२० मंसिर २०८२
नेकपा एमाले अध्यक्ष केपी ओली।
अ+
अ-

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशीला कार्कीको ध्यान आफूलाई पक्राउ गर्नेमा केन्द्रित रहेको दाबी गरेका छन्।

उनले आफ्नाविरुद्ध प्रमाण तयार गर्न पनि सरकारलाई चुनौती दिएका छन्। एमाले मुख्यालय च्यासलमा शनिबार नवयुग ई-बुलेटिन शुभारम्भ कार्यक्रममा ओलीले असंवैधानिक सरकारले असंवैधानिक तरिकाले विघटन गरेको प्रतिनिधिसभा पुन:स्थापित गर्नुपर्ने दोहोर्‍याए।

नेकपा एमाले देश, जनता, लोकतन्त्र, सुशासन, विकास, संविधानको पक्षमा लगातार गतिशील पार्टी भएको उनले दाबी गरे। उनले देश अहिले विभाजित अवस्थामा रहेको बताउँदै यतिबेला अत्यन्त सघन ढंगले एमालेका क्रियाकलाप सम्प्रेषित गर्नुपर्ने धारणा राखे।

शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको पर्खाइमा एमाले रहेको उनको भनाइ छ। ओलीले आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन हुने अवस्था नरहे पनि अब कुनै दिन हुने शान्तिपूर्ण निष्पक्ष निर्वाचनको पर्खाइमा एमाले रहेको पनि धारणा राखे।

यो पनि…

केपी ओलीले भने- पुराना दल सकिन्छन् भनेर नसोच्नू

अब हुने निर्वाचनमा एमाले बहुमतका साथ फर्किने ओलीको विश्वास छ। ओलीले अब पुराना पार्टी सकिए भन्न नसोच्न सुझाव दिँदै निर्वाचनपछि पनि पुराना पार्टीकै नेतृत्वमा सरकार बन्ने तर्क गरे। ओलीले यसबीचमा एमाले समीकरण बदल्ने वा सरकार ढाल्ने खेलमा नरहेको स्पष्ट पारे। उनले एमालेविरुद्ध जस्तोसुकै हमला भए पनि त्यस्ता शक्तिलाई एमाले एक्लैले परास्त गर्ने जिकिर गरे।

अध्यक्ष ओलीले २३ र २४ भदौको घटनापछि देश प्रतिगमततर्फ अघि बढेको भन्दै प्रतिगमन हटाएर देश र संविधानलाई मूल बाटोमा ल्याउनु आजको आवश्यकता रहेको बताए। अहिले विधि प्रक्रियाबिनै कुर्सीमा बसेर आफूलाई सरकार घोषणा गरिएको ओलीको भनाइ छ।