काठमाडौँ
००:००:००
७ पुष २०८२, सोमबार

राजनीति

कमजोरी लुकाउन सधैँ शक्तिशाली बन्ने ओली अभीप्सा

२६ मंसिर २०८२
चितवनमा नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा केपी ओली। तस्बिर : बिक्रम राई
अ+
अ-

‘एउटा छेउमा नरेन्द्र मोदी छन्, अर्को छेउमा सी चिनफिङ छन्। उहाँहरूसँग हाइट मिल्ने समकालीन नेता केपी शर्मा ओली नै हो। राजनीतिक अन्योल झन् बढिरहेको बेला अध्यक्षमा ओलीको विकल्प छैन,’ ११औँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारीको घोषणा गर्दै एमाले केन्द्रीय सदस्य माधव ढुंगेलले फेसबुकमा लेखे। एमालेको विधान महाधिवेशनअघि गत साउनमा एक न्युज पोर्टललाई दिएको अन्तर्वार्तामा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले समेत सी र मोदीजस्तै ‘बोल्ड लिडरसिप’ चाहिएकाले अध्यक्षमा ओलीलाई तेहर्‍याउने पक्षमा पुगेको बताएका थिए।

ढुंगेल र ज्ञवालीले सी र मोदीकै हाराहारीको नेता मानेका ओली भने आफूलाई दुवैभन्दा एक तहमाथिका नेता ठान्छन्।

ओलीको शासनकालको धेरै समय ठूला योजनाको आश्वासनमै सकिएको छ। पानीजहाज, चुच्चे रेल, सबै राष्ट्रिय गौरवका आयोजनालाई ओलीले आफ्नै सपनाजसरी प्रस्तुत गरे।

“(डोनाल्ड) ट्रम्प व्यापारी हुन्, राष्ट्रपति हुनुभन्दा अघि टीभी कार्यक्रम चलाउँथे, (नरेन्द्र) मोदीले पनि जेलनेल भोगेका होइनन्, म जेलमा हुँदा मोदी हिमालतिर जोगी भएर हिँड्दै थिए, (भ्लादिमिर) पुटिन पहिले केजीबी (रुसी गुप्तचर संस्था)का जासुस थिए, सी (चिनफिङ) प्रिन्सलिङ्स (राजकुमारजस्तो शासनका लागि प्रशिक्षित गरेर ल्याएको)बाट नेता भएका हुन्,’ ओलीले निकटका नेता-कार्यकर्तालाई बरोबर सुनाउने गरेको एमालेका पदाधिकारीहरू नै बताउँछन्।

एक एमाले पदाधिकारी आफूहरूसँग ओलीले विश्वमा आफूजस्ता दुईचार जना नेता मात्र भएको बताउने गरेको अनुभव सुनाउँछन्। ‘अरूले सत्तामा पुगेपछि सबैको साथ पाउँछन्। दुःख गरेर आएको मैले चाहिँ आफ्नै मानिसबाट सहयोग पाउन सक्दिनँ,’ पार्टीमा ओली यस्तै गुनासो गर्छन्।

पार्टी प्रमुख भएपछि ओलीले शक्तिको केन्द्रीकरण गरे। विपक्षीको हुर्मत लिए, राष्ट्रवादको पर्याय बने, असन्तुष्टि र विरोधलाई षड्यन्त्र देख्ने र अस्थिरता अन्त्य गर्ने पात्रका रूपमा आफूलाई प्रस्तुत गरे। खण्डीकृत र गठबन्धन राजनीति, कमजोर कर्मचारीतन्त्र, न्यून वित्तीय क्षमता र भूराजनीतिक दबाब झेल्दै आएको देशमा ओलीले आफूलाई सबै समस्याको समाधान गर्ने शक्तिशाली नेताको रूपमा प्रस्तुत गरे। यही पृष्ठभूमिमा ओलीलाई आफू विश्वनेता भएको भ्रम उत्पन्न भएको हो।

