणगोपालको कुल घर पाटनको इखालखु हो। कोतपर्वअगाडि उनका पुर्खा पाटनमै बसे। जंगबहादुर राणाको उदयसँगै उनको परिवार काठमाडौँ प्रवेश गर्यो। जंगबहादुरको उदयले शाहवंशसँग निकट मानिएका कुलानन्द झा कमजोर बने। बांगेमुढादेखि किलागलःसम्म सातवटा चोक रहेको भव्य महल कुलानन्दकै थियो। उनी कमजोर भएसँगै सरकारले त्यस क्षेत्र आफ्नो कब्जामा लियो। उनको महल लिलाम हुँदा किलागलःमा रहेको एउटा चोक किन्ने अवसर पाए, नारायणगोपालका जिजुबुवा कुलबहादुर गुरुवाचार्यले।
आफू हुर्केको किलागल:मै नारायणगोपालले संगीतको संसर्ग पाए। कुनैबेला मल्ल राजालाई तन्त्रमन्त्रको दीक्षा दिने यो परिवारमा संगीत कसरी प्रवेश गर्यो? यसको कहानी रोचक छ।
नारायणगोपालमा संगीतको प्रभाव आफ्नो बुवा आशागोपालबाट विस्तार भएको पाइन्छ। नारायणगोपालका भाइ मनोहरगोपाल (७७) सम्झन्छन्, “पहिले बुवा आयुर्वेदिक औषधोपचार गर्ने कविराज हुनुहुन्थ्यो। उहाँले पोखराबाट तालिम नै लिनुभएको थियो। काठमाडौँमा बुवाको राम्रै छवि थियो। उपत्यकाका विभिन्न ठाउँबाट उपचारका लागि हाम्रो घरमा आउने बिरामीको राम्रै चहलपहल हुन्थ्यो।”
आशागोपाल भगवान् विष्णुका भक्त थिए। त्यसैले उनले सबै ६ भाइ छोराको नाम विष्णु भगवान्को कुनै न कुनै रूप दर्साउने गरी राखे।
१९९० सालतिर आशागोपाल आफ्नो काममा व्यस्त रहेकै बेला उनको छिमेकमा भाडामा बस्न आइपुगे, कोमलध्वज। उनी सितार राम्रो बजाउँथे। “उहाँ कहाँबाट बसाइँ सरेर आउनुभयो थाहा भएन, तर कोमलध्वजको प्रतिभाबाट बुवा प्रभावित हुनुभयो। उहाँले कोमलध्वजबाटै सितार सिक्नुभएको थियो,” बुवाले आफूलाई सुनाएको कथा दोहोर्याउँदै मनोहर भन्छन्, “बुवामा सितारको चस्का कोमलध्वजबाट पसेको थियो, सान्दाइ (नारायण गोपाल)ले घरमै संगीतको माहोल पाउनुभयो।”

नारायणगोपालका बुवा वरिष्ठ सितारवाधक उस्ताद आशागोपाल गुरुवाचार्य। तस्बिर स्रोत : रामगोपाल गुरुवाचार्य
आशागोपालले सितारको प्रारम्भिक ज्ञान कोमलध्वजबाट पाए पनि पूर्णता कृष्णचन्द्र र पूर्णचन्द्र रेग्मीबाट पाए। “कोमलध्वज डेरा सरेर गएपछि बुवाले कृष्णचन्द्र रेग्मी र पूर्णचन्द्र रेग्मीलाई गुरु थापेर सितार सिक्नुभयो,” मनोहर थप्छन्।
नारायणगोपालका मावली हजुरबुवा गजेन्द्र प्रधानको राणाकालमा ठूलो रबाफ थियो। उनी मकवानपुरे गढीका सुब्बा थिए। ससुराकै प्रभावले १९९६ सालमा आशागोपालले जेलरको जागिर खाए, त्यो पनि सिरहाको भगवानपुरमा।
