काठमाडौँ
००:००:००
१ पुष २०८२, मंगलवार

शिक्षा

पहिला विद्यार्थी खोज्नुपर्थ्यो, अहिले भरिभराउ

१ पुष २०८२
याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय ज्ञानकूपमा पढाउँदै महिला शिक्षिका। तस्बिरहरू : वीरेन्द्र रमण
अ+
अ-

सामुदायिक विद्यालय भन्नासाथ हामीमध्ये धेरैलाई पढाइको न्यून गुणस्तर र राजनीतिक थलो भन्ने झल्को आइहाल्छ। तर, मधेस प्रदेशका केही सामुदायिक विद्यालयले यो भाष्य चिरिरहेका छन्। ती विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूले पठनपाठन मात्र सुधारेका छैनन्, विद्यार्थी भर्ना दरसमेत उल्लेख्य बढाएका छन्। तिनैमध्येको एक हो, जनकपुरधाम उपमहानगरपालिका-२४ बसहियामा रहेको गोगल प्रसाद नमुना माध्यमिक विद्यालय।

कुनै बेला विद्यार्थी अभावकै कारण नियमित कक्षासमेत नहुने यस विद्यालयमा आफ्ना सन्तान पढाउनु भनेको उनीहरूको भविष्यसँग खेलबाड गर्नु हो भन्ने सोच अभिभावकमा थियो। निजीको खर्च धान्न नसक्ने विपन्न समुदायका बालबालिका मात्रै यहाँ पढ्ने गर्दथे।

अहिले अवस्था कस्तो छ भने, प्रत्येक वर्ष नयाँ विद्यार्थी भर्नाका बेला क्षमताभन्दा धेरै विद्यार्थीले भर्ना आवेदन दिएर समस्या हुने गरेको प्रधानाध्यापक दास बताउँछन्।

तर, २५ कात्तिक २०७४ मा महावीर दास प्रधानाध्यापक बनेर आएपछि विद्यालयको कायाकल्प भयो।

दाससामु त्यतिबेला दुई चुनौती थिए- नयाँ विद्यार्थी भर्ना गराउने र भएका विद्यार्थी टिकाउने। यसका लागि उनले सबैभन्दा पहिले सरकारी विद्यालयमा पढाइ नै हुँदैन भन्ने अभिभावकको सोच परिवर्तन गराए। “गाउँतिर सरकारी विद्यालयमा पढाइ नै हुँदैन भन्ने मानसिकता थियो, मैले त्यसलाई चिर्न केही समय अभिभावकहरूसँग छलफलको अभियान नै चलाएँ। अभिभावकहरूले विद्यार्थी दिए, हामीले पनि पूरै समय कक्षा सञ्चालन गर्न थालेपछि विश्वास जित्यौँ,” पुराना दिन सम्झिँदै उनी भन्छन्।

गोगल प्रसाद नमुना माविमा पढाउँदै एक शिक्षक

अभिभावकका घर घरमा पुगेर संवाद गर्न थालेपछि दासले विश्वास मात्र पाएनन्, विद्यार्थी पनि पाए। बिस्तारै जनकपुर मात्र नभई धनुषाको नगराइन नगरपालिका, महोत्तरीको पिपरा गाउँपालिका, मटिहानी नगरपालिकाको साथै अन्य स्थानीय तहबाट समेत विद्यार्थीहरू आउन थाले। कुनै समय विद्यार्थी नभएर रित्तो भवनमा हाजिर गरेर फर्किने शिक्षकहरू अहिले भरिभराउ कक्षाकोठामा पढाउन थालेका छन्। “विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरूबीच सहकार्य भएर विश्वास जितेपछि विद्यार्थीहरू भरिभराउ छन्,” दास भन्छन्, “अब विद्यार्थी खोज्न जानै पर्दैन, आफैँ आउन थालेका छन्।”

दासका अनुसार अहिले विद्यालयमा ३६ जना दरबन्दीका शिक्षक छन् भने कुल १०८ जना कर्मचारी र शिक्षक छन्। विद्यालयको सम्पत्तिबाट निजी स्रोतमा समेत शिक्षक राखिएको छ। अहिले अवस्था कस्तो छ भने, प्रत्येक वर्ष नयाँ विद्यार्थी भर्नाका बेला क्षमताभन्दा धेरै विद्यार्थीले भर्ना आवेदन दिएर समस्या हुने गरेको प्रधानाध्यापक दास बताउँछन्।

विद्यालयमा २०७१ सालतिर करिब ७५ जना विद्यार्थी थिए। पछि, वैदिक शिक्षालाई प्रविधिसँग जोड्ने उद्देश्यले २०७३ सालमा प्राविधिक विषय (कम्प्युटर) थपियो। यसपछि भने विद्यार्थी संख्या निरन्तर बढ्दो क्रममा रहेको प्रधानाध्यापक सञ्जय झा बताउँछन्।