भारतीय प्रधानमन्त्रीसँग ओली

हुन पनि ओली आफूलाई तीव्र आर्थिक विकासमार्फत देशको आधुनिकीकरणका जनक, सर्वभौमिकताका रक्षक दाबी गर्छन्। ओली एकातिर आफूलाई शक्तिशाली नेताका रूपमा प्रस्तुत गर्छन् भने अर्कातिर राजनीतिक रूपमा पीडित भएको बताउँछन्। उनले आफूलाई एकै समय नायक र पीडित देखाउने गरेका छन्। अदालत, सेना, विदेशी शक्ति मात्रै नभएर पार्टीभित्रैका सहकर्मी आफूविरुद्ध लाग्ने गरेको ओलीको आरोप छ।

ओलीको शासनकालको धेरै समय ठूला योजनाको आश्वासन दिँदादिँदै सकिएको छ। पानीजहाज, चुच्चे रेल, सबै राष्ट्रिय गौरवका आयोजनालाई ओलीले आफ्नै सपनाजसरी प्रस्तुत गरे।

भारतको नाकाबन्दीको प्रतिवाद कांग्रेसलगायत अरू दलले प्रभावकारी ढंगले गर्न नसक्दा ओलीले नै त्यसको प्रतिवाद गरे। त्यसबाट राजनीतिक लाभ एमाले र ओलीलाई नै भयो।

ओलीमा राम्रो कुराको श्रेय आफूले मात्रै लिने प्रवृत्ति देखिन्छ। तेस्रो कार्यकालका लागि एमाले अध्यक्ष हुन अग्रसर उनले भूकम्पको पुनर्निर्माण, नागढुंगाको सुरुङमार्ग, कीर्तिपुरको क्रिकेट स्टेडियमजस्ता भौतिक पूर्वाधार आफैँले बनाएको भन्दै त्यसको जस लिने गर्छन्। तर, आफू प्रधानमन्त्री भएको बेला २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनको जनधन क्षतिको जिम्मेवारी लिन उनी तयार छैनन्।

भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना अनि सामाजिक सञ्जाल खुला गर्नुपर्ने मागसहित जेन-जीले गरेको आन्दोलनलाई ओलीले प्रतिक्रान्ति भन्दै आएका छन्। उल्टो जेन-जी आन्दोलनबाट आफू पीडित भएको उनको दाबी छ। उनी जेन-जी आन्दोलनमा विदेशी शक्तिको हात रहेको टिप्पणी गर्छन्। जेन-जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले आफूलाई पक्राउ गर्ने षड्यन्त्र गरेको उनको दाबी छ। जेन-जी आन्दोलनकारीको निसानामा परेका ओलीलाई प्रधानमन्त्रीनिवास बालुवाटारबाट नेपाली सेनाको हेलिकोप्टरले सुरक्षित स्थानमा लगेको थियो। आन्दोलनकारीले ओलीको भक्तपुर, झापा र तेह्रथुमका घरमा आगजनी गरेका थिए।

ओली उदयका कारण

३ असोज २०७२ मा संविधान जारी भएपछि भारतले गरेको नाकाबन्दीपछिको एक दशक ओली शक्तिकेन्द्रमा रहे। एमालेसँग गठबन्धन गरेर दुई तिहाईको सरकारको नेतृत्व सुशील कोइरालाले गरे पनि संविधान निर्माणको जस ओलीले नै पाए। मधेसको असन्तुष्टि र भारतीय दबाबबीच संविधान जारी गर्न ओलीले सक्रिय भूमिका खेलेका थिए। त्यसपछि ओली प्रधानमन्त्री बने। भारतको नाकाबन्दीको प्रतिवाद कांग्रेसलगायत अरू दलले प्रभावकारी ढंगले गर्न नसक्दा ओलीले नै त्यसको प्रतिवाद गरे। त्यसबाट राजनीतिक लाभ एमाले र ओलीलाई नै भयो।

४ असोज २०५३ मा संसद्ले महाकाली सन्धि पारित गर्दा ओलीले खेलेको भूमिकाको कारण लामो समय उनलाई भारतपरस्त नेताको आरोप लाग्यो। पार्टीभित्र र बाहिर महाकाली सन्धि असमान भएको भन्दै विरोध भइरहँदा ओलीले त्यसलाई पारित गराउन निर्णायक भूमिका खेलेका थिए। महाकाली सन्धि अनुमोदन भए नेपाललाई वार्षिक एक खर्ब २० अर्ब रुपैयाँ आम्दानी हुने तर्क दिएका थिए। यही सन्धिलाई कारण देखाउँदै २०५४ सालमा एमाले विभाजन भएर नेकपा (माले) बन्नपुग्यो। तर, सन्धि पारित भएको ३० वर्ष बित्दा पनि पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भएको छैन।

