त्यो काण्ड

चीनको विषयलाई लिएर नेपाल र भारतबीच तनाव बढिरहेको बेला खुम्बु क्षेत्रमा भारतीय राजदूत हरीश्वर दयालको अप्रत्याशित निधन भएको थियो।

२७ मंसिर २०८२
नेपालका लागि तत्कालीन भारतीय राजदूत हरीश्वर दयालको पोर्ट्रेट र उनकी श्रीमती लीला रो। बीचमा सिक्किममा अन्तर्वार्ता दिइरहेका दयाल (तस्बिर : क्लाउडे अर्पी)
अ+
अ-

भारत र चीनबीच युद्ध भएको त्यसबेला डेढ वर्ष पनि बितेको थिएन। भारतले नेपाल सरकार चीनतर्फ ढल्किँदै गएको आरोप लगाइरहेको थियो। यति नै बेला नेपालमा भारतीय कूटनीतिज्ञ मृत भेटिए। त्यसले दुई देशको सम्बन्धलाई अर्को मोडमा धकेल्ने सम्भावना प्रबल थियो, तर घटनाले ठूलो आकार लिन पाएन।

घटना थियो, ६ जेठ २०२१ को। खुम्बु क्षेत्रको अनौपचारिक भ्रमणमा गएका नेपालका लागि भारतीय राजदूत हरीश्वर दयाल नाम्चे बजारनजिकै गोरक्षेप भन्ने ठाउँमा मृत अवस्थामा फेला परे।

दयाल २६ वैशाख २०२१ मा जिरीसम्म जहाजमा गएका थिए। त्यहाँबाट अनौपचारिक भ्रमणको सिलसिलामा पैदल यात्रा गर्दै सगरमाथा क्षेत्रतर्फ गए।

यो घटना त्यतिबेला भएको थियो, जतिबेला राजा महेन्द्रले चीनसँग सीमा सम्झौता गरी उत्तरी क्षेत्रको कोदारी राजमार्ग खोल्न स्वीकृति प्रदान गरिसकेका थिए। चीनसँगको सम्झौताले नेपाल र भारतबीचको सम्बन्ध चिसिएको थियो। त्यस अवस्थामा नेपालमा भारतीय राजदूतकै निधन भएको थियो।

दयाल तिनै कूटनीतिज्ञ थिए, जसले ६ मंसिर २००७ मा चिनियाँ सेना तिब्बतको चाम्दो सहर प्रवेश गरेपछि आफ्नो सरकारलाई एउटा सूचना उपलब्ध गराए। जसमा उल्लेख थियो, चीनले सम्पूर्ण तिब्बत वा भारत, नेपाल र भुटानको सिमानामा रहेको केही तिब्बती भूभाग कब्जा गरे वा ल्हासामा चिनियाँ-प्रेरित शासन स्थापना गरे विभिन्न समस्या सिर्जना हुनेछ।

चीनले तिब्बत कब्जा गर्दा सिक्किममा कार्यरत उनले भारत सरकारलाई रणनीतिक दृष्टिकोणबाट एउटा रोचक सुझाव दिएका थिए। जसमा भनिएको थियो– भारतले चुम्बी उपत्यका (चुम भ्याली) कब्जा गर्नुपर्नेछ।

दयाल भारतका परिपक्व कूटनीतिज्ञ थिए। नेपालमा राजदूत नियुक्त हुनुअघि उनले अमेरिकामा चार्ज डे’अफियर्सको भूमिका निर्वाह गरिसकेका थिए। सिक्किमका राजनीतिक अधिकारी हुँदा उनले २००६ सालमा भारत र भुटानबीच सम्झौतापत्रमा हस्ताक्षर गराएका थिए। उनले तिब्बतको ल्हासामा समेत काम गरिसकेका थिए। ४९ वर्षको उमेरमा उनको अप्रत्याशित निधनले पहिले त काठमाडौँमा ठूलो प्रश्न उठ्यो। तर, निधनको बेला श्रीमती लीला रो पनि उनीसँगै थिइन्। त्यसैले घटनाले ठूलो मोड लिन पाएन।