आशागोपालको ज्यान पहिल्यैदेखि खाइलाग्दो थियो। पाँच फिट १० इन्च अग्ला थिए। राणाकालमा खाइलाग्दा र बलियो देखिने व्यक्तिलाई पुलिस, प्रशासनमा भर्ती गरिन्थ्यो। त्यसैले आशागोपाललाई थानेदार पदमा नियुक्त हुन खासै गाह्रो परेन। उनी सिरहामा कार्यरत रहँदा श्रीमती रामदेवी गर्भवती थिइन्। त्यहीँ नारायणगोपालको जन्म भयो, १९९६ सालमा। उनी जन्मिएको तीन वर्षपछि बहिनी जन्मिइन्। भगवानपुरमा जन्मिएको हुनाले बहिनीको नाम भवानी राखियो।
आशागोपाल भगवान् विष्णुका भक्त थिए। त्यसैले उनले सबै ६ भाइ छोराको नाम विष्णु भगवान्को कुनै न कुनै रूप दर्साउने गरी राखे। नारायणगोपालका अर्का भाइ रामगोपाल (६६) भन्छन्, “दाजुहरूमा जेठा नन्दगोपाल, यसपछि नारायणगोपाल, हेमगोपाल, मनोहरगोपाल, म (रामगोपाल) र भाइ (लक्ष्मणगोपाल)– सबै विष्णु भगवान्सँगै जोडिएको नाम त हो नि।”
आशागोपालका कुल सन्तान १० जना हुन्। तर, धेरै ठाउँमा नौ जना लेखेको पाइन्छ। रामगोपाल भन्छन्, “हाम्रो परिवारमा सबैभन्दा ठूलो सन्तान दिदी सरस्वती हुन्। उनको जन्म १९८८ सालमा भएको थियो। १९९० सालमा जेठा दाजु नन्दगोपाल जन्मनुभयो। उहाँलाई हामी ठुल्दाइ र नारायण दाइलाई सान्दाइ सम्बोधन गर्थ्यौं। छोरीहरूमा जेठी सरस्वती, यसपछि भवानी, मिनु (चुनदेवी) र कान्छी शान्ति हुन्।”
घरको ठूलो दलानमा ठोक्दै गीत गुनगुनाउन थालेपछि मात्र सबैले नारायणगोपालको संगीतमोह ‘नोटिस’ गर्न थालेका थिए।
नारायणगोपालभन्दा अगाडिको एउटा गर्भ तुहिएको थियो। आशागोपाल जागिरको बहानामा सिरहा जानुमा सन्तान गुमाउनुको पीडा पनि हुनसक्ने छोरा रामगोपाल बताउँछन्। करिब पाँच वर्ष सिरहामा कार्यरत रहेकै अवस्थामा आशागोपाललाई कालाज्वरले समात्यो। उनी जागिर छोडेर २००० सालतिर काठमाडौँ फर्किए। “बुवालाई निको हुन करिब एक वर्ष लाग्यो। त्यसबेला तराईमा कालाज्वरको बिगबिगी थियो,” ८२ वर्षीया छोरी भवानी सम्झन्छिन्।

नारायणगोपालकी आमा (बीचमा) र उभिएकी दायाँपट्टि बहिनी भवानी। तस्बिर स्रोत : रामगोपाल गुरुवाचार्य
काठमाडौँ फर्किएलगत्तै आशागोपालले सिरहामा जागिर गरुन्जेल छुटेको सितारको अभ्यासलाई फेरि निरन्तरता दिए। यतिबेला किलागलःमा स्थानीय गानाबजाना गर्नेहरूको जमघट ह्वात्तै बढ्यो। घरसमाजको सांगीतिक माहोलमा हुर्केका नारायणगोपाल कतिबेला संगीतमा डुबे, घरका अन्य सदस्यलाई पत्तै भएन। “मलाई अझै याद छ, नारायण दाइ काठको दलानलाई तबला बनाएर आवाज निकाल्नुहुन्थ्यो। प्रायः साँझ घरमा महफिल जम्थ्यो। तबला उस्ताद साइँला काजी दिनहुँ हाम्रो घरमा पाल्ने। १०-१२ जनाको जमघट त कहिल्यै टुट्दैनथ्यो,” बहिनी भवानी भन्छिन्।