२०७२ सालमा भारतले लगाएको नाकाबन्दीकाे बेला वीरगन्जमा रोकिएका मालवाहक ट्रक। तस्बिर : जियालाल साह

२०७२ सालको नाकाबन्दीको विरोध गरेपछि ओलीलाई लागेको भारतपरस्तको आरोप आमजनमा सामसुम भयो। २०६२/६३ को जनआन्दोलनपछि ओली माओवादीका चर्को आलोचक थिए। सशस्त्र विद्रोहबाट शान्तिपूर्ण राजनीतिमा आएको माओवादीको उनले प्रतिरोध गरे। त्यसबाट उनी सेना र परम्परागत शक्तिबाट पनि केही हदसम्म रुचाइए। त्यसले ओलीलाई एमालेभित्र महत्त्वपूर्ण शक्तिकेन्द्रका रूपमा उदाउन सहयोग पुग्यो।

जब ओली एमाले अध्यक्ष भए, त्यसपछि भने शक्ति र सत्ताको केन्द्रमै घुमिरहे। पछिल्लो दशकमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र ओली पालैपालो प्रधानमन्त्री भए। त्यसमा पनि आधाभन्दा बढी समय ओली नै सरकार प्रमुख भए। संविधान जारी भएयता पाँच वर्ष चार महिना ओली नै प्रधानमन्त्री रहे।

एमाले विगतमा सामूहिक नेतृत्वमा चलेको थियो। ओली अध्यक्ष भएपछि पार्टीमा केन्द्रीकरण सुरु गरे।

सरकार मात्र होइन, एमालेभित्र पनि अध्यक्षकै हालीमुहाली चल्यो। १ साउन २०७१ मा नवौँ महाधिवेशनबाट अध्यक्ष चुनिएपछि उनी निरन्तर अध्यक्ष छन्। पार्टी अध्यक्ष र सरकारको नेतृत्वमा हुँदा ओलीले ‘म’, ‘मेरो’, ‘मेरो नेतृत्वमा’, ‘मैले गरेको काम’, ‘मेरो नेतृत्वमा सम्भव भयो’, ‘मेरो सपना’, ‘मेरो दृष्टिकोण’ जस्ता शब्दावली प्रायः दोहोर्‍याइरहे।

“ओलीको ‘म’ प्रवृत्तिले एमालेका नेता-कार्यकर्ता नै आजित र प्रताडित छन्,” एमाले केन्द्रीय सदस्य अरविन्द सिंह भन्छन्, “ओलीको बोलीका आधारमा यो नै समग्र एमालेको बोली भन्ने ठान्नु हुँदैन, आफ्नो बोलीको जवाफदेही ओलीले नै लिनुपर्छ।”

प्रधानमन्त्री भएपछि उनले गृह मन्त्रालयबाट राष्ट्रिय अनुसन्धान विभाग, अर्थ मन्त्रालयबाट राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याए। सिंहदरबारभन्दा प्रधानमन्त्रीनिवास बालुवाटारलाई शक्तिको केन्द्र बनाए। सचिव र उच्च अधिकारी फाइल बोकेर बालुवाटार धाउने अवस्था बन्यो।

एमाले विगतमा सामूहिक नेतृत्वमा चलेको थियो। ओली अध्यक्ष भएपछि पार्टीमा केन्द्रीकरण सुरु गरे। महासचिव प्रणालीबाट बहुपदीय प्रणालीमा गएको एमालेमा ओलीले नै सामूहिकता सिध्याएका छन्। ‘सामूहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारी’ को नारा ओलीको ‘वान म्यान सो’ बनेको छ। कतिसम्म भने, ओलीलाई रिझाएर आफ्नो दुनो सोझ्याउन कतिपय नेताहरूले नै ओलीलाई पार्टीका सबै अधिकार सुम्पिए। स्वायत्त पार्टी भ्रातृसंगठनमा निर्वाचन नै नगराएर ओलीले नै नेतृत्व तोकिदिने अवस्था उत्पन्न गराए।