गोगल प्रसाद नमुना माविले कक्षा १० देखि १२ सम्मका विद्यार्थीहरूलाई प्रत्येक शनिबार र अरू विद्यार्थीलाई प्रत्येक महिना पढाइ भएको विषयमा परीक्षा लिने गरेको छ। कुनै विषयमा विद्यार्थीको कम अंक आएमा छलफल गरेर सुधार्नलाई तत्काल काम गर्ने भएकाले आफ्नो विद्यालयले प्रगति गरेको दासको दाबी छ।

अहिले विद्यालयमा ३४ वटा कक्षाकोठा छ। अब सात वटा कोठा थपिए अरू विद्यार्थी भर्ना गर्न सजिलो हुने उनको भनाइ छ। विद्यालयसँग अहिले तीन वटा बस पनि छ। सामान्य शुल्क लिएर विद्यार्थीलाई ल्याउने र पुर्‍याउने गरिएको छ।

गोगल प्रसाद नमुना मावि

स्थानीय विजयशंकर शर्मा पहिलेको तुलनामा विद्यालयको अवस्थामा धेरै सुधार आएको जिकिर गर्छन्।

विद्यालयको करिब पाँच वर्षको भर्ना दर हेर्ने हो भने, हरेक वर्ष विद्यार्थी संख्या बढेको देखिन्छ। २०७८ सालमा दुई हजार २३४, २०७९ सालमा दुई हजार ७५६, २०८० सालमा तीन हजार ५२५, २०८१ सालमा तीन हजार २५३ विद्यार्थी थिए भने २०८२ सालमा तीन हजार ८४७ जना विद्यार्थी अध्ययनरत छन्।

यस्तै अर्को सामुदायिक विद्यालय हो– जनकपुरधामको याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय ज्ञानकूप। १९६६ सालमा याज्ञवल्क्य संस्कृत प्रधान पाठशालाबाट औपचारिक रूपमा कर्मकाण्डसम्बन्धी शिक्षा दिन थालेको यस विद्यालयले यसबीच थुप्रै संस्कृत भाषाविद् जन्मायो। तर, केही वर्षअघिसम्म विद्यार्थी नपाएर धौ धौ परेको थियो।

विद्यालयमा २०७१ सालतिर करिब ७५ जना विद्यार्थी थिए। पछि, वैदिक शिक्षालाई प्रविधिसँग जोड्ने उद्देश्यले २०७३ सालमा प्राविधिक विषय (कम्प्युटर) थपियो। यसपछि भने विद्यार्थी संख्या निरन्तर बढ्दो क्रममा रहेको प्रधानाध्यापक सञ्जयकुमार झा बताउँछन्।

ज्ञानकूप विद्यालयको प्रांगणअगाडि प्रधानाध्यापक सञ्जयकुमार झा

विद्यार्थी संख्या बढेकैले ३६ जना दरबन्दीका शिक्षकबाहेक निजी स्रोतबाट समेत ५४ जना राखिएका छन्। झाका अनुसार शिक्षकलाई १० देखि ४ बजेसम्म पूरा अवधि पढाउने वतावरण बनाएर ‘लिजर’ घन्टीहरूमा समेत कक्षा लिने व्यवस्था मिलाएपछि विद्यालयले अभिभावकको विश्वासको आर्जन गरेको हो।

अहिले विद्यालयमा भर्ना खुल्दा करिब १२ सय विद्यार्थीले आवेदन दिने गरेको झा बताउँछन्। यद्यपि, कक्षाकोठाको अभावका कारण २०० देखि ३०० जना मात्रै भर्ना लिइने गरेको छ।

विद्यालयका २२ वटा कक्षाकोठामध्ये केहीमा स्मार्ट बोर्डसमेत राखिएको छ। यसले विद्यार्थीको सिकाइमा राम्रो परिणाम दिइरहेको झा बताउँछन्। अहिले टाढा टाढाका विद्यार्थीहरू नजिकै भाडामा बसेरसमेत पढिरहेका छन्। “प्रधानाध्यापकको जिम्मेवारी लिएर आउँदा विद्यालयको भौतिक सुधारको साथसाथै विद्यार्थी टिकाउने र शैक्षिक वातावरणमा सुधार ल्याउनुपर्ने चुनौती थियो। तर, सबै पक्षको सहयोगबाट यो सम्भव भएको छ,” उनी भन्छन्।

विद्यालयको तथ्यांकअनुसार २०७८ सालमा एक हजार ३१०, २०७९ मा एक हजार ९८९ हुँदै २०८० मा एक हजार ८७६, २०८१ मा दुई हजार १०  विद्यार्थी थिए भने २०८२ सालमा दुई हजार ३३९ विद्यार्थी अध्ययनरत छन्।

आर्थिक र प्राविधिक लगानी ठूलो भएका निजी विद्यालयसँग प्रतिस्पर्धा गरिरहेका यी सामुदायिक विद्यालयमा रातारात परिवर्तन भएको भने होइन। स्थानीय सरकारको सक्रियता, समुदायको बदलिँदो दृष्टिकोण, शिक्षामा लगानी र विद्यालय व्यवस्थापनमा अनुशासनले समग्र प्रणाली नै पुनःस्थापित हुन थालेको हो।

