संकलन
कटु वचन, अपुष्ट दाबी र दम्भी शैलीका कारण एमाले अध्यक्ष केपी शर्मा ओली सधैँ विवादित र आलोचित
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उखानटुक्का जोडेर तथा व्यङ्ग्यात्मक शैलीमा आफ्ना विरोधीलाई तिखो प्रहार गर्नमा माहिर छन्। छुद्र र उटपट्याङ बोलीका कारण बेलाबेला ओली आफैँ व्यङ्ग्यको पात्र बन्छन्, कहिले उनका अभिव्यक्ति विवादित बन्न पुग्छन्।
२०७१ सालमा भएको नवौँ महाधिवेशनबाट एमाले अध्यक्ष बनेका ओली पार्टीभित्र शक्तिशाली बन्दै गए। २०७८ सालको दशौँ महाधिवेशनबाट अध्यक्षमा दोहोरिएपछि झनै शक्तिशाली बने। दलभित्र आफ्ना आलोचकलाई अनेक उपायबाट पाखा लगाउँदै आएका उनले बाहिरका आलोचकलाई सार्वजनिक मञ्चबाटै कडा जवाफ दिन थाले। एमाले अध्यक्षका रूपमा एक दशकभन्दा बढी समय बिताइसकेका उनी यही भदौको २७ देखि २९ गतेसम्म हुने ११औँ राष्ट्रिय महाधिवेशनबाट तेस्रोपटक पनि पार्टीको नेतृत्व लिन कम्मर कसेर लागेका छन्।
एमालेको विधानमा पार्टी नेतृत्वमा ७० वर्षे उमेरहद र कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था गरिए पनि ओलीकै लागि त्यो प्रावधान नै संशोधन गरेर हटाइयो। तेस्रोपटक अध्यक्ष बन्न लागिपरेका ७४ वर्षीय ओलीले ७० वर्षे उमेरहदको विषयमा प्रश्न उठेपछि ‘उक्त प्रावधान लागू गर्ने हो भने मैले १४ वर्ष जेल बसेको समय घटाउनुपर्ने’ तर्क गरिदिए।
२०६० सालपछि देश गणतन्त्र र संघीयतामा जाने बहस भइरहेको अवस्थामा उनले त्यसो हुन सम्भव नरहेको संकेतस्वरूप तीखो व्यङ्ग्य गरेर ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेका थिए। ओलीले नयाँ संविधानको विषयमा फरक मत राख्नेलाई ‘माकाफुइँ’ भनेर उडाएका थिए।
प्रधानमन्त्री रहँदा पनि पटक पटक अपुष्ट र तथ्यहीन कुरा बोलेर विवादमा परे। जेन-जी आन्दोलनबाट गत २४ भदौमा सत्ताच्युत भएका उनले बदलिएको राजनीतिक परिदृश्यलाई आत्मसात् गर्न सकेका छैनन्। आन्दोलनको बलमा बनेको सरकारलाई ‘हाहुको सरकार’ भनिदिए। नवयुवाको आन्दोलनपछि पुराना राजनीतिक दलहरूको पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषय चर्को रूपमा उठ्दा उनले पार्टीभित्रको यस्तो बहसलाई ‘नचाहिने हल्ला’ को संज्ञा दिए।
हेरौँ, ओलीका विवादास्पद र अरूलाई हियाउने बोली तथा रबाफी शैलीका फेहरिस्त :
‘रूखबाट दुई-तीनटा आँप झरे’
(२३ भदौ २०७२)
नयाँ संविधान बनाउने क्रममा संविधानसभामा दलहरूबीच व्यापक बहस भयो। त्यस क्रममा असन्तुष्ट बनेका मधेसवादी दलहरू संविधानसभाबाटै बाहिरिए। यही सन्दर्भमा ओलीले केही दलले संविधानसभा छाड्दैमा संविधान निर्माण प्रक्रिया नरोकिने भन्दै छाड्नेहरूलाई ‘रूखबाट झरेका केही आँप’ को संज्ञा दिए।

केपी शर्मा ओली
२३ भदौमा एमालेले पार्टी कार्यालयमा गरेको पत्रकार सम्मेलनमा ओलीले भनेका थिए, ‘हामी नेपालीहरूमा नकारात्मक सोच छ, रूखबाट दुई–तीनटा आँप झर्यो भने लौ सबै झर्यो खत्तम भयो भन्छौँ। वास्तवमा केही मात्रै झरेका हुन्। त्यसले केही फरक पर्दैन।’
