काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार र निजी क्षेत्र सँगै अगाडि नबढेमा नेपालको अर्थतन्त्रले गति समात्न नसक्ने बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औं वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन्।‘जबसम्म निजी क्षेत्र सँगसँगै लिएर जान सकिँदैन, तबसम्म नेपालको अर्थतन्त्र अगाडि लैजान सकिँदैन । यो प्रमाणित पनि भइसकेको छ’, ढकालले भने।
निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण फेर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । अर्थतन्त्रका एजेन्डामा नेपाल पछि परेकाले यसमा ध्यान दिनुपर्ने समेत उनले बताए।
नेपालमा केही गर्न सकिँदैन भनेर जुन प्रचार गरिएको छ त्यसलाई चिर्ने काम नेपाल उद्योग वाणिज्य महासंघले गरिरहेको उनी बताउँछन्।
‘आन्तरिक पुँजी परिचालन गरेर धेरै गर्न सकिन्छ। नेपालमा केही गर्न सकिँदैन भन्ने म्यासेजलाई चिर्दै निजी क्षेत्रले नेपालमै केही गर्न सकिन्छ भनेर गर्न सन्देश दिएका छौं’, उनले भने।
त्यस्तै, जेनजी आन्दोलनले माग गरेजस्तै सुशासनका विषयमा निजी क्षेत्रले समेत माग गरेको उनले स्मरण गरे। आन्दोलनपछि कतिपय निजी क्षेत्रले माग गरेका विषय परिवर्तन भइसकेका र हुने क्रममा रहेकाले निजी क्षेत्र उत्साहित रहेको ढकालको भनाइ छ।