काठमाडौँ
००:००:००
२६ मंसिर २०८२, शुक्रबार

एनपीएल-२

१४ देशबाट नेपालमा क्रिकेट खेल्न आएका ५२ विदेशी खेलाडीमध्ये प्रायःको प्रदर्शन औसत

२५ मंसिर २०८२
नेपाल प्रिमियर लिगका विदेशी खेलाडी फाप डु प्लेसी, लाहिरु मिलान्था, जिम्मी निसम र मार्टिन गप्टिल। तस्बिर : एनपीएल
अ+
अ-

एनपीएल (नेपाल प्रिमियर लिग)-२ सुरु हुनुअघि सबैभन्दा ठूलो चर्चा कुनै टोलीको थियो भने, जनकपुर बोल्ट्सकै थियो। पहिलो संस्करणको उपाधि विजेता जनकपुरमा विदेशी खेलाडीको प्रभाव दह्रो थियो। दुई खेल हारेर उपाधि जितेको जनकपुरका लागि श्रीलंकाली मूलका अमेरिकी विकेटकिपर-ब्याटर लाहिरु मिलान्थाले उत्कृष्ट प्रदर्शन गरेका थिए।

सुदूरपश्चिम रोयल्सविरुद्ध फाइनलमा ८७ रनको इनिङ्स खेल्दै उनले जनकपुरलाई उपाधि नै दिलाए। पहिलो संस्करणमा बलियो ओपनरको छवि बनाएका उनले १० खेलमा दुई अर्धशतकसहित २९३ रन बनाएका थिए, जुन प्रतियोगिताकै सर्वाधिक थियो।

हुन त लाहिरु नेपालमा पहिलोपल्ट यसरी चम्किएका पक्कै थिएनन्। ‘म्याच फिक्सिङ’ का कारण बदनामी कमाएको नेपाल टी-२० लिगमा जनकपुरकै स्वामित्वमा रहेको लुम्बिनी अल स्टार्सलाई च्याम्पियन बनाउँदा पनि उनी चम्किएका थिए। फाइनलमा विराटनगर सुपर किङ्सलाई २४ रनले हराउन उनले २८ बलमा समान तीन चौका र छक्कासहित ४१ रन बनाएका थिए। उनले प्रतियोगिता अवधिभर ११ खेलमा दुई अर्धशतकसहित ३४९ रन बनाएका थिए।

यही प्रदर्शनबाट प्रभावित जनकपुरले दोस्रो संस्करणको एनपीएलमा पनि उनलाई राम्रो दाम लगाएको थियो। तर,  यसपालि मैदानमा उनको प्रदर्शन राम्रो भएन। अवस्था यस्तो बन्यो– उनलाई प्लेइङ सेटमा राख्ने कि नराख्ने, टिम व्यवस्थापक पनि दोधारमा परे।

लाहिरु मिलान्था। तस्बिर : उनको फेसबुक

दोस्रो संस्करणको एनपीएलको फाइनल खेल शनिबार हुँदै छ। यो अवस्थामा सबै फ्रेन्चाइज टिमले यसपालि आफूले अनुबन्धन गरेका विदेशी खेलाडीको प्रदर्शनलाई लिएर समीक्षा गर्न थालेका छन्।

जारी एनपीएल-२ मा १४ देशबाट नेपालमा क्रिकेट खेल्न आएका ५२ विदेशी खेलाडीमध्ये सबैको प्रदर्शन राम्रो हुन सकेन। केही खेलाडीलाई छोडेर कुरा गर्ने हो भने, विदेशी खेलाडीको प्रदर्शन औसत रह्यो।

यसले एकातिर टिमको लगानीमा प्रश्न उठाएको छ भने अर्कातर्फ समर्थकहरू निराश देखिन्छन्। जनकपुर टिमका प्रशिक्षक मनोज कटवाल भन्छन्, “हामीलाई एनपीएल र नेपाल टी-२० लिग जिताउने लाहिरु नै थिए। यसपालि चल्न सकेनन्। लिगबाट छिटै बाहिरिनुको मुख्य कारण यही रह्यो।”