‘मानवसाङ्लो होइन, माखेसाङ्लो’
(१६ असोज २०७२)
३ असोजमा नयाँ संविधान जारी भएपछि मधेसवादी दलहरूले असन्तुष्टि जनाएका थिए। विरोधस्वरूप १४ असोजमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले हुलाकी राजमार्गमा एकअर्काको हात समाएर ‘मानवसाङ्लो’ प्रदर्शन गर्यो। यसको दुई दिनपछि १६ असोजमा काभ्रेमा आयोजित कार्यकर्ता भेलामा ओलीले संविधानविरोधीले जनता भड्काउन संविधानको अपव्याख्या गरेको आरोप लगाउँदै भने, ‘यो मानवसाङ्लो होइन, माखेसाङ्लो हो। संविधान घोषणा भएपछि विकास गर्नुपर्नेमा अवरोध पार्ने गरी साङ्लो बनाइएको हो।’
रेल र पानीजहाजका गफ
(९ चैत २०७४)
काठमाडौँको भृकुटीमण्डपमा आयोजित २९औँ राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै तत्कालीन प्रधानमन्त्री ओलीले दुई वर्षभित्र रेलसेवा सञ्चालनमा आउने दाबी गरेका थिए। ओलीले भनेका थिए, ‘दुई वर्षअघि मजाक उडाएका थिए। अब दुई वर्षपछि ठट्टा गर्ने मान्छे को हुन्, भेटिनेछैनन्। किनभने, रेल कुद्छ।’
आफूले रेल र पानीजहाज ल्याउने बताउँदा विरोधीहरूले कागजको डुंगा बनाएर मजाक गरेको भन्दै उनले ठोकुवा नै गरेका थिए, ‘हुनसक्छ अर्को साल नभए २०७५ सालमा नेपालको पानीजहाजले झन्डा हालेर कसरी सामान, मान्छे बोकेर हिँड्छ, हामी देखाउँछौँ। रेकर्ड गरेर राखे हुन्छ।’ त्यसबेला प्रधानमन्त्रीको दोस्रो कार्यकालमा रहेका उनले तीन वर्ष तीन महिना सरकार हाँके, त्यसपछि पनि थप दुईपटक सत्तामा पुगे, तर न रेल चल्यो, न पानीजहाज।
‘घर घरमा ग्यासका पाइप’
(५ भदौ २०७५)
विराटनगरस्थित श्रीकृष्ण गौसेवा सदनले सञ्चालनमा ल्याएको गोबरग्यास प्लान्ट उद्घाटन गर्दै ओलीले अब पाइपबाट घर घरमा ग्यास पुग्ने बताएका थिए।
२०७२ सालमा नेपालले नयाँ संविधान जारी गरेलगत्तै भारतले नाकाबन्दी गर्दा एलपी ग्यासको हाहाकार भएको थियो। त्यसैबेला ओलीले घर घरमा ग्यासका पाइप पुर्याउने भाषण गरेका थिए।

विराटनगरमा गोबर ग्यास उद्घाटन गर्दै ओली
२०७५ सालमा गोबरग्यास प्लान्ट उद्घाटनमा उनले त्यही पुरानो प्रसंग जोड्दै सिलिन्डर युगको अन्त्य भएकोसमेत बताए। तर, एक महिना नबित्दै उक्त प्लान्ट त बन्द भयो नै, घर घरमा ग्यास पुर्याउने ओलीको भाषण पनि गफमै सीमित भयो।
‘नयाँ युगको सुरुवात’
(११ मंसिर २०७५)
प्रचारबाजी र लोकरिझ्याइँमा पनि ओली अगाडि छन्। काठमाडौँका मुख्य सडकस्थित बिजुलीका पोलमा तत्कालीन प्रधानमन्त्री ओलीको ठूलो फोटोसहित ‘नयाँ युगको सुरुवात’ लेखिएका पोस्टर टाँगिए। त्यो खासमा कामदारको योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यक्रमको थालनी थियो। उक्त घोषणाका क्रममा पोस्टरका साथै होर्डिङ बोर्ड र राष्ट्रिय दैनिक पत्रिकाहरूमा ‘ज्याकेट’ विज्ञापन छापेर जोडदार प्रचार गरियो।

तस्बिर सौजन्य : अनलाइनखबर
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई पक्राउ गर्न नसकेको सरकारले प्रधानमन्त्रीको फोटोसहित तामझाम देखाएको भन्दै ओलीको आलोचना भयो।
पानीजहाज युगमा प्रवेश!