घरको ठूलो दलानमा ठोक्दै गीत गुनगुनाउन थालेपछि मात्र सबैले नारायणगोपालको संगीतमोह ‘नोटिस’ गर्न थालेका थिए। “हामी बिहान मस्त निद्रामा हुन्थ्यौँ, उहाँ काठको सिँढीको छेउछाउमा रहेका काठलाई तबला बनाएर गीत गुनगुनाउनुहुन्थ्यो,” भवानी सम्झन्छिन्, “गीत गाउने तालिम कसैसँग लिनुभएको थिएन, तर आवाज यति कर्णप्रिय थियो कि निद्रा बिग्रियो भनेर हामी प्रतिवाद गर्नै सक्दैनथ्यौँ।”
“सान्दाइसँग आमाको दुखेसो पनि त्यही हुन्थ्यो– कमसे कम खान त बेलैमा घर आउनू। त्यो अवस्था जीवनपर्यन्त रह्यो।”
यस्तैमा ठुल्दाइ नन्दगोपाल आफ्नो भाइका लागि प्रेरणा बनेर उभिए। नन्दगोपाल २००७ सालताका किलागलःमा कहलिएका क्रान्तिकारी कम्युनिस्ट नेता थिए। नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा पुष्पलालसँग उनको दोस्ती थियो। २००७ सालको आन्दोलनमा हनुमानढोकाबाट पहिलो मसाल जुलुस निकाल्ने नेता नन्दगोपाल नै थिए। यसबापत उनी केही महिना जेलमा थुनिएका पनि थिए। सात सालको क्रान्ति सफल भएपछि मात्र उनी जेलमुक्त भए।
२००८ सालमा हनुमानढोका क्षेत्रमा प्रदर्शन भएको किसान नाटकको लेखक उनै नन्दगोपाल थिए। कृष्णचन्द्र सिंहले सम्पादन गरेको उक्त नाटकमा गणेशप्रसाद श्रेष्ठ (बहिरा)ले संगीत भरेका थिए। भाइको क्षमताबारे पहिल्यै जानकार ठुल्दाइ नन्दगोपालले यही नाटकमार्फत नारायणगोपाललाई ‘ब्रेक’ दिए।

१२ वर्षको उमेरमा नारायणगोपाललाई पहिलोपटक स्टेजमा उभ्याउने ठूल्दाजु नन्दगोपाल गुरुवाचार्य (बीचमा)। तस्बिर स्रोत : रामगोपाल गुरुवाचार्य
नाटकमा एक दृष्टिविहीनले अभिनय गर्दै गीतमार्फत सन्देश प्रवाह गर्नुपर्ने सुरदासको भूमिका थियो। “ठुल्दाइले तैँले सक्छस् भनेर नारायण दाइलाई स्टेजमा उभ्याइदिनुभयो। उहाँले त्यो दृश्यलाई आफ्नो सुरिलो आवाज र अभिनयले यति जीवन्त बनाइदिनुभयो, पछि त्यो नाटकको आकर्षण बन्यो,” नारायण गोपालभन्दा नौ वर्षले कान्छा भाइ मनोहर भन्छन्।
नाटक सम्पन्न भएपछि नारायणगोपाललाई हनुमानढोका वरिपरि नचिन्ने कोही भएन। “सबैले बोलाउने, गाउन लगाउने, चियानास्ता खुवाउने। घरमा उहाँको बास बिस्तारै पातलिन थाल्यो,” मनोहर सम्झन्छन्, “सान्दाइसँग आमाको दुखेसो पनि त्यही हुन्थ्यो– कमसे कम खान त बेलैमा घर आउनू। त्यो अवस्था जीवनपर्यन्त रह्यो।”
