काठमाडौँ
००:००:००
२२ मंसिर २०८२, सोमबार

अपराध

अन्धविश्वासले लियो सिटी सफारी चालक राजवंशीको ज्यान

२२ मंसिर २०८२
इन्सेटमा दिनेश राजवंशी र सुनसरीको रामधुनी नगरपालिका–२ शिवनगर गाउँमा रहेको उनको घर। तस्बिर : अनिल श्रेष्ठ
अ+
अ-

विराटनगर। अन्धविश्वासले कतिसम्म जघन्य अपराध निम्त्याउन सक्छ भन्ने उदाहरण सुनसरीको रामधुनीमा देखिएको छ। टुनामुना लगाएको आरोपमा गाउँकै एक जना व्यापारीले योजना बुनेर सिटी सफारी चालकको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

सुनसरीको रामधुनी नगरपालिका-२ शिवनगरका ४७ वर्षीय सिटी सफारी चालक दिनेश राजवंशी (चौधरी)को हत्या आरोपमा प्रहरीले मुख्य योजनाकार र ‘सार्प सुटर’ सहित सात जनालाई पक्राउ गरेपछि हत्याको रहस्य बाहिर आएको हो। राजवंशीले तन्त्रमन्त्र गरी आफ्नो परिवारलाई दुःख दिएको भन्दै रामधुनी नगरपालिका-१ का दाजुभाइले पेसेवर अपराधी प्रयोग गरी उनको हत्या गराएका हुन्।

प्रहरीका अनुसार हत्याका मुख्य योजनाकार रामधुनी-१ झुम्का बजारमा ‘साह फेन्सी स्टोर’ चलाउँदै आएका ४३ वर्षीय राजेश भन्ने राजकिशोर साह र उनका भाइ ४० वर्षीय नन्दकिशोर साह हुन्।

साँझको करिब ५:२० बजे मोहम्मद इब्रान मियाँले दिनेशलाई गोली हाने। छातीमा गोली लागेका दिनेशको मृत्यु भयो। सुनसान बाटो र साँझको समय भएकाले घटना कसैले देखेनन्।

सिटी सफारी चलाउने गरेका दिनेशले गाउँघरमा झारफुकको काम पनि गर्दै आएका थिए। साह दाजुभाइको परिवारका सदस्यहरू लामो समयदेखि बिरामी भइरहने समस्या थियो। यसको दोष उनीहरूले दिनेशमा थोपरेका थिए। “दिनेशले तन्त्रमन्त्र र टुनामुना गरी लामो समयदेखि परिवारका सदस्यहरूलाई बिरामी बनाएको र हैरानी दिएको अन्धविश्वास साह दाजुभाइमा गढेको देखिन्छ,” सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेवे भन्छन्, “उनीहरूले सार्प सुटर प्रयोग गरी दिनेशको हत्या गर्ने योजना बुनेको अनुसन्धानबाट खुलेको छ।’’

साढे ६ लाखको ‘सुपारी’, तीन लाख ‘एड्भान्स’ लिएर हत्या

दिनेशलाई बाटोबाट पन्छाउन साह दाजुभाइले पेसेवर अपराधीको खोजी गरे। भाइ नन्दकिशोरको ससुराली सप्तरी हो। उनले नातामा सालो पर्ने सप्तरीका २८ वर्षीय अंकित साहमार्फत हत्या गर्ने व्यक्तिको खोजी गरेका थिए।

अंकितले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-५ का ४३ वर्षीय मोहम्मद इब्रान मियाँसँग साह दाजुभाइको सम्पर्क गराइदिए। इब्रान पेसेवर अपराधी र सार्प सुटर हुन्। उनीहरूबीच ६ लाख ५० हजार रुपैयाँमा कुरा मिल्यो।

योजना कार्यान्वयन गर्न रकमको जोहो भयो। राजवंशीलाई गोली हानेर हत्या गर्नुभन्दा एक दिनअघि नन्दकिशोरमार्फत अंकितले साढे तीन लाख रुपैयाँ बुझे। अंकितले ५० हजार रुपैयाँ कमिसन राखे र तीन लाख रुपैयाँ सुटर इब्रानलाई बुझाए। बाँकी रकम काम भएपछि दिने सहमति भएको थियो। पैसा हात परेको भोलिपल्टै इब्रानले दिनेशको हत्या गरे।

गत २५ असोजमा साँझको समय थियो। ४७ वर्षीय दिनेश झुम्का बजार जान सिटी सफारी लिएर घरबाट निस्किए। घरदेखि करिब दुई किलोमिटर पूर्व–दक्षिणमा रहेको सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरको सुनसान बाटोमा उनलाई आक्रमण गरियो।

दिनेश चौधरीलाई गोली हानेर हत्या गरिएको रामधुनी नगरपालिका–२ कर्मनियास्थित नहरको सडकखण्ड। तस्बिर : अनिल श्रेष्ठ

साँझको करिब ५:२० बजे मोहम्मद इब्रान मियाँले दिनेशलाई गोली हाने। छातीमा गोली लागेका दिनेशको मृत्यु भयो। सुनसान बाटो र साँझको समय भएकाले घटना कसैले देखेनन्।

सुटर इब्रानको अपराधकर्म : लुटपाटदेखि हत्यासम्म

प्रहरीको अनुसन्धानबाट गोली हान्ने मुख्य व्यक्ति मोहम्मद इब्रान मियाँ रहेको खुलेको छ। अनुसन्धानले इब्रानको आपराधिक विगत रहेको देखाएको छ। प्रहरीका अनुसार उनी यसअघि सुनसरीको इनरुवामा भएको पाँच लाख रुपैयाँ लुटपाटको घटनाका मुख्य अभियुक्त हुन्।

घरको मुख्य कमाउने व्यक्तिको अन्धविश्वासको कारण हत्या भएपछि राजवंशी परिवार बिचल्लीमा छ।

केही समय जेल बसेर छुटेका उनी फेरि अपराधकर्ममै फर्किए। “जेलबाट निस्किएपछि उनी सुध्रिनुको साटो भाडाका अपराधीका रूपमा सक्रिय भएको देखियो,” सुनसरी प्रहरीका प्रवक्ता एवम् अनुसन्धानमा खटिएका डीएसपी चन्द्रबहादुर खड्का भन्छन्।

घटनाको करिब डेढ महिना लामो अनुसन्धानपछि प्रहरीले हत्यामा संलग्न सात जनालाई पक्राउ गरेको छ। डीएसपी खड्काका अनुसार पक्राउ पर्नेमा घटनाका मुख्य योजनाकार रामधुनी-१ का राजकिशोर साह (राजेश) र नन्दकिशोर साह तथा सप्तरीको राजविराजका अंकित साह, प्रिन्सकुमार दास, मोहम्मद इब्रान मियाँ, गियास मन्सुरी, देवानगन्जका मिथलेश यादव छन्।

प्रहरीका अनुसार हत्याको योजनामा रकम ओसारपसार गर्ने र बिचौलियाको भूमिका खेल्ने अन्य व्यक्तिहरू पनि अनुसन्धानको दायरामा छन्। प्रहरीले हत्यामा प्रयोग भएको पेस्तोल भने फेला पार्न सकेको छैन।

पक्राउ परेकाहरूलाई सुनसरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थपेर हिरासतमा राखी प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको छ।

मृतक दिनेशका श्रीमती, दुई छोरा र एक छोरी छन्। घरको मुख्य कमाउने व्यक्तिको अन्धविश्वासको कारण हत्या भएपछि राजवंशी परिवार बिचल्लीमा छ।