(२ फागुन २०७५)
ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गर्दै ‘देश अब पानीजहाजको युगमा प्रवेश गरेको’ भाषण दिए। उनले राष्ट्रिय ध्वजावाहक पानीजहाज छिटै चल्ने बताउँदै भनेका थिए, ‘पानीजहाजको टिकट कहिले पाइन्छ भनेर केही महिना हामीलाई जिस्क्याउलान्, तर केही महिना पर्खनुस्। टिकट पाइन्छ।’
ओलीले कार्यालय उद्घाटन गर्नुभन्दा दुई वर्षअघिदेखि नै पानीजहाज चलाउने भाषण गर्न थालेका थिए। पछि तत्कालीन नेकपाको चुनावी घोषणापत्र र बजेट वक्तव्यमा समेत पानीजहाजको विषय समावेश गरियो। तर, अहिलेसम्म पानीजहाजको अत्तोपत्तो छैन।
नेपाल अन्तरिक्ष युगमा!
(५ वैशाख २०७६)
जापानमा अध्ययनरत नेपाली विद्यार्थीले बनाएको ‘नेपाली स्याट-१’ नामको सानो स्याटेलाइट (भू-उपग्रह) अमेरिकाबाट अन्तरिक्षमा प्रक्षेपण गरिएपछि ओलीले ‘नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको’ दाबी गरेका थिए।
करिब एक किलो तौलको यो स्याटेलाइट खासमा नमुनाका रूपमा प्रक्षेपण गरिएको थियो। यस्ता स्याटेलाइट ४०० देखि ५५० किलोमिटर दुरीमा मात्र प्रक्षेपण गरिन्छ। जबकि, ठूला स्याटेलाइट करिब ३६ हजार किलोमिटरसम्म प्रक्षेपण गरिन्छन्। विज्ञहरूका भनाइमा नेपालले आफ्नै रकेटमार्फत स्याटेलाइट प्रक्षेपण गर्नसक्ने अवस्था तत्काल छैन। त्यसमाथि अन्तर्राष्ट्रिय स्तरमा दर्ता गर्नुपर्ने, कूटनीतिक पहल गर्नुपर्नेजस्ता कुनै काम हालसम्म भएका छैनन्।
हेलिकोप्टरमा केक
(११ फागुन २०७६)
तत्कालीन प्रधानमन्त्री ओलीले तेह्रथुमको इवामा रहेको आफ्नो जन्मघर पुगेर ६९औँ जन्मदिन मनाए। ओलीको जन्मदिन मनाउन हेलिकोप्टर चार्टर गरेर केक लगिएको थियो। नेपालको नक्सा भएको केट काटेर जन्मोत्सव मनाइएपछि ओली विवादमा परे।

जन्मदिनमा नेपालको नक्सा भएको केक काटिरहेका ओली
त्यसको एक महिनाअघि मात्र ओली नेतृत्वकै नेकपाले नेता-कार्यकर्ताका लागि आचारसंहिता जारी गरेर जन्मदिन, पास्नी तथा व्रतबन्धजस्ता संस्कारलाई घरभित्रै सीमित गर्न निर्देशन दिएको थियो।
जन्मदिनमा केक काटिएको विषयमा समाचार आएपछि ओली असन्तुष्ट भए। उनले १५ फागुनमा बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दै जनता खुसी भएको देखेर पत्रकार दुःखी भएको टिप्पणी गरे। उनले भने, ‘मेरो जन्मदिन पनि परेकाले केक काटियो। त्यो केक खाएको पत्रकारले देखिसहेनन्।’
‘तातोपानीले कोरोना समाप्त’
(२९ चैत २०७६)
सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडिओ कलमार्फत छलफल गर्ने क्रममा प्रधानमन्त्री ओलीले तातोपानीले हात धुँदा कोरोनाभाइरस समाप्त हुने अभिव्यक्ति दिएका थिए। उनले भनेका थिए, ‘जहाँ भाइरस छ भने पनि तातोपानीले हात धुनेबित्तिकै त्यो भाइरसको, त्यसको बाहिरी लेयरको बोसो पग्लिएपछि त्यो त निर्जीव हो, समाप्त हुन्छ त्यहीँ।’
