काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

खराब प्रदर्शनका कारण अस्ट्रेलिया भासिएका ‘डेथ बल विशेषज्ञ’ अविनाश एनपीएल-२ मा सर्वाधिक विकेटकर्ताको सूचीमा दोस्रो स्थानमा छन्।

२१ मंसिर २०८२
सुदूरपश्चिम रोयल्सका अविनाश बोहरा। सबै तस्बिर : एनपीएल
अ+
अ-

५९ इनिङ्समा दुई मेडनसहित ७५ विकेट, यो तथ्यांक हेर्दा अविनाश बोहरा चल्तीका बलर सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीभन्दा धेरै पछाडि देखिँदैनन्।

औसतको मामिलामा उनले राष्ट्रिय टोलीका प्रमुख बलर करण र सोमपाल दुवैलाई उछिनेका छन्। तर विडम्बना, करिब डेढ वर्ष बितिसक्दा पनि उनले राष्ट्रिय टोलीमा फर्किने मौका पाएका छैनन्।

बोहराले अन्तिमपटक अमेरिका तथा वेस्ट इन्डिजमा आयोजित आईसीसी टी-२० विश्वकपमा बाङ्लादेशविरुद्ध खेलेका थिए। २१ रनले नेपाल पराजित भएको सो खेलमा उनले एक ओभरमा १० रन खर्चिएका थिए। सोही विश्वकपका तीन खेलमा कुल ७.४ ओभर बलिङ गर्दै ५८ रन खर्चेर मात्र एक विकेट लिए।

त्यतिबेला उनी राष्ट्रिय टोलीमा सबैभन्दा खर्चिलो बलरमा समावेश भए। त्यसयता नेपालले हङकङमा टी-२० शृंखला खेल्यो, वेस्ट इन्डिज र विश्वकप छनोटसहित २४ अन्तर्राष्ट्रिय खेल खेलिसक्यो। तर, बोहरा टोलीमा अटाउन सकेका छैनन्।

अहिले परिस्थिति बदलिँदै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा उनी उत्कृष्ट लयमा देखिएका छन्। साबिक उपविजेता सुदूरपश्चिम रोयल्सका मुख्य बलर रहेका उनले सात खेलमा १४ विकेट लिइसकेका छन्।

सटीक लाइन–लेन्थ, पावरप्लेमा नियन्त्रण र डेथ ओभरमा प्रभावशाली मिश्रणले उनी फेरि राष्ट्रिय टोलीमा फर्किने क्षमता राख्छन्। भन्छन्, “टिमले जुन जिम्मेवारी दिएको छ, त्यो पूरा गरिरहेको छु। खुसी नै छु।”

विकल्प खोज्दै नेपाल

नेपाली क्रिकेटमा पछिल्लो एक दशकयता तीव्र बलिङको परिचय सोमपाल र करणको नामसँग जोडिँदै आएको छ। यी दुईको आगमनपछि वसन्त रेग्मी र शक्ति गौचनको ‘स्विङ’ मा घुमिरहेको नेपाली टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा तीव्र बलिङको पहिचान पायो।

सन् २०१४ मा बाङ्लादेशमा आयोजना भएको आईसीसी टी-२० विश्वकपमा हङकङविरुद्ध डेब्यु गर्दा सोमपाल केवल १८ वर्षका थिए। सटीक गति, रिदम र आत्मविश्वासका कारण उनले तीन खेलमा चार विकेट लिँदै नेपाली क्रिकेटको स्वरूप बदलिदिए।

सोमपालको आगमनको एक वर्षपछि नै करण केसीले राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरे। उनको आगमनपछि राष्ट्रिय टोलीको बलिङ विभागमा आक्रामक र विकेट लिने प्रवृत्ति थपियो। नेपाली क्रिकेटलाई विश्वमञ्चमा पुर्‍याउन उनीहरूको भूमिका महत्त्वपूर्ण मानिन्छ। नेपालले सपनाजस्तै लाग्ने एकदिवसीय मान्यता दुई दुईपल्ट पायो। आईसीसी टी-२० विश्वकपमा लगातार दुईपल्ट र एकपल्ट एसिया कपमा समेत स्थान बनायो।

यस यात्रामा कठिन परिस्थितिमा जिताउने प्रमुख खेलाडी यिनीहरू पनि थिए। तर, हरेक युगको अन्त्य हुन्छ। अहिले यी दुवै बलर आफ्नो करिअरको उत्तरार्धमा छन्। बढ्दो उमेर, खेलको अत्यधिक भार र चोटपटकका कारण अन्तर्राष्ट्रियस्तरमा दुवै खेलाडी निरन्तर रूपमा उपलब्ध हुने अवस्था घट्दै गएको छ। चोटका कारण करण हालैका प्रतियोगिताका केही खेलमा मैदान बाहिर रहे। सोमपाल पनि एकपछि अर्को गर्दै फिटनेस र प्रदर्शनमा देखिएको उतारचढावका कारण टोलीभित्र र बाहिर रहँदै आएका छन्। त्यसैले यतिबेला यी दुई बलरको उत्तराधिकारी खोज्ने बेला भइसकेको छ।