विदेशी खेलाडी भित्र्याउने मामिलामा जनकपुर बलियो टोली मानिएको थियो। दक्षिण अफ्रिकी ब्याटर वेन पार्नेल, पाकिस्तानी अलराउन्डर माज सदाक, अमेरिकी अलराउन्डर सञ्जय कृष्णमूर्ति, नामिबियाली अलराउन्डर निकोल जान-लोफ्टी र श्रीलंकाली टप अर्डर ब्याटर संगीत कोरीबाट टिम सुसज्जित थियो। तर, सञ्जयलाई अपवाद मान्ने हो भने अन्य विदेशी खेलाडी चल्न सकेनन्। जनकपुर यसपालि एक मात्र जित निकाल्दै अंकतालिकाको पुछारमा रहेर प्रतियोगिताबाट बाहिरियो। गत वर्ष ‘टप’ मा रहेको टिमले यसपालि गतिलो प्रदर्शन गर्न नसकेपछि प्रशिक्षक कटवाल भन्छन्, “सञ्जयबाट धेरै आशा थियो। उनले दुई अर्धशतक पनि हाने। तर, पार्नेल र माज पनि अगाडि आइदिएको भए हामी फरक टोली हुन्थ्यौँ।”

एनपीएल घरेलु खेलाडीको स्तर उकास्ने प्रतियोगिता मात्र होइन, विदेशी खेलाडीबाट ‘एक्सपोजर’ लिने ‘प्लेटफर्म’ पनि हो। त्यसैले नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो संस्करणमा १६ देशका ४१ भन्दा बढी विदेशी खेलाडीलाई लिगमा भित्र्याउन अनुमति दिएको थियो। पहिलो संस्करणमा टेस्ट राष्ट्र इङ्ल्यान्डबाट सर्वाधिक ६ खेलाडी समावेश थिए। यसबाहेक वेस्ट इन्डिज, न्युजिल्यान्ड र पाकिस्तानका समान तीन र अफगानिस्तानबाट दुई खेलाडी एनपीएलमा भित्रिँदा भारतबाट शिखर धवन र अस्ट्रेलियाबाट बेन कटिङ सहभागी भएका थिए।

सञ्जय कृष्णमूर्ति। तस्बिर : एनपीएल

त्यतिबेला इङ्ल्यान्डका रवि बोपाराले २८६ रन बनाउँदा चितवन राइनोजले प्लेअफसम्मको यात्रा तय गरेको थियो। यस्तै, इङ्ल्यान्डका सैफ जैबले २७५ रन बनाउँदै सुदूरपश्चिमलाई फाइनल पुर्‍याएका थिए भने न्युजिल्यान्डका जिम्मी निसमले २४७ को योगदानसहित जनकपुरलाई पहिलो संस्करणमै च्याम्पियन बनाउन योगदान गरे।

पहिलो संस्करणमा अस्ट्रेलियाका विलियम बसिस्टोले १९४, वेस्ट इन्डिजका चाड्विक वालटनले १८३ र अझ भारतीय ब्याटर शिखर धवनले कर्णाली याक्सबाट खेल्दै चार खेलमा एक अर्धशतकसहित १३६ रन बनाए।

बलिङतर्फ यिनै टेस्ट राष्ट्रका खेलाडीको दबदबा रह्यो। इङ्ल्यान्डका स्कट कुग्गेलिजनले सुदूरबाट खेल्दै सर्वाधिक १७ विकेट लिएका थिए। पाकिस्तानका सोहेल तन्वीरले चितवन राइनोजबाट १५ र इङ्ल्यान्डका सैफ जैबले सुदूरबाट १२ विकेट लिएर तहल्का मच्चाएका थिए।

विदेशी खेलाडीको यही सफलतालाई देखेर यसपल्ट पनि फ्रेन्चाइज टोली लोभिएका हुन्। यसपालि केही खेलाडी दोहोरिँदा केहीले मौका पाए। दक्षिण अफ्रिकी ब्याटर फाप डु प्लेसिस, अस्ट्रेलियाका ब्याटर साम हिजलेट, दक्षिण अफ्रिकाका वायने पार्नेल र रिकार्डो भान्सकोनेसेलोजजस्ता ठूला खेलाडी एनपीएल-२ को अनुहार बन्नु गौरवको कुरा थियो। अझ जनकपुरले दक्षिण अफ्रिकाकै भेट्रान स्पिनर इमरान ताहिरलाई ल्याउनेसम्मको घोषणा गरेको थियो। तर, जनकपुर लिग चरणबाटै बाहिरिने खतरा बढेपछि उनले आउन अस्वीकार गरे।

