२० मंसिर २०८२
अ+
अ-

जनकपुर। मधेस प्रदेशमा नेकपा एमालेलाई छाडेर बनेको नयाँ गठबन्धन सरकारप्रति नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले निकै उत्साहित देखिएका छन्।

नेपाली कम्युनिस्ट पार्टीको मधेस प्रदेशस्तरीय एकता सभामा उनले मधेसमा रहेको पुरानो गठबन्धन भत्किएको छ नेपाली कांग्रेससहित नयाँ गठबन्धन बनेको उनको भनाइ छ। उनले अब अरु प्रदेशमा पनि यो हुने जिकिर गरे। उनले भने‚ “मधेस परिवर्तनको पक्षमा छ कथित गठबन्धन भत्किएको छ अब नयाँ गठबन्धनको सुरुवात भएको यो अन्य प्रदेशमा समेत सुरु हुन्छ।”

अध्यक्ष दाहालले पुरानो गठबन्धन परिवर्तनविरोधी रहेको कारणले मधेसमा परिवर्तनकारी शक्तिहरुको गठबन्धन बनेको उनले बताए।

उनले कृषिमा क्रान्ति भए मात्रै मधेसको आर्थिक उन्नति हुने दाबी गरे। उनले मधेसको कृषि विकासका लागि आफूहरु सकारात्मक रुपमा अगाडि बढेको बताए। मधेसको जीवनरेखा मानिएको हुलाकी सडकलाई अगाडि बढाउन वामपन्थी शक्तिहरुले नै अग्रसरता देखाएको उनको भनाइ छ।

उनले वामवन्थी एकताको अभियान सुरु भएको बताउँदै आफूहरुको ध्यान एमालेतिर पनि रहेको बताउँदै एमालेभित्रका देशभक्ति र क्रान्तिकारी शक्तिलाई ल्याउने बताए। दाहालले आफूहरु ठुलो शक्ति बनाउने पक्षमा रहेको पनि बताए। अहिले जताततै पार्टी एकता भएपछि सकारात्मक सन्देश प्रवाह भएको उनको भनाइ छ।

पार्टीका सह-संयोजक माधवकुमार नेपालले पार्टी एकता भएपछि सबैतिर सकारात्मक सन्देश प्रवाह भएको बताए। अहिले पार्टीप्रति जनतामा आशा र भारोसा जागेका कारणले पार्टीमा प्रवेश गर्नेहरुको ठुलो पंक्ति रहेको नेपालको भनाइ छ।

उनले भने‚ “भोलिका दिनमा अझ आकर्षण बढ्नेछन्, जनता परिवर्तन चाहेका छन्। त्यो परिवर्तन आफ्नो पार्टीले मात्रै दिनेछ।” नेपालले मुलुकमा सुशासनको स्थापना र भ्रष्टाचारको समाप्तीका लागि जेन-जी आन्दोलन भएको दाबी गरे। कार्यक्रममा पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अहिले जनताको माग सम्बोधन गराउने आशाको केन्द्र आफ्नो पार्टी जिकिर गरे।