यस्तोमा प्रभावशाली विकल्पका रूपमा अगाडि आएका छन्, अविनाश बोहरा। केही वर्षयता नन्दन यादव पनि अर्को विकल्पका रूपमा नदेखिएका होइनन्।

निरन्तरता पाउन नसकेका बलर

संयोग नै मान्नुपर्ला, अविनाशलाई फ्रेन्चाइजी लिग फाप्छ। उनलाई राष्ट्रिय टोलीको बाटो तय गर्न यही फ्रेन्चाइजी लिग वरदान साबित भयो भने अन्यथा नमाने हुन्छ। पुर्ख्यौली घर दाङ भए पनि भारतको सिमलामा जन्मिएका उनले सन् २०१६ मा भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल)बाट आफ्नो खुबी देखाएका हुन्। उक्त संस्करणमा कान्तिपुर गुर्खाजबाट खेलेका बोहराले १५ ओभर बलिङ गर्दै पाँच विकेट लिएका थिए। टोलीमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा उनी तेस्रो स्थानमा थिए। उनले पञ्चकन्या तेजका कप्तान शरद भेषवाकरसहित पृथु बास्कोटा, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीलाई आउट गरे। तीमध्ये आरिफ र पृथुलाई शून्य रनमै पेभिलियनको बाटो देखाएका थिए। शरदलाई भने एक रनमा आउट गराए। त्यसयता उनको चर्चा ह्वात्तै चुलियो।

सोही प्रदर्शनका आधारमा उनी एपीएफ क्लबमा अनुबन्धसमेत भए। त्यसको दुई वर्षपछि शरदसँगै अर्को टोली भैरहवा ग्लाडियटर्सबाट ईपीएल खेले। त्यसमा पनि आठ खेल खेल्दै सात विकेट झारे।

त्यसपछि उनलाई राष्ट्रिय टोलीमा स्थान दिइएको थियो। नेपालले सन् २०१९ मा यूएई भ्रमण गर्दा उनले सोमपाल र करणसँगै टोलीमा स्थान बनाए। डेब्यु खेल उनका लागि त्यति सुखद रहेन। चार ओभर बलिङ गरेका उनले ३६ रन खर्चेर मात्र एक विकेट लिए। उक्त खेलमा नेपाल २१ रनले पराजित भयो। तर, दोस्रो खेलमा भने उत्कृष्ट पुनरागमन गरे। चार ओभर नै बलिङ गरेका बोहराले २० रन खर्चेर तीन विकेट लिए। त्यस खेलमा उनले सीपी रिजवनलाई अर्धशतक बनाउन ६ रनले रोके। अमिर ह्यात र मोहम्मद नाभेदलाई पनि आउट गरे। उनकै प्रदर्शनका आधारमा नेपालले तीन बलअगावै चार विकेटले खेल जित्यो। अन्तिम खेलमा पनि उनले उत्तिकै धारिलो बलिङ गरे। दुई ओभरमा १६ रन खर्चिएर आफ्नो विकेट संख्या सात पुर्‍याए। योसँगै उनी सर्वाधिक विकेटकर्ता बने र सिरिजकै उत्कृष्ट खेलाडी घोषित भए।

अर्को वर्ष कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आईसीसी विश्वकप लिग-२ आयोजना भयो। उनले ओमानविरुद्ध घरेलु मैदानमा डेब्यु गरे। तर, क्रिकेटको मध्यम फर्म्याटमा उनको प्रदर्शन सुखद रहेन। आठ ओभर बलिङ गरेका उनले ३८ रन खर्चिए। अर्को खेलमा अमेरिकाविरुद्ध पाँच ओभर बलिङ गरे। त्यसमा १३ रन खर्चिए। विकेट हात लागेन। त्यसयता एकदिवसीय टोलीमा पर्न सकेका छैनन्।

बेलाबेला बोहराको आलोचना भइरहन्छ। त्यसको मुख्य कारण निराशाजनक प्रदर्शन नै हो। घरेलु क्रिकेटमा बलियो छाप छोडेका बोहराले राष्ट्रिय टिमको स्तरअनुरूप प्रभाव कायम गर्न सकिरहेका छैनन्। नियमित रूपमा विकेट लिने, कसिलो बलिङ गर्ने र दबाबका क्षणमा खेल मोड्ने क्षमताका कारण धेरैको नजरमा उनी सम्भावनायुक्त बलर पनि हुन्। तर, पछिल्ला प्रतियोगितामा न उनले यसमा निरन्तरता देखाउन सके, न त बलिङमा स्थिरता नै।

