२० मंसिर २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डंगोलले ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’को उद्घाटन गरेकी छन्।

महानगरपालिकाको आर्थिक सहयोगबाट निर्माण भएको भवन नारायणगोपालको ३५औँ स्मृति दिवसका अवसरमा भवन उद्घाटन गरिएको हो। त्यस अवसरमा नारायण गोपाल संगीत कोषले सांगीतिक कार्यक्रमसमेत आयोजना गरेको थियो।

उद्घाटनपछि डंगोलले भनिन्‚ “हरेक व्यक्तिको मनमा आउने भावना छुने गीत गाएका कारण नारायणगोपालका गीत जीवन्त छन्। यो जीवन्तताका कारण उहाँका गीत सम्पदा बनेका छन्। यस्ता अमूर्त सम्पदा जोगाउन महानगरपालिकाले लगानी गरेको हो।” उनले यसरी निर्माण भएको भवनबाट कला साधकहरुको मन्दिर बन्ने धारणा पनि राखिन्। “महानगरपालिकाले लगानी गरेको भवनमा सबैको पहुँच होस्। हरेक कला साधकका लागि उपयुक्त होस् भनेर समयसमयमा अनुगमन पनि गरेका थियौँ। यसरी निर्माण भएको भवनबाट कला साधकहरुको मन्दिर बन्नेछ‚” उनले भनिन्।

कार्यक्रममा महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य, कोषका अध्यक्ष दीपक केसीसहितका वक्ताले नारायणगोपालको सांगीतिक जीवन र नेपाली गीत-संगीतको उचाइमा योगदानको चर्चा गरेका थिए।

कार्यक्रममा कलाकारहरुले नारायणगोपालका चर्चित गीतहरु गाएका थिए।

भवन निर्माणका लागि तत्कालीन प्रमुख विद्यासुन्दर शाक्यले २०७६ मंसिर १९ गते शिलान्यास गरेका थिए। भवन करिब दुई करोड आठ लाख रुपैयाँमा निर्माण भएको हो। चारतले भवनको भूमिगत र बाहिर गरी १० वटा चारपाङ्ग्रे र पाँचवटा दुईपाङ्ग्रे सवारीसाधन पार्किङस्थल छ।

भवनको बाहिरी स्वरुप परम्परागत नेपालीशैलीको छ। प्लिन्थ क्षेत्रफल एक हजार ५४६ वर्गफिट रहेको भवनको क्षेत्रफल ६ हजार ५५६ वर्गफुट छ। भूमिगत र जमिन तला बाहिर गरेर १० वटा चारपाङ्ग्रे सवारीसाधन र २० वटा दुईपाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिन्छ।

त्यस क्षेत्रमा करिब एक रोपनी जग्गा छ। महानगरले निर्माण गरिरहेको भवनसँगै नारायणगोपालले बनाएको सेतो रङको भवन पनि छ। यसलाई संग्रहालय बनाउने योजना छ।