ओलीको यो अभिव्यक्तिलाई विज्ञहरूले खण्डन गरेका थिए।
‘सत्यमेव जयते कि सिंहमेव जयते?’
(५ जेठ २०७७)
ओलीले संसद्मा भारतले अतिक्रमण गरेको नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकको भूमि फिर्ता गराउने विषयमा बोलेका थिए। भारतीय अतिक्रमणबारे असन्तुष्टि प्रकट गर्ने क्रममा उनले भारतको प्रतीकचिह्नमा लेखिएको ‘सत्यमेव जयते’ को चर्चा गरे। भने, ‘म भारतलाई सोध्नेवाला छु कि सत्यमेव जयते कि सिंहमेव जयते?’
‘भारतको कोरोना कडा’
(६ जेठ २०७७)
तत्कालीन प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफ दिने क्रममा संसद्मा बोल्दै अन्यत्रभन्दा भारतबाट आएको कोरोनाभाइरस कडा भएको अभिव्यक्ति दिए। उनले भनेका थिए, ‘वुहानबाट संक्रमण भएर आएको अलि नरम देखिएको थियो। इटालीबाट आएको पनि अलि नरमै देखिएको थियो। दुबईबाट आएको पनि अलि नरमै देखिएको थियो। तर, भारतबाट आएको चाहिँ अलि कडा भाइरस देखिएको छ।’
तर, विज्ञहरूले ओलीले भनेजस्तो भारतबाट फर्केका नेपालीहरूमा देखिएको कोरोनाभाइरस संक्रमण कडा खालको भए वा नभएको कुरा वैज्ञानिक रूपमा पुष्टि नभएको बताएका थिए।
‘रुघाखोकीजस्तै कोरोना’
(४ असार २०७७)
ओलीले कोरोनाभाइरसका विषयमा राष्ट्रिय सभामा दिएको अभिव्यक्ति विवादमा पर्यो। उनले कोरोना महामारीलाई ठूलो रूपमा लिन नहुने, लागिहाले आत्तिन नहुने बताएका थिए। उनले भनेका थिए, ‘कोरोना भनेको रुघाखोकीजस्तै हो। लागिहाल्यो भने हाच्छ्युँ साच्छ्युँ गर्नुपर्छ। तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ।’
सोही क्रममा उनले नेपालीहरूको रोगप्रतिरोधात्मक क्षमता बढी भएको दाबी पनि गरेका थिए। नेपालीको भान्सामा अदुवा, लसुन, प्याजलगायत औषधिजन्य खानेकुरा भएकाले तिनले रोग प्रतिरोधात्मक क्षमता बढाउने उनको तर्क थियो।
उनको यो अभिव्यक्तिको स्वास्थ्य क्षेत्रका विज्ञहरूले नै आलोचना गरेका थिए।
‘ठोरीका राम’
(२९ असार २०७७)
भानु जयन्तीको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै ओलीले ‘भगवान् राम’ भारतका नभई नेपालकै वीरगन्ज नजिकै ठोरीमा जन्मिएको दाबी गरे।
भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाउँदै उनले भनेका थिए, ‘हामी अहिले पनि ठानिरहेका छौँ, हामीले सीता भारतका राजकुमार रामलाई दियौँ। भारतका होइन, अयोध्याका रामलाई दिएका हौँ हामीले। अयोध्या भनेको वीरगन्जभन्दा पश्चिमपट्टिको गाउँ हो।’
‘त्यो पर्दैन’
(३१ वैशाख २०७८)