जनकपुरधाम उपमहानगरपालिका-१० का पुरुषोत्तम झाले आफ्ना दुई छोराछोरीलाई यहीँ पढाएका छन्। उनी भन्छन्, “विगतमा त पढाइ नै नहुने अवस्था थियो। अहिले त पढाइमा धेरै सुधार भयो। घरपायक पनि पर्ने अनि स्तरीय पनि भएपछि दुवै छोराछोरीलाई यहीँ भर्ना गराएको छु।”

उनी मात्र होइन, अभिभावकको विश्वास जित्न प्रधानाध्यापक झाले पहिले त आफ्नै छोराछोरीलाई यहाँ भर्ना गरेका थिए। “मैले आफ्ना छोराछोरीलाई यहाँ पढाउन थालेपछि अरू शिक्षकले समेत आफ्ना सन्तानलाई यहीँ पढाउन थाले,” उनी भन्छन्, “यसपछि नै विद्यालयको पठनपाठनमा सुधार आएको सकारात्मक सन्देश बाहिर गयो।”

उनका अनुसार अब विद्यार्थीलाई घरदैलो गरेर बोलाइरहन पर्दैन। विद्यालयमा अहिले धनुषाबाहेक सर्लाही, सिरहा र महोत्तरी जिल्लाका विद्यार्थीहरूसमेत पढ्ने गरेका छन्।

शिक्षण सिकाइमा सुधार, भौतिक पूर्वाधारमा विकास, प्रशासनिक पारदर्शिता, सूचना प्रविधिको उपयोग, अभिभावकको सक्रियता र समुदायको सहभागिताजस्ता पक्षले उल्लेख्य प्रगति गरेको अर्को विद्यालय हो, विदेह नगरपालिकाको गिद्धाबेलापट्टीमा रहेको जनता नमुना माध्यमिक विद्यालय।

जनता नमुना माध्यमिक विद्यालय गिद्धाका विद्यार्थी

पवन मण्डल प्रधानाध्यापक भएर आएयता विद्यालयको भर्ना दर उकालो लागिरहेको छ। २०७८ सालमा चार हजार ३२ विद्यार्थी अध्ययनरत रहेकामा २०७९ सालमा चार हजार ७०४, २०८० सालमा पाँच हजार ४५१, २०८१ सालमा ६ हजार ४४७ विद्यार्थी थिए भने यस शैक्षिक सत्रमा ६ हजार १३७ विद्यार्थी अध्ययनरत छन्। यहाँ विदेह नगरपालिकाका मात्र होइन, धनुषाकै अरू पालिका र छिमेकी जिल्लाका विद्यार्थीसमेत अध्ययनरत छन्। “छिमेकी पालिका मात्रै नभई सिरहा र महोत्तरीबाट समेत बर्सेनि विद्यार्थीको चाप बढ्दो छ,” मण्डल भन्छन्, “तर हालको भौतिक संरचना र जनशक्तिले त्यो चाप धान्न सक्दैन। जसकारणले यस वर्ष नयाँ विद्यार्थी भर्ना गरिएन।”

जनता नमुना माविमा हाल ८५ जना शिक्षक कार्यरत छन्। तीमध्ये १५ जना स्थायी दरबन्दीमा छन्। बाँकी शिक्षकहरू करार, नमुना अनुदान, नगर शिक्षक तथा निजी स्रोतबाट व्यवस्थापन गरिएको छ। निजी स्रोतबाट मात्र २४ जना शिक्षक राखिएका छन्।

विद्यार्थीहरू बढेपछि सामुदायिक विद्यालय परिसर साइकलले भरिभराउ हुने गरेको छ

मधेस प्रदेशको अर्थिक सर्वेक्षण २०८०/८१ अनुसार प्रदेशमा चार हजार ९१३ विद्यालय छन्। तीमध्ये करिब ७० प्रतिशत सामुदायिक विद्यालय हुन् भने ३० प्रतिशत निजी। आर्थिक र प्राविधिक लगानी ठूलो भएका निजी विद्यालयसँग प्रतिस्पर्धा गरिरहेका यी सामुदायिक विद्यालयमा रातारात परिवर्तन भएको भने होइन। स्थानीय सरकारको सक्रियता, समुदायको बदलिँदो दृष्टिकोण, शिक्षामा लगानी र विद्यालय व्यवस्थापनमा अनुशासनले समग्र प्रणाली नै पुनःस्थापित हुन थालेको हो।

नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८१/८२ अनुसार मधेसका सामुदायिक विद्यालयमा १३ लाख ५७ हजार ११४ विद्यार्थी अध्ययनरत छन् भने निजीतर्फ चार लाख ८३ हजार ७५२ जना अध्ययनरत छन्। यस्तै, प्राविधिकतर्फ नौ हजार ९६८ जना अध्ययनरत छन्।