१२ वर्षको उमेरमा एउटा नाटकबाट चर्चा बटुलेका नारायणगोपालको जीवनमा अर्को सुखद मोड त्यतिबेला आयो, जब चारपाँच वर्षको बीचमा किलागलःकै उनको घरअगाडि चर्चित लेखक राममान तृषित डेरा बस्न आए। नारायणगोपाल कक्षा १० को परीक्षा दिएर बसेका थिए। राममानको डेरामा शिवशंकर मानन्धर, प्रेमध्वज प्रधानजस्ता चर्चित कलाकार आउजाउ गर्थे। यसले नारायणगोपालको पनि ध्यान खिच्यो। मनोहर भन्छन्, “प्रोफेसनल गायकसँग उहाँको संगत यहीँबाट सुरु भएको हो। यहीँ उहाँले पहिलोपल्ट प्रेमध्वज र माणिकरत्नहरूलाई भेट्ने अवसर पाउनुभयो। प्रेमध्वजहरू पहिले नै गीत गाएर चर्चित भइसकेका थिए, दाइले गाउने मौका नै पाउनुभएको थिएन।”
राममानसँगको यही संगत नारायणगोपालका लागि कालान्तरमा वरदान साबित भयो। उनले राममानले लेखेका दुइटा गीत ‘मान्छेको माया यहाँ’ र ‘मैले पुण्य मन पराएँ’ गाए।
२०१५ सालमा त्रिचन्द्र कलेजमा भर्ना भएपछि नारायणगोपालको सांगीतिक यात्राले उडान भर्यो। त्यहीँ उनको भेट कवि/गीतकार रत्नशमशेर थापासँग भयो। “रत्न दाइसँग उहाँको जोडी खुब जम्यो। घरको एउटा कोठामा बसेर रत्न दाइ गीत लेख्ने, नारायण दाइ गाउने,” कान्छा भाइ लक्ष्मण सम्झन्छन्।

स्वयम्भूको सरस्वतीस्थानमा भाइहरूसँग दायाँबाट क्रमशः नारायणगोपाल, मनोहरगोपाल, रामगोपाल र लक्ष्मणगोपाल। तस्बिर स्रोत : रामगोपाल गुरुवाचार्य
त्रिचन्द्र कलेजमा पढ्दाको सुरुआती दिनमा नारायणगोपालले तबला बजाए। त्रिचन्द्रमा कहलिएका गायकहरू अध्ययनरत थिए। तर, रत्नसँग हिमचिम बढेपछि नारायणगोपालको परिचय फेरियो। रत्नले नारायणगोपालका लागि एउटा गीत लेखेका थिए, ‘स्वर्गकी रानी, मायाकी खानी’। त्रिचन्द्रमै पढ्दै गर्दा नारायणगोपालले त्यो गीत रेकर्ड गराए। यसपछि उनी आफ्नो टोल र सहरमा मात्र सीमित रहेनन्, देशभरि प्रख्यात बने। मनोहर सम्झन्छन्, “रत्नले किलागलःकै घरमा ६ वटा गीत ‘स्वर्गकी रानी’, ‘ए कान्छा ठट्टैमा यो जोबन जान लाग्यो’, ‘भो भो नसोध’, ‘कुञ्जमा गुन्जियो’, ‘आँखाको भाका’ लेख्नुभयो। यीमध्ये ‘स्वर्गकी रानी’ खुब हिट भयो।”
पहिलो गीत नै हिट भएपछि नारायणगोपालले फर्केर हेर्नुपरेन। तर, बुवा आशागोपाल छोराले ‘झ्याउरे गीत’ (त्यतिबेला सुगम संगीतलाई पनि झ्याउरे भनिन्थ्यो) भन्दा पनि शास्त्रीय संगीत पछ्याओस् भन्ने चाहन्थे। मनोहर भन्छन्, “बुवाले दबाब त दिनुभएन, तर क्लासिकलमा गायकहरूको जुन इज्जत हुन्छ, त्यो झ्याउरेमा हुँदैन भन्नुहुन्थ्यो।”
काठमाडौँमा छात्रवृत्ति पाउनेको नाम सार्वजनिक हुँदा नारायणगोपाल गीत रेकर्डिङका लागि प्रेमध्वज प्रधानहरूसँगै कोलकाता पुगेका थिए।
