२० मंसिर २०८२
अ+
अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनुपम प्रकृति र ऐतिहासिक संस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गरिनुपर्नेमा जोड दिएका छन्।

ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको आज (शनिबार) अवलोकन गर्दै उनले परम्परागत सम्पदा, कला र संस्कृतिको धरोहर ललितपुरको सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइने विश्वास व्यक्त गरे।

सञ्चारमन्त्री खरेलले भने‚ “नेपालको ऐतिहास, परम्परागत कला र संस्कृतिको जगेर्ना गर्दै यसैको माध्यमबाट विश्वसामु नेपाल प्रवर्द्धन गरिनुपर्छ। ललितपुरको सांस्कृतिक सम्पदा र खाना संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्छ।”

सञ्चारमन्त्री खरेलले विभिन्न जातजाति, भाषा, संस्कृति र सम्पदा हाम्रो मौलिक पहिचान हो भन्दै सम्पदा सहरको नाममा देश विदेशमा प्रख्यात ललितपुरको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सबै जुट्नुपर्ने खाँचो औँल्याए।

ललितपुरका मूर्त र अमूर्त सम्पदा संरक्षणमा धार्मिक, संस्कृतिक, ऐतिहासिक कलानगरीको रुपमा परिचित ललितपुरको समग्र विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच बलियो समझदारी र सहकार्य जरुरी भएको उल्लेख गरे।

सञ्चारमन्त्री खरेलले विश्व सम्पदामा सूचीकृत ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गरेका हुन् । साथै कृष्ण मन्दिर, पाटन दरबार सङ्ग्रहाल पनि अवलोकन गरेको खरेलको सचिवालयले जनाएको छ।

सञ्चारमन्त्री खरेलले सङ्ग्रहालयमा जारी ‘क्राफ्ट एन्ड कल्चरल फेस्टिभलको पनि अवलोकन गरे। प्रदर्शनीका संयोजक आनन्दवीर बज्राचार्यका अनुसार पाँचदिने प्रदर्शनीमा परम्परागत कला संस्कृति झल्कने सामग्री प्रदर्शनमा राखिएका छन्। मन्त्री खरेलले पाटन दरबार क्षेत्रको ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वका समपदाबारे जानकारी लिएका थिए।