नवनियुक्त प्रधानमन्त्री ओलीलाई शपथ खुवाउने क्रममा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले शपथको व्यहोरा पढिन्। त्यसलाई दोहोर्याउने क्रममा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाए। राष्ट्रपति भण्डारीले दोहोर्याएर वाचन गरेपछि ओलीले भनिदिए, ‘त्यो पर्दैन।’

विवादास्पद ‘त्यो पर्दैन’ भनिएको शपथ समारोह
संविधानमै उल्लेख भएको शपथग्रहणको व्यहोरा उल्लंघन भएको भन्दै सर्वत्र विरोध भयो। उनलाई दोहोर्याएर शपथ गराउनुपर्ने आवाज उठ्यो। यस विषयमा सर्वोच्च अदालतमा चार वटा रिट दर्ता भए।
आफ्नो गल्ती स्विकार्नु वा सच्याउनुको साटो ओलीले शपथ लिएको १० दिन नबित्दै सरकारले ‘शपथ सम्बन्धी अध्यादेश २०७८’ जारी गरेर ओलीले नरुचाएका शब्द ‘यो प्रतिज्ञा गर्छु कि’ नै हटाइदियो।
ओलीलाई विशेष आसन
(३ भदौ २०७८)
एमालेको भक्तपुर जिल्ला संगठनले चुनदेवीमा आयोजना गरेको कार्यक्रममा ओलीका लागि विशेष कुर्सीको व्यवस्था गरिएको थियो।
पार्टीका अन्य नेताहरूभन्दा छुट्टै रबाफ र ठाँट देखाउने ओलीलाई प्रायः जुनसुकै कार्यक्रममा अरूभन्दा विशेष किसिमको कुर्सी राखिने गरिएको छ। जेन-जी आन्दोलनपछि पनि पार्टीका बैठकहरूमा ओलीलाई विशेष कुर्सीको व्यवस्था गर्ने गरिएको छ।
मिडियाले ‘तिमी’ लेखेकामा आपत्ति
(२३ वैशाख २०८२)
तत्कालीन प्रधानमन्त्री ओलीले गोरखापत्र संस्थानको १२५औँ वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उच्चपदस्थहरूलाई सञ्चारमाध्यमले ‘तिमी’ सम्बोधन गरेकोप्रति आपत्ति प्रकट गरे।
प्रधानमन्त्री, राष्ट्रपतिलगायतलाई सञ्चारमाध्यमले ‘तपाईं’ नभनेर ‘तिमी’ भनेकामा पहिलादेखि नै आलोचना गर्दै आएका ओलीले सो कार्यक्रममा भने, ‘राजतन्त्रकालमा राजाले नजर गर्थे, सवारी गर्थे, सुकला हुन्थ्यो भनिन्थ्यो। राजतन्त्र हटेपछि जनताका छोरालाई किन सम्मान नगर्ने? भाषा गरिब भए पनि हामीले आफ्नो भाषाको कद घटाउनुहुन्न।’
‘भगवान् शिव खोटाङका चाम्लिङ’
(२३ असार २०८२)
एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भगवान् शिव खोटाङका चाम्लिङ हुनसक्ने बताए।

केपी शर्मा ओली
शिवजी खेलेका खोटाङका ओढारहरूलाई अहिले हलेसी भन्ने गरिएको उनको भनाइ थियो। वेदव्यास, कपिलमुनि, गौतम बुद्ध नेपालमै जन्मिएको बताउँदै उनले भने, ‘हलेसी भनेको चाम्लिङको थलो हो। शिवजी चाम्लिङ पनि हुनसक्छन्।’
दुर्घटनामा असंवेदनशील
(२१ भदौ २०८२)