दयाल २६ वैशाख २०२१ मा जिरीसम्म जहाजमा गएका थिए। त्यहाँबाट अनौपचारिक भ्रमणको सिलसिलामा पैदल यात्रा गर्दै सगरमाथा क्षेत्रतर्फ गए।

खराब मौसमका कारण राजदूत दयालको शव हेलिकोप्टरमार्फत काठमाडौँ ल्याउन नेपाल सरकारलाई मुस्किल परेको थियो। नाम्चे बजारमा भारी हिमपात भएकाले केही दिन घटनास्थलमा जहाज अवतरण गर्न सकेन।

उनी खुम्बु क्षेत्रतिर घुम्न निस्किँदा काठमाडौँमा नेपाल र भारतबीच वाणिज्य सन्धिको विषयमा तनाव सिर्जना भइसकेको थियो। चीनको बढ्दो कूटनीतिक सक्रियताले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू केही तनावमा थिए। दयालकै कार्यकालमा भारतले सबैभन्दा ठूलो सम्झौताका रूपमा पहिले जननिर्वाचित बीपी कोइरालाको सरकार र पछि राजा महेन्द्रबाट गण्डक सम्झौताको पुनरवलोकन गराउन सफलता पाएको थियो। दयाल राजदूत छँदै राजा महेन्द्रले १ पुस २०१७ मा बीपी नेतृत्वको सरकारलाई अपदस्थ गरेर निर्दलीय पञ्चायती व्यवस्था लागु गरेका थिए। यस्तै, भारत-चीनबीच २०१९ सालमा युद्ध भयो।

निधन भएको दिन दयालले साँझ साढे ७ बजे भोजन गरेका थिए। साढे १० बजे उनी सुत्न जाँदा एक्कासि मुटुको व्यथाले च्याप्यो। सास फेर्न गाह्रो भयो। त्यसको करिब १५ मिनेटमै उनको निधन भयो।

दयालकी श्रीमती लीलाले आफ्नो लेख ‘ट्रेकिङ इन द नेपाल हिमालयज्’ मा श्रीमान्‌बारे लेखेकी छन्, ‘नेपालमा सरकार परिवर्तन भयो, जसका कारण काठमाडौँमा उनको उपस्थिति आवश्यक थियो। सधैँ कुनै न कुनै राजनीतिक संकटका कारण हामीलाई हिमालयको पदयात्रा गर्न मिलिरहेको थिएन।’

सिक्किमस्थित भारतीय उच्चायुक्त कार्यालयमा अन्तर्वार्ता दिइरहेका दयाल। तस्बिर : क्लाउडे अर्पी

दयाल २८ पुस २०१६ मा राजदूत नियुक्त भएर नेपाल आएका थिए। यो दम्पती नेपाल आउनुको कारण यहाँको हिमाली क्षेत्र पनि थियो। दुवै हिमाली क्षेत्रका पदयात्री थिए र यहाँको हिमालबाट लोभिएका थिए। ‘हरीश्वर र म अग्ला पहाड सधैँ जोसका साथ उक्लिने गर्थ्यौं। सिक्किममा हुँदा प्रायः बिदामा धेरै यात्रा गर्‍यौँ। नेपाल छनोट गर्नुको अर्को कारण विशेषत: सोलुखुम्बु क्षेत्रको यात्रा गर्ने लोभ थियो,’ लीलाले भनेकी छिन्।

खराब मौसमका कारण राजदूत दयालको शव हेलिकोप्टरमार्फत काठमाडौँ ल्याउन नेपाल सरकारलाई मुस्किल परेको थियो। नाम्चे बजारमा भारी हिमपात भएकाले केही दिन घटनास्थलमा जहाज अवतरण गर्न सकेन। ९ जेठमा मात्र उनको शवलाई साँझ साढे ६ बजेतिर भारतीय दूतावासको चौरमा उतार्न सरकार सफल भएको थियो। तीन दिनपछि मात्र उनको शव काठमाडौँ ल्याइयो। त्यस क्रममा लीलाको पनि उद्धार गरिएको थियो।