सन् २०२२ मा आईसीसी टी-२० विश्वकप एसिया कप छनोट खेलेपछि अस्ट्रेलिया पलायनसमेत भए। तर, त्यसको एक वर्षपछि नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपल्ट आफ्नै फ्रेन्चाइजी लिग नेपाल टी-२० आयोजना गर्ने भयो। उनी पुनः स्वदेश फर्किए।

उनी आबद्ध काठमाडौँ नाइट्स लिग चरणमै रोकियो। तर, उनी रोकिएनन्। १० खेलमा १९ विकेट लिँदै उनी प्रतियोगिताका सर्वाधिक विकेटकर्ता बने। त्यसपछि उनलाई तत्कालीन मुख्य प्रशिक्षक मोन्टी देसाईंले राष्ट्रिय टोलीमा आउने बाटो खुलाइदिए।

सोही वर्ष चीनमा भएको हाङचाउ एसियाली खेलकुदमा उनले इतिहास रचे। माल्दिभ्सलाई ७४ रनमा अलआउट गर्दा उनले नेपालका लागि ३.४ ओभरमा ११ रन खर्चेर ६ विकेट लिए। नेपालका लागि टी-२० आईमा ६ विकेट लिने उनी पहिलो बलर हुन्।

उक्त खेलको २०औँ ओभरमा हुसेन सादिन, मोहम्मद मिउवान र नसिर नाइल इस्लामको विकेट झारेका थिए। त्यसपछि उनको भूमिका डेथ ओभरतिर बढेको हो।

तर, उनले यसमा पनि आफूलाई पूर्ण रूपमा प्रमाणित गर्न सकेका छैनन्। सन् २०२४ मा घरेलु मैदानमा नेदरल्यान्ड्स र यूएईसँग भएको त्रिकोणात्मक सिरिजको फाइनलमा उनी नराम्रोसँग चुके। नेदरल्यान्ड्सले १८५ रनको लक्ष्य पछ्याएको थियो। उसलाई जितका लागि अन्तिम १८ बलमा ४० रन चाहिएको थियो। प्रशिक्षक देसाईंले उक्त रन रोक्न डेथ ओभर विशेषज्ञका रूपमा अविनाशलाई उतारे। तर, उनले १८औँ ओभरमा साइब्रान्ड एंगेलब्रेक्टलाई दुई चौका र दुई छक्का दिए। उक्त ओभरमा उनले २१ रन खर्चिए। उनकै खर्चिलो ओभरका कारण नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो र उपाधि जित्यो।

हुन त अघिल्लो वर्ष घरेलु मैदानमै भएको आईसीसी टी-२० विश्वकप एसिया छनोटको फाइनलमै उनले देसाईंको भरोसा तोडिसकेका थिए। ओमानविरुद्ध फाइनलको सुपर ओभरमा पनि उनले २१ रन खर्चिएका थिए। सानैदेखि श्रीलंकाली योर्कर किंग लसिथ मलिंगाको खेल हेरर हुर्किएका उनले ६ मध्ये ६ नै बल योर्कर फ्याँके। तर, निसम खुसीले सहजै तीन छक्का प्रहार गरिदिए। उक्त खेलअगावै विश्वकपमा पुगे पनि नेपालले घरेलु दर्शककै अगाडि उपाधि उचाल्ने मौका गुमाएको थियो।

अन्तर्राष्ट्रिय क्रिकेटमा ७५ भन्दा बढी विकेट लिएको तथ्य हेर्दा उनी सन्दीप, करण वा सोमपालसँगै भविष्यका नियमित विकल्प बन्नसक्ने खेलाडीका रूपमा चित्रित हुँदै आएका थिए। तर, राष्ट्रिय टिममा देखिएको खराब फर्मले उनलाई लामो समयदेखि टोलीबाहिर राखेको छ।

तर, यति हुँदाहुँदै पनि उनी क्षमता र सम्भावनाले भरिएका खेलाडी हुन्। केही खराब खेलहरूले मात्र उनको करिअरको दिशा निर्धारण हुँदैन। अन्तर्राष्ट्रिय एक्सपोजर, नियमित अभ्यास र आत्मविश्वास पुनः निर्माण गरेको खण्डमा उनलाई राष्ट्रिय टोलीमा फर्किनबाट कसैले रोक्न सक्दैन।