एमालेको विधान महाधिवेशनमा सहभागी हुन जाने क्रममा कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर चढेको गाडीले ललितपुरको हरिसिद्धि माध्यमिक विद्यालयअगाडि ११ वर्षीया बालिकालाई ठक्कर दियो। बालिका भुइँमा ढलेपछि गाडी रोक्नु र उठाउनुको साटो गाडी हुइँकिएर अगाडि बढ्यो। घटनाको भिडिओ सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चौतर्फी आलोचना भयो। तर, ओलीले पीडित परिवारलाई सान्त्वना दिनुको साटो बालिकालाई ठक्कर दिएको विषयलाई ‘सामान्य घटना’ भन्दै राजनीतीकरण गर्न खोजिएको आरोप लगाए। उनको यो अभिव्यक्ति पनि विवादित भयो।
‘हाहुको सरकार’
(११ असोज २०८२)
जेन-जी आन्दोलनपछि २४ भदौमा प्रधानमन्त्रीबाट राजीनामा दिएका ओलीलाई नेपाली सेनाले १३ दिनसम्म सुरक्षा दिएर ब्यारेकमा राख्यो। ७ भदौमा मात्र सेनाको ब्यारेकबाट निस्किएर उनी भक्तपुरको गुन्डुमा बस्न थाले। ११ भदौमा पत्रकार सम्मेलन गरे। त्यस क्रममा ‘हाहुको सरकार’ लाई देश जिम्मा दिन नसकिने भन्दै सुशीला कार्की नेतृत्वको सरकारको आलोचना गरे।
‘गृहमन्त्री बाबु’ लाई सुझाव
(२३ असोज २०८२)
भक्तपुरको गुन्डुमा आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै ओलीले देश चलाउनु ख्यालठट्टा नभएको भन्दै बुझेर अघि बढ्न गृहमन्त्रीलाई चेतावनी दिए।
सरकारले आफ्नो पासपोर्ट रोक्का गरेको र उपत्यका छाड्न रोक लगाएको विषयमा आक्रोशित बनेका ओलीले सुशीला कार्कीको डरले आफू नभाग्ने भन्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई सुझाए, ‘म गृहमन्त्री बाबुलाई धेरै नउत्ताउलिन र नचम्किन सुझाव दिन चाहन्छु। राजनीति चलाउने, देश चलाउने ख्यालठट्टा होइन।’
‘जेन-जी सेनजी केही पनि होइन’
(२० कात्तिक २०८२)
एमालेका नेताहरूसँग बोल्दै ओलीले जेन-जीका नाममा अरूले लुटपाट र आतंक मच्चाएको आरोप लगाए। भने, ‘जेन-जी सेनजी केही पनि होइन। हाम्रा भाइबहिनीलाई अर्को वर्गले आएर, के के गरेर झुक्याएर अलमल्याएर लगेका थिए। तिनीहरूको त एकछिनमा सकिएको थियो। त्यसपछि अरूले नै त्यस निहुँलाई अगाडि बढाए र भस्म मच्चाए।’
‘महाधिवेशनमा छलफल हुँदैन’
(२१ कात्तिक २०८२)
एमालेको शिक्षा तथा मानवस्रोत विभागले आयोजना गरेको कार्यक्रममा ओलीले एमालेको आउँदो महाधिवेशनमा आफ्नो निर्देशनात्मक मन्तव्य हुने र त्यसमा छलफल नै नहुने बताए। उनले भने, ‘यसपल्ट मैले एकतर्फी रूपमा महाधिवेशनलाई सम्बोधन गर्ने हो। मेरो मन्तव्य आउँछ, त्यति हो। त्यसमा पनि छलफल हुँदैन।’
सोही कार्यक्रममा उनले कार्की नेतृत्वको सरकारलाई असंवैधानिक, प्रतिगामी र हाहुको सरकार भनेर आलोचना गरे। उनले जेन-जी आन्दोलनलाई ‘कुनै आधार, इतिहास र जनसमर्थन केही नभएको अराजकता’ को संज्ञा दिँदै भने, ‘हाहुमा आगो लगाएको भरमा, लुटेको भरमा, तोडफोड गरेको भरमा, अराजकता मच्चाएको भरमा, आतंककारी अभ्यास गरेको भरमा बनेको सरकार।’
‘मुखिया मुखिनी कहाँबाट आए?’