आशागोपाल रेडियो नेपालका पहिलो पुस्ताका संगीतकार हुन्। २००८ सालमा रेडियो नेपालले संगीतकारका लागि पहिलो भर्ना खोल्दा उनी सितारवादकका रूपमा प्रवेश गरेका थिए। त्यसैले शास्त्रीय गायकहरूसँग उनको राम्रो हिमचिम थियो। उनी नारायणहिटी दरबारमै गएर सितार बजाउँथे। २०२२ सालताका जयनेपाल सिनेमाघरबाट फिल्म हेरेर फर्कंदा दरबारमार्गतिर राजा महेन्द्रले आफ्नो रातो गाडी रोकेर आशागोपाललाई बोलाएको घटनाका साक्षी हुन्, छोरा रामगोपाल। २०२६ सालमा युवराज वीरेन्द्रको बिहे हुँदा नारायणहिटीमा विदेशी पाहुनालाई आफ्नो सितार कौशल देखाउने कलाकारको सूचीमा आशागोपाल पनि समावेश थिए। “सितार बोकेर जाने व्यक्ति म नै हुँ,” मनोहर भन्छन्। त्यसैले उनलाई शास्त्रीय संगीतप्रति ठूलो गर्व थियो।
तर, २०२१ सालतिर दार्जिलिङमा गोपाल योञ्जनसँग नारायणगोपालको भेट भएपछि यी दुईले मिलेर नेपाली सुगम संगीतलाई जुन उचाइमा पुर्याए, यसपछि बुवा आशागोपालको धारणा बदलियो। नारायणगोपाल घर घरको आवाज बने। बुवाले भन्ने गरेको कुरा सम्झँदै रामगोपाल भन्छन्, “छोराले कुलको नाम राख्यो भन्नुहुन्थ्यो। दाइका हरेक निर्णयमा साथ दिनुभयो।”
यसको सानो उदाहरण भारतको बरोडामा छात्रवृत्ति पाएर पढ्न जाने बेला आशागोपालले देखाएको सक्रियता हो। २०२२ सालमा नारायणगोपाललाई छात्रवृत्तिमा पठाउन उनले भारतीय दूतावास पुगेर सबै कागजी प्रक्रिया पूरा गराएका थिए।

तल्लो लहरमा दायाँबाट नारायणगोपाल, हेमगोपाल र रामगोपाल। उभिएका दायाँबाट आमा रामदेवी र भाइबुहारीहरू। तस्बिर स्रोत : रामगोपाल गुरुवाचार्य
काठमाडौँमा छात्रवृत्ति पाउनेको नाम सार्वजनिक हुँदा नारायणगोपाल गीत रेकर्डिङका लागि प्रेमध्वज प्रधानहरूसँगै कोलकाता पुगेका थिए। उनलाई खिचापोखरीको एउटा निजी कम्पनीले १५ दिनका लागि भनेर लगेको थियो। तर, महिना दिन बितिसक्दा पनि छोरा फर्कने छाँट नदेखेपछि आशागोपाल म्युजिक कम्पनीका मालिकसँग झगडा गर्न गए। आशागोपालको त्यो प्रयास सफल भयो। म्युजिक कम्पनीका मालिकले सुरुमा नारायणगोपालको गीत धमाधम रेकर्ड गर्न लगाएर घर फर्कने वातावरण बनाए।
“बुवा नलागेको भए दाइको छात्रवृत्तिको कोटा नै क्यान्सिल हुन्थ्यो। लिखितमा नाम निस्किएर मौखिक अन्तर्वार्ताका लागि मिति नजिकिँदै गर्दा दाइको फर्कने सुरसार नै थिएन। त्यसैले बुवा झगडा गर्न जानुभयो। बुवाकै सक्रियतापछि दाइ भारतमा पढ्न जानुभएको हो,” मनोहर इतिहास कोट्याउँछन्।
नारायणगोपालको चर्चा गर्दा धूमपान र मदिराको कुरा आएन भने त्यसले पूर्णता पाउँदैन। उबेला पुरुषहरूले धूमपान गर्नु सामान्य कुरा मानिन्थ्यो। तर, नारायणगोपालले चुरोट पिउन थालेको सुइँको परिवारले उनी कलेज पढ्न थालेपछि मात्र पायो। “घरको माहोल चुरोट पिउने खालकै थियो, तर हामीले सानोमा नारायण दाइले चुरोट पिएको थाहा पाएनौँ। कलेज पढ्न थालेपछि, विशेषतः उहाँको गीत रेकर्ड भएपछि हातमा चुरोट च्यापेर आउनुहुन्थ्यो,” मनोहर भन्छन्, “चुरोट पिउनु भनेको त्यतिबेला सानकै कुरा थियो।”
