काठमाडौँ
००:००:००
२२ मंसिर २०८२, सोमबार

२२ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। अघिल्लो साताभर घटेको नेप्से यो साता लगातार दोस्रो दिन पनि ओरालो लागेको छ। साताको पहिलो कारोबार दिन आइतबार २१.४८ अंकले घटेको नेप्से सोमबार ३.०२ अंकले घट्यो। सोमबार ०.११ प्रतिशतले घटेको नेप्से २६०६.६७ विन्दुमा अडियो।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १.५० अंकले घटेर ४४६.७५ विन्दुमा रोकिएको छ। आज ३३१ कम्पनीको ८३ हजार २७३ पटकको कारोबारमा एक करोड एक लाख ४६ हजार ४०० कित्ता सेयर किनबेच भए। जसमा आज चार अर्ब ६६ करोड ९५ लाख ४८ हजार ७४२ रुपैयाँको कारोबार भयो। जसमा आइतबार पाँच अर्ब ३३ करोड ४४ लाख १५ हजार ३३१ रुपैयाँबराबरको कारोबार भएको थियो।

नेप्सेमा आज आठवटा समूहको सूचक घट्यो भने बाँकी पाँचवटा समूहको सूचक बढे।

सोमबार जलविद्युत् ०.१२, जीवन बिमा ०.५०, उत्पादन तथा प्रशोधन ०.६१, निर्जीवन बिमा ०.०५ तथा व्यापार ०.४१ प्रतिशत बढे। बैंकिङ ०.६७, विकास बैंक ०.११, फाइनान्स ०.५७, होटेल तथा पर्यटन ०.२३, लगानी ०.१६, माइक्रोफाइनान्स ०.२९ तथा अन्य ०.२१ प्रतिशत घटे। दिनभर उतारचढावमा रहेको सेयर बजारमा सोमबार ९९ कम्पनीको मूल्य बढ्दा १४७ को घट्यो भने १२ को स्थिर रह्यो।

चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ। १० प्रतिशत बढेका कम्पनीमा अपर स्याङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक छन्। त्यस्तै इङ्वा हाइड्रोपावरको ९.०३ तथा पियोर इनर्जीको ४.४ प्रतिशत मूल्य बढ्यो। सपोर्ट माइक्रोफाइनान्सको ५.१६, मेन्छियाम हाइड्रोपावरको ३.७३, गुहेश्वरी मर्चेन्ट बैंकको ३.६८ प्रतिशत मूल्य घट्यो।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको सेयर कारोबार भएको छ। आज यस कम्पनीको ५५ करोड ८६ लाख ६७ हजार ८७४ रुपैयाँको सेयर कारोबार भएको छ। जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ११७ रुपैयाँ कायम रह्यो। कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको नै रह्यो। यसको १३ लाख ४८ हजार ८६१ कित्ता किनबेच भएको छ। आज धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुपसँगै सागर डिस्टिलरी, पियोर इनर्जी‚ राधी विद्युत् र झापा इनर्जी रहेका छन्।

लगातार छैटौं कारोबार दिन सेयर बजार घटेको हो गत साता कारोबार भएका चार दिन र यो साताका दुई दिन गरी ६ दिन बजार घटेको हो। विगत ६ दिनमा नेप्से १७० अंकले घटेको छ। मंसिर ११ गते नेप्से २७७६ अंकमा थियो। आज २६०६.६७ विन्दुमा अडिएको छ।