(३ मंसिर २०८२)
एमालेको अन्तरक्रियामा बोल्दै ओलीले वर्तमान सरकारलाई ‘हाहुको सरकार’ मात्र भनेनन्, उहिले दास युगमा समेत दासहरू भेला भएर मुखिया छान्ने गरेको भन्दै वर्तमान सरकारलाई त्यसभन्दा खराब भने। ‘मुखिया मुखिनी कहाँबाट आए यहाँ त, छान्नै पाइएन,’ उनले भने।
‘जेन-जी आन्दोलनमा षड्यन्त्र’
(६ मंसिर २०८२)
ओलीले जेन-जी आन्दोलनमा षड्यन्त्र लुकेको दाबी गरे। जेन-जी आन्दोलनको पृष्ठभूमि र आधार नभएको भन्दै उनले भने, ‘षड्यन्त्र लुकेको थियो। त्यो षड्यन्त्र माइतीघरबाट एभरेस्ट (होटल) अगाडि पुग्दासम्ममा प्रकट भयो। त्यसपछिका घटना षड्यन्त्रका उपज हुन्।’
ओली कुटी
(१८ मंसिर २०८२)
जेन-जी आन्दोलनका क्रममा भक्तपुरको बालकोटस्थित ओलीको निवासमा आगजनी भयो। हेलिकोप्टर चढेर सेनाको ब्यारेक पुगेका ओली त्यहाँबाट फर्किएपछि भक्तपुरकै गुन्डुमा भाडाको घरमा बसिरहेका छन्। हाल उनी बस्दै आएको घरनजिकै एक रोपनी जग्गामा ओली दम्पतीका लागि विभिन्न सुविधायुक्त भव्य घर बनाइँदै छ, जसलाई ‘ओली कुटी’ नाम दिइएको छ।

गुन्डुमा बन्न लागेको ओलीको नयाँ ‘कुटी’
१८ मंसिरमा ओलीपत्नी राधिका शाक्यले घर निर्माणका लागि शिलान्यास गरेकी छन्। बैठक कक्ष, पुस्तकालय, ग्रिन हाउसदेखि कौसी खेतीसम्मका सुविधा हुने आवासलाई ‘कुटी’ नाम दिइएपछि चौतर्फी रूपमा व्यङ्ग्य भइरहेको छ।
‘ठाउँ छोड् भन्दै आउने?’
(२१ मंसिर २०८२)
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा फर्किन खोजेपछि रोक्दै आएका ओलीले एउटा अन्तरवार्तामा भण्डारीले धामीजसरी नै बाटो छोड् भन्दै आएको टिप्पणी गरे । भने, ‘पार्टीले राष्ट्रपतिजस्तो गरिमामय पदमा पठायो । उहाँ फर्केर पार्टीमै आउनुहुन्छ भने पनि सल्लाह नगरीकन परैदेखि धामीले जस्तो घुमरौँ लाएर झर्ल्याङझर्ल्याङ गरेर मुजुरका प्वाँखस्वाँख लाएर ढ्याङढ्याङ पार्दै ‘म राष्ट्रपतिबाट आएँ, ठाउँ छोड्, ठाउँ छोड्, म अध्यक्ष हुन्छु, ठाउँ छोड्’ भन्दै आउने? एउटा तरिका हुन्छ नि त आउने।’
उनको यस्तो अभिव्यक्तिको अष्टलक्ष्मी शाक्यलगायत पार्टीकै नेताहरूले पनि आलोचना गरे।