चुरोट र मदिराको अम्मलबाहेक नारायण गोपालको अर्को कमजोरी थियो– चेस। उनी चेस खेल्न बसेपछि रात बितेकै थाहा पाउँदैनथे।
समाजमा नारायणगोपालको जति प्रसिद्धि फैलिँदै गयो, चुरोटको खपत पनि बढ्दै गयो। मदिराको लत भने न्युरोड टिम (एनआरटी)का फुटबल खेलाडीसँगको संगतले बस्यो। त्यतिबेला एनआरटी काठमाडौँको जल्दोबल्दो फुटबल क्लब थियो। नारायणगोपाल फुटबल भनेपछि भुतुक्कै हुने। खेलाडी जम्मा हुने ठाउँ न्युरोडको खिचापोखरी थियो। जहाँ किलागलःदेखि केवल १० मिनेटको पैदलमा पुगिन्थ्यो।
एनआरटीमा बच्चु राणा प्रभावशाली स्ट्राइकर थिए। उनको खेलबाट नारायणगोपाल मन्त्रमुग्ध। बच्चु भने नारायणगोपालको गीतबाट। दुई जनाको दोस्ती खुब जम्यो। यसपछि नारायणगोपाल मदिरामा डुब्न थाले। “बच्चु राणा सधैँ दाइलाई बोलाउन आउँथे,” मनोहर भन्छन्, “दाइसँग पैसा नहुने, उनीहरू खर्च गर्ने। यसबापत दाइले गीत सुनाउनुपर्ने। उहाँलाई रक्सीको लत लागेको यहीँबाट हो।”
नारायणगोपालले पाँच वर्ष बच्चुसँग दह्रो संगत गरे। संगीतमा डुबेपछि भने उनले बच्चुको संगत चटक्कै छोडे, तर मदिराको लत छोड्न सकेनन्। “किड्नीको समस्या भएर बैंकक जाँदा पनि उहाँ भाउजूको आँखा छलेर रक्सी पिउन मरिहत्ते गर्नुहुन्थ्यो,” नारायणगोपालको जीवनको अन्तिम समयसम्म साथमा रहेका भाइ रामगोपाल भन्छन्।

माथि बायाँबाट : नारायणगोपाल, मनोहरगोपाल, रामगोपाल र लक्ष्मणगोपाल। दोस्रो लहरमा बहिनी मिनु, आमा रामदेवी, सानीमा जनकदेवी, बहिनी भवानी र आफन्त बहिनी मोहनी। तेस्रो लहरमा ठूली भान्जी रीता, श्रीमती पेमला, बुहारीहरू विद्या (मनोहर), रोशनी (राम), मीरा (लक्ष्मण)। तस्बिर स्रोत : रामगोपाल गुरुवाचार्य
चुरोट र मदिराको अम्मलबाहेक नारायण गोपालको अर्को कमजोरी थियो– चेस। उनी चेस खेल्न बसेपछि रात बितेकै थाहा पाउँदैनथे। भेडासिंहमा उबेला सुकदेव राजवंशी नाम गरेका नामुद चेस खेलाडी थिए। उनी जाडोको समयमा चेस खेल्न नारायणगोपालको घर सिरक ओढेरै पुग्थे। “बेलुका खाना खाएर बसेपछि रात छ्यांगै हुने। दुवै सिरक ओढेर चेसमा मग्न,” राम भन्छन्।