तर, जो भित्रिए, थोरैबाहेक अधिकतर खेलाडीको प्रदर्शन सुखद हुन सकेन। अघिल्लो संस्करणमा विराटनगर लिग चरणबाटै बाहिरिएको थियो। यसपल्ट च्याम्पियन हुने लक्ष्यसहित न्युजिल्यान्डका मार्टिन गप्टिललाई निरन्तरता दिएको विराटनगरले महँगो मूल्य तिरेर अस्ट्रेलियाका साम हेजलहेड र दक्षिण अफ्रिकाबाट फाप डु प्लेसिसलाई भित्र्यायो।

विराटनगरका मार्टिन गप्टिल। तस्बिर : एनपीएल

तर, आफ्नो देशलाई विश्वकप जिताइसकेका यी खेलाडीले नामअनुसार काम गर्न सकिरहेका छैनन्। पाँच खेल खेलेका गप्टिलले एक अर्धशतकसहित १२५ रन मात्र बनाएका छन्। हिजलेटले ११६ रन बनाउँदा ढिला आएका डु प्लेसिस २०१ रनमा अडिएका छन्। फाइनल पुग्न महत्त्वपूर्ण मानिएको क्वालिफायर-१ मा यी ब्याटरको प्रदर्शनले पक्कै पनि विराटनगरका फ्यानहरूलाई निराश बनाएको हुनुपर्छ।

हिजलेटले खाता खोल्न नपाउँदा गप्टिल दुई रनमा पेभिलियन फर्किए। लगातार विकेट गुमाइरहेको स्थितिमा विराटनगरका दर्शकहरूले डु प्लेसिसबाट सन् २०१६ को आईसीसी टी-२० विश्वकपमा अफगानिस्तानविरुद्ध एक्लैले जिताएको खेलको नतिजा पुनरावृत्ति हुने आशा गरेका थिए। तर, उनले अफगानिस्तानविरुद्ध आफ्नै कप्तानीमा खेल्दा २७ बलमा सात चौका र एक छक्कासहित ४१ रन बनाएजस्तो ब्याटिङ प्रदर्शन गर्न सकेनन्। उल्टै उनले गप्टिलसँग तालेमल मिलाउन नसक्दा विराटनगरबाट खेल बाहिरियो।

विराटनगरका फाप डु प्लेसी। तस्बिर : एनपीएल

सुदूरविरुद्ध उनले २९ बलमा तीन चौका र एक छक्कासहित ३६ रन मात्र बनाएपछि विराटनगरले फाइनल पुग्न क्वालिफायर-२ को घुमाउरो बाटो रोज्नुपर्‍यो।

“सुदूरलाई लिग चरणमा ६ विकेटले हराउँदा हिजलेट र डु प्लेसिसले पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए। त्यसैले अर्को भेटमा पनि यी दुईलाई नै मौका दियौँ। तर, दुवै चलेनन्,” विराटनगरका निर्देशक दीपेन्द्र चौधरीले हारपछि भनेका थिए।

एनपीएलको जारी संस्करणमा एडम रोसिङ्टन, मार्क वाट, रवि बोपारा, बेन चार्ल्सवर्थ, प्रियांक पन्चाल, डी’आरसी सट, जोन सिम्पसन र सञ्जय कृष्णमूर्ति मात्र ब्याटिङमा आफ्नो जादु देखाउन सफल भएका छन्।

कर्णालीका मार्क वाट। तस्बिर : एनपीएल

यीमध्ये स्कटिस ब्याटर एडम शतकसहित ३०० रन कटाउने पहिलो खेलाडी बने। यद्यपि, उनको यो बलियो प्रदर्शनका बाबजुद पोखरा एभेन्जर्सले लिग चरण पार गर्न सकेन। टोलीले जम्मा दुई जित मात्र हात पार्‍यो। उनीसँगै पोखराले ऋषि धवन, धनञ्जय लक्षण, जसन रोय, डान डौथवेट र म्याट टेलरसँगै जनकपुरलाई च्याम्पियन बनाएका निसमलाई समेत भित्र्याएको थियो। तर, एडमलाई गतिलो साथ दिने कोही निस्किएनन्। रोयले ६८, डानले ७२, लक्षणले ५३, धवनले ५४ र निसमले ९९ रन बनाउँदा टेलरले जम्मा चार विकेट खसाल्न सके।