“पछिल्लो समयमा एमाले भनेकै ओली भन्ने भएको छ। ओलीलाई पार्टीभित्र काउन्टर दिनसक्ने नेता नभएको कारण यस्तो भएको हो,” धनकुटास्थित महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापनरत इच्छापूर्ण राई भन्छन्, “ओली अहिलेको अवस्थामा पुग्नुमा उनको चाहनासँगै केही परिस्थितिजन्य कारण पनि छन्।”

ओलीले बुद्धिजीवी, सञ्चारमाध्यम र नागरिक समाजप्रति पनि बेलाबेला कटाक्ष गर्ने गरेका छन्। आफ्नो विरोध गर्ने बुद्धिजीवीलाई ओलीले ‘लुगा काट्ने मुसा’ को संज्ञा दिएका छन्।

विगतमा एमालेभित्र आन्तरिक लोकतन्त्रको चर्को आवाज उठाउने नेता पनि ओली नै हुन्। तर, उनैले अहिले एमालेमा आन्तरिक लोकतन्त्र वर्जित गरेका छन्। एमाले र माओवादी केन्द्र मिलेर २०७४ सालमा नेकपा बन्दा पार्टीको केन्द्रीय नेतृत्वमा एक तिहाइ महिलाको प्रतिनिधित्व माग गरेकी नेतृ विन्दा पाण्डेलाई ओलीले ‘ट्याउँट्याउँ’ गर्ने होइन भन्दै हप्काएका थिए।

ओलीसँग निकट रहेर काम गरेका दामोदर अर्याल विरोधीहरूप्रति ओलीको व्यवहार असहिष्णु रहेको बताउँछन्। “फरक धारणा राख्नेहरूलाई उहाँ निको मान्नुहुन्न। मन नपरेको व्यक्ति देखे अर्कातर्फ मुख फर्काउने गर्नुहुन्छ,” उनी भन्छन्, “आफ्नो समर्थन गर्ने समकालीन नेताहरूलाई अरूमाझ उपनामले बोलाउने गर्नहुन्छ।”

ओलीले माधवकुमार नेपाललाई ‘ब्राह्मण’, झलनाथ खनाललाई ‘पण्डित’, उपाध्यक्ष युवराज ज्ञवालीलाई ‘लेखनदास’ भन्ने गरेका छन्। ५ पुस २०७७ मा ओलीले संसद् विघटन गरेपछि योगेश भट्टराईले ओली मन्त्रिपरिषद्‌बाट राजीनामा दिएका थिए। ओलीले कोसी प्रदेशको कार्यकर्ता भेलामा भट्टराई आफूलाई भुक्क लात्ता हानेर हिँडेको ‘बैगुनी केटो’ रहेको बताएका थिए।

ओली प्रधानमन्त्री भएका बेला विपक्षी सांसदहरूको सम्भावित प्रश्नप्रति इंगित गर्दै ‘निम्छरो’ शब्द प्रयोग गरेपछि त्यसको विरोध भएको थियो। ओलीले बुद्धिजीवी, सञ्चारमाध्यम र नागरिक समाजप्रति पनि बेलाबेला कटाक्ष गर्ने गरेका छन्। आफ्नो विरोध गर्ने बुद्धिजीवीलाई ओलीले ‘लुगा काट्ने मुसा’ को संज्ञा दिएका छन्।

राजनीतिशास्त्री भास्कर गौतम ओली प्रवृत्तिमा हीनभाव बढी हाबी भएको बताउँछन्। “हीनभावना र अरूले पत्याएको कुरा प्रमाणित गर्ने अन्तर्द्वन्द्वमा उहाँ बाँच्नुभएको छ,” गौतम भन्छन्, “त्यो हीनताबोध लुकाउन उहाँले छल राजनीति रोज्नुभएको छ।” उनका अनुसार छल राजनीतिमा हावादारी गफको हिस्सा बढी हुन्छ। “तथ्यपरकभन्दा उडन्ते कुरा गरेर उहाँले  कार्यकर्तालाई गुमराहमा राखेको देखिन्छ,” उनी भन्छन्।