रमाइलो कुरा, नारायणगोपाललाई एकपल्ट चोरीको आरोप पनि लाग्यो। घटना थियो, २०१८ सालको। भारतको कोलकातामा नारायणगोपालले पहिलो गीति एल्बम रेकर्ड गर्नुअघि खिचापोखरीको एक रेकर्डिङ स्टुडियोले उनीसँग ‘जाग, लम्क, चम्क हे’ गीतका लागि संगीत कम्पोज गर्न लगायो। रत्नशमशेरले लेखेको यस गीतमा नारायणगोपालले संगीत भर्नुका साथै स्वर पनि दिए। त्यतिबेला नारायणगोपाल बेरोजगार थिए। त्यसैले पैसाको अभाव भइरहन्थ्यो। एकदिन उनी आफ्नो पारिश्रमिक माग्न स्टुडियो पुगे। जति अनुनय गर्दा पनि स्टुडियो मालिकले टारिरहे। यो देखेर अपमानित महसुस गरेका नारायणगोपाललाई खुब झोक चल्यो। उनी स्टुडियोमा रहेको हार्मोनियम बोकेर हिँडे।
बुवा रेडियो नेपालको जागिरबाट सेवानिवृत्त भएपछि घर चलाउन नारायणगोपालले पनि सघाए। २०३५ सालमा बुवा बितेपछि उनले आमालाई मासिक ५०० रुपैयाँ दिन थाले।
उनको त्यो रौद्र रूप स्टुडियो मालिकका लागि अस्वाभाविक थियो। उसले प्रहरीमा रिपोर्ट हाल्यो। अनुसन्धानका क्रममा प्रहरीले कुरा बुझ्यो। यसपछि मुद्दा ढिसमिस भयो। “दाइले किलागलेः रिस फेर्नुभयो। उहाँले पारिश्रमिक पाएपछि कुरा मिल्यो। स्टुडियो मालिकले हार्मोनियम फिर्ता लिएर गयो,” मनोहर सम्झन्छन्।
परिवारसँग नारायणगोपालको विशेष लगाव थियो। २०२७ सालमा दार्जिलिङबाट पेमला लामासँग बिहे गरेर घर भित्र्याएपछि उनले आफ्ना दुई जम्ल्याहा भाइ राम-लक्ष्मणलाई देखाउँदै भने, ‘ल तिम्रा छोरा या देवर जे भने पनि यिनीहरू नै हुन्। राम्रो हेरविचार गर्नू। राम र लक्ष्मणबीच १० मिनेटको फरक हो।’
त्यो घटना सम्झँदै राम भन्छन्, “हामीलाई एसएलसीसम्म भाउजूले पढाउनुभयो। दार्जिलिङमा पढ्नुभएकाले उहाँको अंग्रेजी राम्रो थियो। हाम्रो स्कुलको शुल्क तिर्नेदेखि लत्ताकपडा किन्ने सबै कुरा दाजुले गरिदिनुहुन्थ्यो।”
बुवा रेडियो नेपालको जागिरबाट सेवानिवृत्त भएपछि घर चलाउन नारायणगोपालले पनि सघाए। २०३५ सालमा बुवा बितेपछि उनले आमालाई मासिक ५०० रुपैयाँ दिन थाले।
स्वरसम्राट् नारायणगोपालको निधन भएको ३५ वर्ष बितिसकेको छ। तर, उनको कुरा गर्दा अहिले पनि परिवारका जीवित चार सदस्यका आँखा रसाउँछन्।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राखिएको नारायणगोपालको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरिरहेका तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र रातो स्वेटरमा भाइ लक्ष्मणगोपाल। तस्बिर स्रोत : रामगोपाल गुरुवाचार्य
राम सम्झन्छन्, “दसैँमा उहाँ आउँदा घरको माहोल नै अर्कै हुन्थ्यो। विदेशी रक्सी ल्याउने। सबै दाजुभाइ, दिदीबहिनी, भाउजू-बुहारीलाई राखेर रमाइलो गर्नुपर्ने। भाउजू पनि घरप्रति उत्तिकै समर्पित। गजब हुनुहुन्थ्यो हाम्रा दाजु।”