यस्तै अवस्था अघिल्लोपल्ट क्वालिफायर-२ खेलेको कर्णालीको पनि रह्यो। प्रतियोगिताकै पहिलो शतक प्रहार गरेका वाटले एक अर्धशतकसहित २४६ रन बनाउँदा अन्य खेलाडीले राम्रो साथ दिन सकेनन्। त्यसैले कर्णाली लिग चरणबाट बाहिरिने पहिलो टोली बन्यो।

यीबाहेक चितवनबाट खेलेका बोपारा र काठमान्डु गोर्खाजको ब्याटिङ धानेका बेनले २०० भन्दा बढी रन कटाउन सकेनन्। बाँकी खेलाडी डेढ सय रनकै वरिपरि घुमिरहे। यीबाहेक अन्य कुनै खेलाडीले तुलनात्मक रूपमा राम्रो प्रदर्शन गर्न सकेनन्।

कर्णालीका कप्तान तथा बलर सोमपाल कामी भन्छन्, “अफगानिस्तान, भारतलगायत देशबाट आउने खेलाडीबाट अफ द फिल्ड धेरै सिक्न पाइयो। प्रियांक भाइबाट ८/१० हजार रन बनाउँदा पनि किन भारतीय टिमबाट खेल्न सकेनन् भनेर सुन्न पाइयो। त्यो नै महत्त्वपूर्ण रह्यो।”

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको पिच यसपल्ट पनि ‘स्पिन फ्रेन्ड्ली’ देखियो। विराटनगर किङ्सका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले १७ विकेट लिँदा लुम्बिनी लायन्सका शेर मल्लले  १४ र काठमान्डु गोर्खाजका शाहब आलमले १३ विकेट लिनुले पनि यो कुरा प्रमाणित गर्छ।

विदेशी ब्याटर असफल हुनुमा धेरैले बलको स्विङलाई सही अनुमान गर्न नसकेको देखियो। अघिल्ला वर्ष पावरप्लेमा विदेशीले ३०/३५ रन तान्थे। यो सिजन भने केही खेलमा बाहेक अन्यमा यस्तो ब्याटिङ देखिएन।

काठमान्डुका सहायक प्रशिक्षक वसन्त शाही प्रतियोगिता अगाडि बढ्दै जाँदा यस्तो समस्या देखिएको जिकिर गर्छन्। “जति जति प्रतियोगिता अगाडि बढ्यो, त्यति नै विकेटले सबै टिमलाई मुस्किल बनाइदियो। जस्तो विकेट छ, त्यही किसिमले बलिङ र ब्याटिङ प्लानिङ गरेर खेल्नुपर्ने हुन्छ। अबका खेलमा झन् गाह्रो हुने देखिन्छ,” उनी भन्छन्।

उनले भनेजस्तै क्वालिफायर-१ र इलिमिनेटरमा पनि एकै इनिङ्समा डेढ सय रन बन्न सकेन। सबैभन्दा आश्चर्यको कुरा, विदेशी खेलाडी ‘फ्लप’ भइरहेका बेला केही घरेलु खेलाडीले परिपक्वता देखाए। टप-स्कोरर सूचीमा एडम छन्। तर, ३५ वर्षीय ब्याटर विनोद भण्डारीका लागि उनलाई उछिन्ने सुनौलो मौका छ।

सुदूरबाट खेलिरहेका उनले आठ इनिङ्समा दुई अर्धशतकसहित २६३ रन बनाइसकेका छन्। अर्कातर्फ, लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल पनि उनकै पथमा देखिए। दुई इनिङ्स बढी खेलेका उनले २६० रन बनाएका छन्। विराटनगरका बसिर अहमद र लोकेश बम तथा सुदूरका आरिफ शेखले पनि राम्रो प्रदर्शन गरेका छन्। बलिङमा सुदूरका अविनाश बोहरासँगै सन्दीप, शाहब र शेरकै दबदबा छ।