नेपालमा भाइको निधन भएको खबर सुनेपछि दाजु राजेश्वर दयाल श्रीमती र परिवारका अन्य सदस्यलाई लिएर ७ गते साँझ नै काठमाडौँ अवतरण गरेका थिए। राजेश्वर भारतको विदेश विभागमा विशेष सचिवका रूपमा कार्यरत थिए। पछि उनले संयुक्त राष्ट्रसंघको महासचिवको प्रतिनिधिका रूपमा समेत काम गरे।

शवयात्राअघि दरबारको तर्फबाट ब्रिगेडियर जर्नेल समर राजले शवमा माल्यार्पण गरेका थिए। परिवारलाई सान्त्वना दिन तत्कालीन अधिराजकुमार बसुन्धरा पनि भारतीय दूतावास पुगेका थिए।

भारतसँग जति नै सम्बन्ध चिसिए पनि नेपाल सरकार त्यसबेला परिस्थितिको गम्भीरतालाई बुझेर अघि बढ्यो। उसले ७ गते नै सिंहदरबारका सम्पूर्ण सचिवालय र अन्य सरकारी भवनमा रहेका झन्डा आधा झुकाउने निर्णय गर्‍यो। उनको निधनमा दुःख मनाउ गर्दै राजा महेन्द्रले भारतीय राष्ट्रपति सर्वपल्ली राधाकृष्णनलाई समवेदना सन्देश पठाए।

लीला साहित्यकार, लेखक, नृत्यांगना र पदयात्री मात्र होइनन्, भारतकी चर्चित टेनिस खेलाडी पनि हुन्। टेनिसको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता ग्रान्ड स्लाम खेल्ने उनी पहिलो भारतीय महिला खेलाडी हुन्। उनले १९९० सालको विम्बल्डन प्रतियोगितामा बेलायतकी ग्लेडेस साउथवेललाई पराजित गरेकी थिइन्। उनले नेपालको राष्ट्रिय प्रतियोगितामा पनि भाग लिएकी थिइन्।

नेपालका सफल व्यवसायी तथा सोल्टी होटलका पूर्वअध्यक्ष प्रभाकरशमशेर राणाले २०६७ सालमा नागरिक पत्रिकाका लागि लेखकलाई दिएको अन्तर्वार्तामा भनेका थिए, “एकपल्ट बुवा (नरशमशेर राणा)सँग राजदूत हरीश्वर दयाललाई भेट्न गएको थिएँ। लीलाले म टेनिस खेल्छु भनेर थाहा पाइछिन्, मलाई चुनौती दिइन्। एक त महिला, त्यो पनि बिहे भइसकेको, मलाई कहाँ जित्न सक्लिन् भनेर चुनौती स्विकार गरेँ। तर, उनले मलाई नराम्ररी हराइन्। पछि बुझ्दै जाँदा उनी भारतकी पूर्वअन्तर्राष्ट्रिय खेलाडी पो रहिछन्।’

अन्त्येष्टिअघि दयालको शवमा नेपाल र भारतको राष्ट्रिय झन्डा ओढाइएको थियो। उनको शवलाई सैन्य सम्मानका साथ राति नै पशुपति आर्यघाटमा सद्‍गत गरियो। शवयात्राअघि दरबारको तर्फबाट ब्रिगेडियर जर्नेल समर राजले शवमा माल्यार्पण गरेका थिए। परिवारलाई सान्त्वना दिन तत्कालीन अधिराजकुमार बसुन्धरा पनि भारतीय दूतावास पुगेका थिए।

नेपाल सरकारले उनको सम्मानमा कुनै कसर बाँकी राखेन। पछि लीलाले श्रीमान्‌को सम्झनामा गोरक्षेपमा समाधि बनाइन्।